- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेकपा एमालेले नेतृत्व गर्दै आएको प्रदेश सरकार शून्यमा झरेको छ।
पछिल्लो समय बागमती प्रदेश र प्रदेश १ मा एमाले नेतृत्वको सरकार थियो। तर सोमबारबाट प्रदेश १ मा पनि एमालेले सरकार गुमाएको हो ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो पक्षमा सङ्ख्या पुर्याउन नसक्ने भएपछि प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएपछि देशका सातै प्रदेशबाट एमाले सरकार गुमेको हो।
प्रदेश १ को प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि आचार्यले राजीनामा दिएका हुन्।
‘अङ्कगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु।’ आचार्यले प्रदेश १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै भने।
गत १० भदौमा मुख्यमन्त्री बनेका आचार्य एक महिना नबित्दै १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेका थिए।
अब सो प्रदेशमा नेकपा एसले सरकारको नेतृत्व गर्ने छ। सो विषयमा केन्द्रको सत्ता गठबन्धनमा सहमति बनिसकेको छ।
यसअघि एमालेले बागमतीमा सरकार गुमाएको थियो। बागमतीमा केही दिनअघि मात्रै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढलेको थियो।
यसै गरी त्यसअघि गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शङ्कर पोखरेल नेतृत्वको सरकारसमेत ढलेको थियो। नेकपा एकता हुँदा एमाले पक्षले चार वटा प्रदेशमा सरकारको नेतृत्व पाएको थियो।