arrow

‘प्रन्या जबरालाई हटाउन षड्यन्त्र गर्नेहरूलाई कालो मोसो दल्ने चेतावनी’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ । जनताको आयोग महा-अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाभियनाले यस्तो बताएको हो । 

महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको बताइन् । नेपाल बारको आन्दोलन पनि विदेशीको खर्चमा भएको उनको आरोप छ ।

उनले इजलास बहिष्कार गर्ने न्यायाधीशहरुले सुरुमा लैनचौर आसपासमा गोप्य बैठक गरेको र पछि हल्लाखल्ला हुने भयो भनेर अनामनगरको घट्टे कुलो आसपासमा गरेको कुरा आफूकहाँ मौखिक रूपमा सूचना आएको पनि सार्वजनिक गरिन् । प्रधानन्यायाधीश जबराविरुद्ध देशभरि रहेका ९० वटा बार इकाईले आन्दोलन गर्ने भनिएको सुनाउँदै ती बार इकाईको खर्च विदेशीले व्यहोर्ने कुरा भएको पनि आफूहरूले थाहा पाएको बरालले आरोप लगाइन् । 

उनले बेन्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । उनले भनिन्,‘बेन्च बहिष्कार गर्ने ती नयायाधीशहरु होइनन्, गद्दार हुन् । उहाँहरूले प्रधानन्यायाधीशलाई विवादास्पद भन्नुभयो, कसरी हुनुभयो प्रधानन्यायाधीश विवादित ? त्यसको प्रमाण दिनुपर्छ ।’ उनले बारका पदाधिकारीलाई जनावर भन्ने शब्द समेत प्रयोग गरिन् । उनले मानहानि भए पनि आफूले त्यसको जिम्मा लिने बताइन् । 

उनले नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश बरालेजस्तो उल्लेखनीय काम अरू कसैले पनि गर्न नसकेको दाबी पनि गरिन् । उनले भनिन्,‘यहाँ त नागरिकता विधेयक पारित गराउने तयारी थियो, तर प्रधानन्यायाधीशले त्यसलाई रोक्नुभयो । अब प्रधानन्यायाधीशले होइन, न्यायाधीशहरू र बारका पदाधिकारीले राजीनामा दिनुपर्छ ।’ उनले इजलास बहिष्कार गरेका न्यायाधीशहरुले प्रधानन्यायाधीशमाथि लगाएका सबै आरोपको पुष्टि गर्नुपर्ने भनाई राखिन् ।

प्रधानन्यायाधीशले एनसेल ६१ अर्ब कर तिर्नुपर्छ भनेर फैसला गरेको, नागरिकता विधेयक खारेज गरेको, विद्यादेवी भण्डारीको अध्यादेश उल्टाइदिएको, जग्गाको प्लटिङको निर्णय उल्टाइदिएको, चुरे दोहन गर्न नदिएको, नेपाल वायु सेवा निगमलाई निजीकरणबाट हुनबाट रोकेको र जनप्रतिनिधिले भत्ता खान नपाउनेजस्ता लोकप्रिय फैसला गरेको उनले फेहरिस्त सुनाइन् । बरालले प्रधानन्यायाधीश जबरा तीन करोड नेपाली जनताको हिरो भएको पनि बताइन् । 

अब आम जनता सडकमा आउनुपर्ने उनको अपिल थियो । उनले भनिन्,‘वकिलहरूलाई सङ्घ÷सङ्गठन बनाउन कसले लगायो ? त्यो गलत होइन र ? जनताको आयोग महाभियना सत्य र निष्ठाको पक्षमा छ । हामी देशको हितको पक्षमा सधैँ उभिन्छौँ । प्रधानन्यायाधीशलाई न्याय चाहिए हामी उहाँको पक्षमा उभिन तयार छौँ ।’ 

उनले प्रधानन्यायाधीश जबरालाई हटाएर अब न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने तयारी भएको र त्यस लगत्तै न्यायाधीश मिरा खड्का अब प्रधानन्यायाधीश हुने बताइन् । उनले भनिन्-‘उनीहरूले आधा-आधा कार्यकाल खाने सहमति छ । मिरा खड्का दुई वटा नागरिकता छ भन्ने कुरा आएको छ । शम्भु थापा तिमी को हौ ? प्रधानन्यायाधीशको राजीनामा माग्ने ? सपना प्रधान मल्ल पार्टीकी मान्छे हो । सपना प्रधान प्रधानन्यायाधीश हुनु भनेको एमालेले मात्रै न्याय पाउनु हो । बारका अध्यष चण्डेश्वरले हामीलाई चोलेन्द्रको चम्चे भनेछन्, बारले आन्दोलन फिर्ता नलिए हामी अर्को आन्दोलन गर्छौँ ।’

उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट वञ्चित गर्नेहरूलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिइन् । त्यति मात्रै नभएर जे भेट्यो त्यसले हान्ने पनि उनको चेतावनी छ । उनले भने,‘त्यसरी हान्ने जनतालाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । अब देशलाई खिचातानीमा राख्नुहुन्न । नेपाल बारको आन्दोलनको तुक छैन ।’

त्यस्तै, कार्यक्रममा महाअभियान कार्यसमिति सदस्य मनिष मानवले सम्पूर्ण नेपाली जनताहरू जाग्नुपर्ने दिन आएको बताए उनले न्यायालय सेतोलाई सेता र कालोलाई कालो भन्ने र छुटाउने स्थान भएको भन्दै अहिले पैसामा बिकेको समेत आरोप लगाए । उनले भने,‘नेपाल बार प्रधानन्यायाधीश लाई नियुक्ति गर्ने र हटाउन बनेको हो । राजनीतिक दलहरूले चोलेन्द्र शमशेरलाई बलिको बोको बनाएका छन् ।’ 

उनले नेपाल बार नै खारेज गर्न पनि माग गरे । उनले भने,‘न्यायपालिकालाई हस्तक्षेप गर्ने यो बार खारेज गर्नुपर्छ । शम्भु थापा कालोलाई सेतो र सेतोलाई कालो भनेर फैसला गर्ने वकिल हुन् ।’ उनले नेपाल बार एसोसिएसन जसरी पनि खारेज गर्न सरकारसँग माग गरे ।

महाभियनाका संरक्षक वीरेन्द्र डङ्गोलले न्यायालयमाथि चौतर्फी आक्रमण भइरहेको टिप्पणी गरे । उनले न्याय दिनेहरुनै यसरी लडेपछि जनताहरू झन् अन्यायमा परेको गुनासो गरे । उनले नेपालको न्यायिक इतिहासमा अरू कोही पनि प्रधानन्यायाधीशहरुले नगरेको काम चोलेन्द्रले गरेको समेत जिकिर गरे । उनले भने,‘अब फेरी अर्को प्रधानन्यायाधीश कस्तो आउने हो ? झन् फटहा पो आउने हो की के थाहा ?’ उनले शम्भु थापाले प्रति मुद्दा २ लाखमा हेर्ने गरेको समेत आरोप लगाए । जनताको हितको लागि आफूहरूले अभियान चलाएको भन्दै उनले राजनीतिक दलको झोला बोक्न छाडेर सबै एक भएर अगाडि बढ्न समेत आग्रह गरे । 

त्यस्तै, कार्यक्रममा पीडित लक्की कुमार रौनियारले आफ्नो दुखेसो पोखेका थिए । न्यायाधीशहरुले कसरी आफूलाई मुद्दा हराए भन्दै सुनाएका थिए । उनले अंशबन्डा मुद्दामा आफूलाई तत्कालीन सुशीला कार्कीलगायतका न्यायाधीशहरुले अनावश्यक दबाब दिएको बताए । उनले न्यायाधीशहरू सुशीला कार्की र प्रकाशको संयुक्त इजलासले अंशबन्डा फैसला गर्दा आफू झन् पीडित भएको गुनासो गरे । 

उनले भने,‘दीपककुमार कार्की पनि प्रधानन्यायाधीश हुने लाइनमा हुनुहुन्छ, जोसुकै होस् तर राम्रो फैसला गर्नुपर्छ ।’ उनले सही फैसला नगर्ने न्यायाधीशहरुलाई राख्न नहुने जिकिर गरे ।

हरेक मानिस कुनै न कुनै कुनै दलसँग आबद्ध भएको भन्दै न्यायाधीशले सेतोलाई सेतो र कालोलाई कालो भन्नुपर्ने उनले बताए । न्यायाधीशहरुले कार्यसम्पादन गर्दा निष्पक्ष भएर गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘उहाँहरू निष्पक्ष भएर न्याय सम्पादनको काम गर्नुपर्छ, गल्ती कसको छ छुटाउन सक्नुपर्छ ।’ उनले आफ्नोजस्तो मुद्दामा अरूलाई अल्झाएर थप दुःख नदिन समेत न्यायाधीशहरुलाई आग्रह गरे । उनले चोलेन्द्र शमशेरको राजीनामाले मात्रै न्यायालयको समस्या समाधान नहुने जिकिर गरे । 

कार्यक्रममा अर्का वक्ता मदननाथ कर्माचार्यले न्यायिक क्षेत्र निष्पक्ष हुनुपर्ने बताए । उनले न्यायालयमा दुई वा सोभन्दा बढीको नेतृत्वमा रहन नहुने बताए । न्यायको व्यवस्थामा राज्य संस्था चलाउनेहरू स्वतन्त्र हुनुपर्ने उनको भनाई थियो । उनले बार एसोशियसनभित्र राजनीतिको छाया पार्नु नहुने पनि टिप्पणी गरे । उनले राजनीति गर्ने हो भने न्याय छाड्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ