arrow

एमालेको पालिका अधिवेशन विवादमाः उद्घाटन गरियो तर नेतृत्व चयन हुन सकेन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
uml-10th-convention-chitwan.jpg

काठमाडौँ। एकै साथ सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै पालिका अधिवेशनमा होमिएको नेकपा एमालेका तीस प्रतिशत पालिकामा अधिवेशन उद्घाटन मात्रै भए तर नेतृत्व चयन हुन नसकी रोकिएका छन् ।

सर्वसम्मत नेतृत्व चयन  हुननसक्दा पालिका अधिवेशन उद्घाटन मात्रै भएका हुन्। मोरङ, सुनसरीमा केही पालिकामा विवाद हुँदा रोकिएका छन् भने सुदुरपश्चिमका धेरैजसो वडामा अधिवेशन नहुँदा पालिकामा अधिवेशन शुरु नै नभई रोकिएका छन् ।

रुपन्देहीमा १६ मध्ये ६ वटा पालिकामा नेतृत्व चयन हुन बाँकी रहेको छ । त्यस्तै सोलुखुम्बूका दुई वटा गाउँपालिका र ओखलढुङ्गाका पनि केही गाउँपालिकमा अधिवेशन हुन बाँकी रहेका छन् । मकवानपुर, धादिङ र सिन्धुलीका केही गाउँपालिकामा पनि अधिवेशन शुरु भएपनि नेतृत्व चयन नभई रोकिएका छन् । सिन्धुपाल्चोकको मेलम्ची अधिवेशन हुन सकेको छैन ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको धेरै जसोमा सर्वसम्मत नेतृत्व चयन भैसकेको र सर्वसम्मत हुन नसकेकोमा सर्वसम्मत गराउने प्रयास भैरहेको बताए । ‘पालिका अधिवेशन रोकिएको होइन नेतृत्व चयनमा ढिलाइ भएको सकेसम्म सर्वसम्मतीको प्रयास भैरहेको छ’, कार्यालय सचिव तामाङले भने ।

करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि मंगलबार एमालेले पालिका अधिवेशन सुरु गरेको थियो । एमाले केन्द्रीय कार्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै सर्वसम्मत नेतृत्व चयन निर्दैशन दिएका थिए । कार्यालय सचिव तामाङका अनुसार बुधबारसम्म अधिवेशन लम्ब्याएर भए पनि सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिइएकाले अन्तिमसम्म गरिने कोसिसबाट पनि सहमति हुन नसकेका केही स्थानमा मात्र चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनेछन्  ।

त्यस्ता स्थानहरूमा चुनावी प्रतिस्पर्धाका लागि एमालेले तयारी गरिरहेको उनले बताए । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । ओलीले सम्बोधनको क्रममा  उन्नतस्तरको समझदारीका साथ अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । कार्यालय सचिव तामाङले बाढीबाट प्रभावित करिब दुई पालिकामा अधिवेशन हुन नसकेको बताए ।

अधिवेशन हुन नसकेका वडा र पालिकामा छिट्टै अधिवेशन हुने उनले बताए । एमालेको विधानअनुसार महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहनेछन्  । एमालेले पालिका अधिवेशनका लागि वडाबाट चुनिएर गएका प्रतिनिधि बन्दसत्रमा सहभागी गराएको थियो ।

जसअनुसार थोरै सदस्य संख्या भएका वडाहरूबाट सबै संगठित सदस्य सहभागी छन् भने औसत सदस्य भएका वडाहरूबाट पाँच सदस्यबराबर एक प्रतिनिधि तथा धेरै सदस्य भएका स्थानहरूबाट १० सदस्यबराबर एकजना प्रतिनिधि सहभागी गराएको थियो ।

एमालेले मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । एमालेले महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न २०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड बनाएको छ । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न कात्तिक ११ मा स्थायी कमिटी र कात्तिक १२ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

पालिका अधिवेशन सकेपछि एमालेले तिहारपछि प्रतिनीधि छनौटको मापदण्ड तय गर्नेछ । प्रतिनीधि छनौटका लागि निर्वाचन आयोगका संयोजक डा।विजय सुब्बाले आफ्नो कार्यालय मागिसकेका छन् । केन्द्रीय कार्यालयसँग आफ्ना लागि छुट्टै कार्यालयको व्यवस्था गर्न आग्रह गरिसकेको भएपनि अहिलेसम्म उपलब्ध गराएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ