फेसबुक किन मेटा बन्यो ? कस्तो हुन्छ मेटाभर्सको दुनियाँ ?
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
1.5k
Shares
तस्बिर : सिनेटबाट
काठमाडौँ। २८ अक्टोबर अघि ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलस फेसबुक अन्तर्गत रहेका थिए। तर, २८ अक्टोबरमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनी रिब्रान्डिङ गर्दै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र ओकुलसलाई मेटा कम्पनी अन्तर्गत राखेको घोषणा गरे। यो अब, मार्क जुकरबर्गको मुख्य कम्पनी मेटा भनेको अन्य सबै मेटा अन्तर्गतका प्रडक्ट मान्न सकिन्छ। सन् २०१५ मा गुगलले पनि यसरी नै गुगल, जीमेल, युट्युबलगायतका सबै सेवा नयाँ कम्पनी अल्फाबेट खोलेर त्यसको अभिभावकत्वमा राखेको थियो।
तर, मार्क जुकरबर्गले फेसबुक रिब्रान्डिङ गरेको विषयले भने विश्व हल्लाएको छ। कम्पनीको नाम मेटा राख्नु पछाडिको कारण उनले आफ्नो नयाँ योजना मेटाभर्सलाई सफल पार्नु र सर्वत्र मेटाभर्सलाई झल्काउनु बताएको छ।
मार्क जुकरबर्गले भनेका छन्, हामी लिखित म्यासेजबाट फोटोमा पुग्यौँ, फोटोबाट भिडियोमा र अब यो भन्दा पनि अत्याधुनिक प्रविधि मेटाभर्समा पुग्नेछौँ।
मेटाभर्स के हो त ?
मेटाभर्स भनेको एक 'भर्चुअल वास्तविक ठाउँ' हो जहाँ प्रयोगकर्ताले कम्प्युटरबाट निर्मित वातावरणमा रमाउन सक्छ र अन्य प्रयोगकर्तासँग पनि रमाउन सक्छ। यसलाई सरल भाषामा बुझ्दा भीआर गेम खेल्दा महसुस हुने जस्तै वातावरण हो मेटाभर्स।
अझैँ सरल भाषामा बुझ्दा, 'कुनै हेडसेट या कुनै चस्मा लगाएर हामी कम्प्युटरबाट निर्मित अथवा डिजिटल दुनियाँमा प्रवेश गर्न सक्छौँ, अब त्यसरी त्यो डिजिटल दुनियाँमा प्रवेश गरेका अन्य प्रयोगकर्तासँग अन्तरक्रिया गर्न सक्छौँ, नाच्न सक्छौँ, रमणीय र खतरनाक कुराहरू, ठाउँहरू देख्न सक्छौँ, तर यो सबै कुरा हामी त्यो हेडसेट या चस्माको भरमा गरिरहेका हुन्छौँ, त्यो झिक्दा हामी त्यही आफ्नो कोठामा नै हुन्छौँ।'
जुकरबर्गले अक्टोबर २८ मा भिडियो मार्फत मेटा कम्पनीको घोषणा गर्ने क्रममा भने अनुसार, 'त्यो ग्लास या हेडसेट लगाएर हामी नेपालको कुनै एक ठाउँमा बसेर न्यु योर्क कुनै बारमा पार्टी गरिरहेको साथीसँग जोडिन सक्छौँ, हामी त्यो साथीसँग त्यहाँ भर्चुअल रूपमा रमाइलो गर्न सक्छौँ, तर हेडसेट अथवा चस्मा झिक्दा हामी त्यही घरमा नै हुन्छौँ।
'टाढा टाढा रहेका साथीहरू मेटाभर्समा एकै ठाउँमा भएर जन्मदिन मनाउन सक्छन्। मेटाभर्स हालसम्म एक विज्ञानको कल्पनाका रूपमा रहेको छ। केही स्तरसम्म मेटाभर्सजन्य प्रविधिहरू सफल भए पनि जुकरबर्गले भनेको अत्याधुनिक प्रविधिको मेटाभर्सको अनुभव भने, गर्न बाँकी छ।
यो भर्चुअल दुनियाँमा जसरी पब्जी खेल्दा विभिन्न कुराहरू किन्न सक्छौँ, त्यसरी भर्चुअल लुगा, टोपी र अवतारहरू लगायतका कुराहरू किन्न सक्छौँ र मेटाभर्सभित्रको दुनियाँमा प्रयोग गर्न सक्नेछौँ।
यसै मेटाभर्स प्रविधिलाई सफल पार्न जुकरबर्गले अर्बौँ लगानी गरिरहेका छन्, भने अब, उनको कम्पनी सामाजिक सञ्जाल बाहेक मेटाभर्स कम्पनी बन्ने बाटोमा लागेको छ। यस बाहेक मेटाभर्समा हामी काम गर्न, खेल्न, कन्सर्ट गर्न, सिनेमा हेर्न लगायतका कामहरू गर्न सक्छौँ।
कहिले सम्म सम्भव होला मेटाभर्स ?
मेटाभर्स छोटो समयमा नै बनिसक्ने भने छैन। जुकरबर्ग आफैले अर्को दशकसम्म मेटाभर्सको विकास हुने आसा राखेका छन्। यद्यपि, यसमा थुप्रै चुनौतीहरू रहनेछन्। एपिक गेम्स, माइक्रोसफ्ट, गुगललगायतले पनि मेटाभर्सको क्षेत्रमा काम गरिरहेका छन्। तर, फेसबुकले भने आफूलाई मुख्य लिड रोलमा राख्ने तरिकाले काम गरेको देखिन्छ।
प्रयोगकर्ताको गोपनीयता के हुनेछ ?
फेसबुक पछिल्लो प्रयोगकर्ताको गोपनियताको बिषयमा आलोचित बन्दै गएको छ। यद्यपि, जुकरबर्गले मेटाभर्समा प्रयोगकर्ताको डेटा सुरक्षित रहने गरी काम गर्ने बताएका छन्। तर, मेटाभर्समा प्रयोगकर्ताको गोपनीयताको विषय बढी जसो पछि गएर नै थाहा हुनेछ। यद्यपि, कम्पनीले अहिले देखि नै नीति निर्माता एवं सरकारसँग यो विषयमा गृहकार्य गर्नुपर्ने कुरा राखेका छन्।