arrow

राष्ट्रिय सभा निर्वाचन

तोकिएकै मितिमा महाधिवेशन हुँदा कांग्रेसले दल दर्ता गर्न भ्याउला ?

सभापतिको निर्वाचन दोस्रो चरणमा गए मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मङ्सिरका लागि तोकिएको छ। कांग्रेसले यसअघि ९ देखि १३ मंसिरसम्मका लागि महाधिवेशनको मिति तोकेको भए पनि १३ जिल्लामा वडा अधिवेशन बाँकी रहेपछि २७ देखि २९ मंसिरको मितिमा महाधिवेशन गर्ने तयारी गरेको थियो।

तर सो मितिमा महाधिवेशन गर्दा आउँदो राष्ट्रिय सभा निर्वाचनमा असर पर्ने देखिएपछि कांग्रेसले तोकिएको मितिलाई अघि सार्दै २४ देखि २६ मङ्सिरमा ल्याएको हो।

२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा निर्वाचन आयोगले उपनिर्वाचन गर्ने गरी छलफल अघि बढाएपछि कांग्रेसका लागि महाधिवेशन जसरी पनि गर्नै पर्ने बाध्यता परेको छ।

निर्वाचन आयोगले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ५ माघमा राष्ट्रिय सभातर्फको निर्वाचन गर्न प्रस्ताव गरिसकेको छ।

सो मितिको आसपासमा राष्ट्रिय सभातर्फको रिक्त हुने पदमा निर्वाचन हुँदा त्यसको ३५ दिनअघि दलहरूले आयोगमा दल दर्ता गराउनु पर्ने हुन्छ। ५ माघमा नै निर्वाचन भए कांग्रेसले ३० मङ्सिर भित्र महाधिवेशनको परिणाम आयोगलाई बुझाउनु पर्छ।

तर कांग्रेसलाई महाधिवेशन नगरी निर्वाचनमा जान संवैधानिक र वैधानिक दुवै सङ्कट छ । कांग्रेसले विधान र देशको संविधान दुवैले दिएको म्याद गुजारिसकेको छ।

स्रोतका अनुसार कांग्रेसलाई निर्वाचन आयोगले महाधिवेशन गर्न ढिला भए राष्ट्रिय सभाको निर्वाचनमा सहभागितामा असर पर्ने बताएपछि मिति अघि सारेको हो।

तर अहिले सारेको मितिमा पनि महाधिवेशन गर्न कांग्रेसलाई त्यति सहज भने छैन। र कांग्रेसलाई अब यो भन्दापछि मिति धकेल्न पनि झनै सहज छैन।

यसअघि १३औं महाधिवेशनमा भएको अभ्यासलाई हेर्ने हो भने महाधिवेशनमा सभापतिको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत नल्याए दुई पटक मतदान हुने अवस्था आए सो मिति भित्रसमेत कांग्रेसलाई महाधिवेशन सकेर निर्वाचन आयोगलाई नतिजा बुझाउन र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न सकस हुने देखिएको छ।

सो विषयमा कांग्रेस वृत्तमा अहिले छलफल चलिरहेको छ। तर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देश बाहिर रहेका कारण कांग्रेस महाधिवेशनलाई अझै अघि सार्न सक्ने अवस्थामा पनि छैन।



नयाँ