arrow

प्रदेश २ मा विश्वविद्यालय सम्बन्धी दुई अध्यादेश सिफारिस

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
pradesh-22.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुई सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गरेको छ । मङ्गलवार मन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुलेको मन्त्री साहले बताए । कृषि तथा प्राविधिक सम्बन्धी उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको प्रवक्ता साहले जानकारी दिए। 

जनकपुरधाममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरि सञ्चालनमा ल्याई सकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र वीर गन्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेका छ।

त्यस्तै, प्रदेश दुई सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीर गन्जमा सरसफाइ , बिजुली बत्ती तथा वृक्षारोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरिएको अर्थ मन्त्री साहले जानकारी गराए।

मन्त्रिपरिषद्ले प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहीन काम गरि रहेको पाइए त्यस्ता ठेकेदार कम्पनीलाई बैङ्क ग्यारेन्टी जफत देखी कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको प्रवक्ता साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ