arrow

अलमुताइरीले एन्फासँग गरे तीन वर्षको नयाँ सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
abdullah-almutairi.jpg
फाइल तस्विर।

काठमाडौं। नेपाली फुटबल टोलीका व्यवस्थापकका रूपमा अब्दुल्लाह अलमुताइरीले तीन वर्षको सम्झौता गरेका छन्। सम्झौता पछि फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन्। 

साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाललाई फाइनल पुर्‍याएका व्यवस्थापकले नेपाली टोली छाड्ने हल्ला चलेको थियो। उनले छोटो समयमा नेपाली फुटबललाई गरेको योगदानले नेपाली फुटबलका समर्थकहरू उत्साहित थिए। उनीहरू चाहन्थे अलमुताइरीले नेपाली फुटबललाई लामो समय सम्हालुन्। 

नेपाली फुटबलका समर्थकहरूले चाहे जस्तै भएको छ । अब अलमुताइरी तीन वर्ष नेपाली फुटबलसँग रहने छन्। उनले नेपाली फुटबललाई एउटा निश्चित उचाइमा पुर्‍याउने आस गर्न सकिन्छ । उनको आगमनपछि नेपाली फुटबलले केही सफलताहरू देख्न पाएको छ। 

अलमुताइरीले फेसबुकबाट आफ्नो सम्झौताबारे सार्वजनिक गर्दै भनेका छन् ' कर्मा छिरिङ शेर्पा र कतार फुटबल सङ्घका पदाधिकारीहरूसँगको बैठक पछि अखिल नेपाल फुटबल सङ्घसँग तीन वर्षे नयाँ सम्झौता गर्ने निर्णय गरेको छु। मलाई नेपाल बस्ने वातावरण मिलाइदिने कतार फुटबल सङ्घलाई धन्यवाद।' 

उनले अब आउने दुई वर्षको योजना र लक्ष्य सार्वजनिक गर्ने पनि बताएका छन्। 'नेपाली फुटबल टोलीले अब राम्रो मात्र गर्नेछ तर हामीलाई समय दिनुहोस्' उनले भनेका छन्। 

नेपाली समर्थकहरूको माया आफ्नो लागि महत्त्वपूर्ण भएको भन्दै उनले खेलाडीहरूलाई पनि त्यही माया दिन आग्रह गरेका छन्। 'हामीलाई विश्वास गर्नुस् र माया दिनुस्' उनले भने।  



नयाँ