भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घरको पुनर्निर्माण
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
1k
Shares
काठमाडौं । भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घरको पुनर्निर्माण भएको छ ।
पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्यमा आयोजित कार्यक्रममा ५० हजार निजी घरहरुको पुननिर्माण सकिएको जानकारी गराइयो ।
कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य सी.खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयर, एनडिआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकायहरु, युएनडिपी, युएनओपिएस, ईयु, युएसएआइडि, वल्र्ड बैंक, एडिबि, जाइका, एफएनसिडिओ तथा सम्बन्धित नगरपालिका/गाउँपालिकाको उपस्थिति थियो ।
कार्यक्रममा खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरुप ५०,००० निजी घरहरुको पुनर्निर्माण कार्य नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्घति अनुसार सम्पन्न भएको जानकारी गराइन ।
गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र चौध गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक-प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन हेतु सन् २०१८ मार्चमा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको थियो ।
एक सय मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलर सहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता जनाएको थियो ।
२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका कूल ११ जिल्लामा ७१ वटा शिक्षाको क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनस्र्थापना/प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।