arrow

एनआरएनएको १०औं महाधिवेशन तत्काल गर्न कुल आचार्यको माग

महेश श्रेष्ठ भन्छन् : एनआरएनमा अन्यौल र असमझदारी बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
kul-mahesh11.jpg

लन्डन । सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् ।

तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित  खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, ‘आफुले गर्नुपर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘यसका लागि जस्तो सुकै सहयोग गर्न हामी तयार छौं।

नेताहरुसँग भेटघाट गर्दैमा राजनीतिकरणको कुरा भयो नभन्न पनि उनले आग्रह गरे।  ‘यो संस्था हामी सबैको हो । सबै गैर आवासीय नेपाली अटाउने साझा संस्था बनाउने हाम्रो अभियान छ’ आचार्यले भने, ’ परराष्ट्र मन्त्रालयमा जाँदा हस्तक्षेप भयो भनिएको छ । नेताको घर दैलो धाउने, फेसबुकमा तस्वीर राख्ने र नेताले नपत्याएपछि राजनीति भयो भन्ने ?’ उनले प्रश्न गरे। उनले विधान सम्मत हिसाबले, नयाँ जनमत लिएर आएका एनसीसीहरुको हालै सम्पन्न विश्व भेलाले पारित गरेका निष्कर्षहरुलाई सम्मान गरेर अगाडि बढ्न आग्रह पनि गरे।

संघका कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएनमा अहिले अन्यौल र असमझदारी बढेको बताए ।  ‘एनआरएनमा एउटा संकट छाएको छ । निर्वाचन समयमा गर्न नसकिएको स्पष्ट छ।  यस्तो बेला मेरै गोरुको बाह्रै टक्का नगरी सबै मिलेर निर्वाचन छिट्टो गर्ने सहमति गरौं’ श्रेष्ठले भने।

संस्था जोगाउन आग्रह

एनआरएनएका युरोपका संयोजक नारायण आचार्यले सबैलाई संवेदनशील र निश्वार्थ भएर संस्थालाई जोगाउन आग्रह गरे । आजसम्मका गतिविधि हेर्दा नोभेम्बरभित्र चुनाव हुने छाँट नदेखिएको बताउंदै आचार्यले भने, ‘संस्था हाम्रै मुठ्ठीमा हुनुपर्छ भन्ने सोंच त्यागेर अघि बढ्नु पर्छ।  सबै गैरआवासीय नेपालीहरुले छानेर आउने नेतृत्वलाई चयन गरेर इमान्दार प्रतिबद्धता व्यक्त गर्न आग्रह गर्छु,’उनले भने।

त्यसैगरी  संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, सह कोषाध्यक्ष लोक दाहाल,  मध्यपूर्वका क्षेत्रीय संयोजक प्रबिण गुरुङ, अमेरिकाजका क्षेत्रीय संयोजक राजन त्रिपाठी, मध्यपूर्व क्षेत्रका उप संयोजक मनोज गोर्खाली, एसिया प्रशान्त क्षेत्रका संयोजक गोविन्द श्रेष्ठ ुरोविन्द,ु एनसीसी क्यानडाका अध्यक्ष दीपक गौतम, एनसीसी अमेरिकाका पूर्व अध्यक्ष सुनील साह, एनसीसी फ्रान्सकी अध्यक्ष गीता खनाल, एनसीसी कतारका अध्यक्ष मोहम्मद मोक्तदा मुसलमान लगायतका वक्ताले सबै चाडपर्वहरुको शुभकामना दिंदै संघको महाधिवेशन र चुनाव जतो सक्दो चाडो गराउन माग गरेका थिए।

कार्यक्रममा काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक तथा विश्व ओमकार एकता महाअभियानका संयोजक डा। चिन्तामणि योगीले यमपन्चकको महत्वबारे स्पष्ट पारे । उनले जुनसुकै देशमा बसे पनि नेपालीहरु जोडिने माध्यम भनेको संस्कृति र परम्परा नै भएको स्पष्ट पारे । 
“मादल घन्किएपछि नाच्न चाहने, तीजमा दिदीबहिनीहरुले रातो साडी लगाउन चाहने हाम्रो संस्कृति हो,’ योगीले भने। ‘चाहे बर्मा, थाइल्याण्ड, देहरादून होस् चाहे युरोप, अमेरिका वा अष्ट्रलिया होस् । हाम्रो टोपी, साडी, चोली, गुन्यु छुट्नु हुँदैन।’

तिहार चाड एउटा सहअस्तित्वको पर्व भएको डा। योगीले बताए । उनले तिहारको महत्वलाई स्पष्ट गर्दै काग, कुकुर, गाई, गोबर्द्धन, भाइको पूजा गर्नुका अर्थ सहअस्तित्व भएको व्याख्या गरे । ‘जहाँ सहअस्तित्व हुन्छ, त्यहाँ सबैको कल्याण हुन्छ । सेवाको मार्गमा हिडौं । कसैले कसैको अस्तित्व, पहिचानलाई मेटने कोशिस गर्नु हुँदैन । कुकुरको पूजा गर्ने देशमा जन्मेका हामी मान्छेले मान्छेको पूजा गर्न सिकौं,’ डा.योगीले भने ।

कार्यक्रममा चर्चित गायिका देविका केसी, एनआरएन आइडलमा टप टेनमा पुगेका गायक कृष्ण खवास, हास्यव्यंग्यकर्मी हिमेश पन्त, नबिन पौडेल, कन्हैया सिंह परियार (अमेरिका), रामकृष्ण बम मल्ल (जापान), सुमी  सापकोटा लगायतका चर्चित कलाकारले प्रस्तुति गरेका थिए।  
कार्यक्रममा केन्द्रीय उपध्यक्ष पदकी उम्मेदवार जानकी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले धन्यवाद ज्ञापन गरेका थिए।

यसअघि गत महिना दशैंको अवसरमा जितु नेपाल मुन्द्रे,  कुलेंद्र बिक, बिमलराज क्षेत्री लगायतका चर्चित कलाकारहरुको सहभागितामा टिम कुलले दशैं शुभकामना कार्यक्रम आयोजना गरेको थियो।-जिएनएन



लोकप्रिय समाचार
नयाँ