arrow

२० रुपैयाँबाट सुरु गरिएको सहकारीमा करोडौँको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
swabalamban-mahila.JPG

गुल्मी । कुनै बेला महिलाहरूले सहकारी सञ्चालन गछौं भन्दा पत्याउँदैन्थें । पैसाको लागि पुरुषको भर पर्नुपर्थ्यो। तर अहिले २० रुपैयाँबाट महिलाहरूले समूह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौँको कारोबार गर्न सफल भएको छ । 

शनिवार देखि सदरमुकाम तम्घासमा सुरु गरिएको स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औँ साधारण सभामा संस्थापक अध्यक्ष कुस्मा थापाले भनिन्,‘२० रुपैयाँ उठाउन पनि महिला दिदिबहिनीहरु धौ-धौ मान्नुहुन्थ्यो । तर अहिले यही सहकारी करोडौँको कारोबार गर्ने अवस्थामा पुगेको छ।’ 

अहिले महिलाहरूले पनि अवसर पाए हरेक क्षेत्रमा अब्बल साबित हुँदै गएको थापाको बुझाई छ । १७ औँ वर्ष सम्म सहकारीलाई नेतृत्व गरी समालेकी थापाले सुरुवाती दिनहरूलाई स्मरण गर्दै भनिन्,‘हिजो सहकारी खोल्दा यो तिमिहरूले सञ्चालन गर्न सक्दैनौँ अर्को सहकारीमा गाभौँ पनि भने, तर मैले मानिन् । पैसाकै लागि सधैँ भरी किन पुरुषसँग हात थाप्ने ?’ महिलाहरूले सञ्चालन गरेको संस्था सफल साबित हुँदै गएको थापाको दाबी रहेको छ । यो सहकारीलाई २०६० सालमा राष्ट्रिय सहकारी महासङ्घले उत्कृष्ट महिला सहकारीको रूपमा पुरस्कृत समेत गरेको स्मरण गराइन ।

हुन पनि यो सहकारी २०४८ सालमा साबिक तम्घास, अर्खले, सिमिचौर र दुबीचौरका १६ जना महिला दिदिबहिनीहरु सङ्गठित भएर समूह गठन गरिएको थियो । उनीहरूलाई सहकारीको माध्यमबाट सशक्तीकरण गर्ने उद्देश्यले २०५० साल माघ २५ गते डिभिजन सहकारी कार्यालय पाल्पामा विधिवत् रूपमा २५ जना सदस्यबाट दर्ता गरी यस सहकारीको स्थापना गरिएको थियो ।२० रुपैयाँबाट सुरु गरिएको यो सहकारीले अहिले १० करोड ५० लाखभन्दा बढी बचत गर्न सफल भएको त्यस सहकारीकी अध्यक्ष विमला गौतमको प्रतिवेदनले देखाएको छ ।

अहिले यस सहकारीले आर्थिक सङ्कटमा परेका सदस्यहरूलाई आफ्नै सल्लाहमा नीति नियम बनाई आयमूलक व्यवसायमा लगानी पनि गर्दै आएको छ । यसरी लगानी गरिएको रकम सही सदुपयोग गरी विभिन्न व्यवसाय गर्ने सेयर सदस्यहरूलाई सम्मान समेत गर्दै आइरहेको छ । सोही अनुसार उत्कृष्ट ऋणी मिना घर्ती मगर, उत्कृष्ट उद्यमी पार्वती अधिकारी र उत्कृष्ट कृषि तर्फ सिता कुँवर र पशुपालन तर्फ अजिता पाण्डे सम्मानित भएकी छिन् ।

साथै विभिन्न सेयर सदस्यका सन्ततीहरुलाई पनि शैक्षिक उपलब्धीका आधारमा पुरस्कृत गर्दै आएको छ । शैक्षिक सत्र २०७६ मा सामुदायिक विद्यालयबाट एसइई परीक्षा सर्वोकृष्ट अङ्क ल्याउने निकेशजङ्ग कुँवर, तथा संस्थागत विद्यालयबाट सर्वोकृष्ट अङ्क ल्याउने पवन विक्रम कुँवरलाई सम्मान गरिएको थियो । यस्तै शैक्षिक सत्र २०७७ मा एसइई परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने एलिसा शर्मा र संस्थागत विद्यालयबाट सर्वोकृष्ट अङ्क ल्याउने मेघा पौडेल सम्मानित भएकी छिन् ।

२९ औँ साधारण सभाको बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष पाण्डेले सहकारीको माध्यमबाट महिलाहरूलाई नेतृत्व विकासमा टेवा पुगेको दाबी गरे । सहकारीको माध्यमबाट विभिन्न अवसर सिर्जना हुने भएकाले त्यस्ता अवसरहरूलाई भरपुर रूपमा सदुपयोग गर्न आग्रह समेत गरे । पाण्डेले सहकारीको गरिमालाई कायम राख्न पनि आग्रह गरे । त्यस अवसरमा पूर्व अध्यक्ष लक्ष्मी पन्थी अर्याल, पूर्व लेखा समिति सदस्य मिना पन्थीले समेत विभिन्न सुझाव सहितको मन्तव्य राखेका थिए । 

साधारण सभामा लेखा संयोजक सरला पन्थीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव सावित्रा केसीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष पार्वता खनाल पन्थीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सहकारीकी उपाध्यक्ष कमला मरासिनीको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकारहरू शान्ता थापा, विष्णुमाया पन्थी एवम् सञ्चालक समितिका पदाधिकारी विभिन्न उपसमितिका पदाधिकारीहरू सेयर सदस्यहरू, व्यवस्थापक लगायतको सहभागिता रहेको थियो । सञ्चालक सदस्य हिरा बस्नेत केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सावित्रा केसीले गरेकी थिइन् । साधारण सभा यही मङ्सिर ४ गतेसम्म सञ्चालन हुने व्यवस्थापक सरस्वती थापा केसीले जानकारी दिइन् ।

उनका अनुसार यस सहकारीको चुक्ता शेयर पुँजी १ करोड १२ लाख ३७ हजार ३ सय रहेको छ । चालु आर्थिक वर्षसम्मको ऋण लगानी रु १० करोड ५८ लाख १४ हजार ६ सय ४० रुपैयाँ रहेको छ । भने विभिन्न सङ्घहरूमा १ करोड ६८ लाख ८७ हजार ७८८ रुपैयाँ लगानी गरेको छ । 

चालु आर्थिक वर्षसम्मको जम्मा बचत रु १० करोड ५० लाख ९३ हजार ९ सय १३ रुपैयाँ रहेको केसीले जानकारी दिनुभयो । यस सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ७२ लाख ९८ हजार १० रुपैयाँ बराबरको कारोबार गरेको छ । अहिले यस सहकारीमा १ हजार ११ जना सेयर सदस्य र ३९२ जना नाबालक गरी १४ सय ३ जना सदस्य रहेका छन् । 

सहकारीले विभिन्न कोष समेत स्थापना गरेको छ । जसमा ७० वर्ष पुगेपछि सेयर सदस्यहरूले मासिक रूपमा वृद्ध भत्ता समेत पाउँछन् । सेयर सदस्यको मृत्युमा आर्थिक सहयोग, दैविक प्रकोपमा पर्ने सेयर सदस्य आर्थिक सहयोग, स्वास्थ्य कोष पनि स्थापना गरिएको छ भने सुत्केरी भत्ता समेत वितरण गर्दै आएको छ । जसमा १२ जना महिलाले यो सुविधा लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ