arrow

'प्रधानन्यायाधीशसँग वार्ता हुने सम्भावना छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
cholendra1.jpg

काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको वार्तामा आफूहरू सहभागी नहुने वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष डा. सुरेन्द्र महतोले बताएका  छन् । उनले भने–‘परिवारका व्यक्तिलाई बोलाउनको लागि प्रेस वक्तव्य जारी गर्नुपर्छ ? हामी त एउटै घरमा बस्छौँ । उहाँले हामीलाई सम्बोधन गरेर बोलाउनुभएको छैन । यो मिडिया खपतको लागि वक्तव्य आएको हो । वार्ता हुने सम्भावना छैन । मार्ग प्रशस्त गर्न तयार छु भनेर उहाँले पत्राचार गरेको भए हुन्थ्यो, तर नेपाल बारलाई उहाँले कुनै सम्बोधन गर्नुभएको छैन । बारले यो वार्तामा नबस्ने भनिसकेको छ ।’

उनले बारको आन्दोलनका कारण सेवाग्राही पीडित हुनु स्वाभाविक भएको सुनाए । तर, आफूहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न भनेको पनि सुनाए । उनले भने,‘१९ जना न्यायाधीशलाई त हामीले नै अनुरोध गरेका छौँ कि बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नुपर्छ भनेर । र, उहाँहरूलाई हामीले प्रधानन्यायाधीश जबराको नेतृत्व अवज्ञा गर्नुहोस् भनेका छौँ । अहिले सेवाग्राहीको हितमा यो आन्दोलन छ । यो आन्दोलन भनेको साझा हो ।’

नेपालको न्यायपालिकामा अहिले असहज परिस्थिति आएको महतोको भनाई थियो । उनले भने,‘यो परिस्थिति निम्तिँदा राष्ट्रव्यापी रूपमा छलफल भइरहेको छ । प्रधानन्यायाधीश जबराको राजीनामाको लागि बार एकमत छ । आन्दोलनका कार्यक्रम पनि त्यहीअनुसार आएको हो । न्यायपालिका सही ढङ्गले चलिरहेको छ भनेर कतैबाट पनि कुरा आएको छैन । प्रधानन्यायाधीश जबराको बहिर्गमनले मात्रै यो समस्याको समाधान हुँदैन । सडकमा आएकाहरूले पनि स्तुतिगान गाएका छैनन् । अदालतमा भ्रष्टाचार, सेटिङ, राजनीतिक हस्तक्षेप, साँठगाँठले चरमोत्कर्ष रूप लियो । प्रधानन्यायाधीशजस्तो व्यक्ति भागबन्डामा उत्रिनुभयो, यसले न्यायपालिकाको स्वतन्त्रता समाप्त भयो । यो निष्कर्ष पहिलो पटक पूर्व न्यायाधीश समाजले निकाल्यो । न्यायपालिकामा विकृति, विसङ्गति छ भनेर उहाँहरूले भन्नुभयो । यो त्यसमा चुर्लुम्म डुबेको छ । अहिलेको नेतृत्वले यसको जिम्मेवरी लिनुपर्छ । उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ ।’

उनले प्रधानन्यायाधीश जबराबाहेक सबै न्यायाधीशहरू विद्रोहमा रहेको सुनाए । उनले भने,‘प्रधानन्यायाधीशले राजीनामा नै दिनुपर्छ, यो नै विकल्प हो भनेर माग गरेको हो । कालो पट्टी बाँधेर विरोधको कार्यक्रम गरेको हो । बार भनेको संविधानमा उल्लेखित कुरा हो । बारले त शान्तिपूर्ण आन्दोलन गरेको छ । तर, प्रदर्शनमा सशस्त्र प्रहरकीको हस्तक्षेप भयो । उहाँले आफ्ना परिवारका वकिलहरूलाई कुट्न पिट्न लगाउनुभयो । वकिलले न कुनै हतियार उठाएको छ, तर प्रधानन्यायाधीशले सर्वोच्चको परिसरलाई रण क्षेत्र बनाउनुभयो । आफ्ना केही व्यक्तिहरुलाइृ परिचालन गरेर सडकमा केही मान्छे उतारे, भिजिलान्तेहरु सडकमा देखिए ।’

उनले नेपाल बारलाई कमजोर नआँक्नसमेत चेतावनी दिएका छन् । उनले भने–‘नेपालको इतिहासमा हरेक परिवर्तनमा बारले महत्त्वपूर्ण भूमिका खेलेको छ। बारको विरुद्धमा कसैले पनि आवाज उठाएको छैन । न्यायपालिका पनि मार्ग छोड्यो भने त्यसलाई सही ट्रयाकमा ल्याउने काम बारले गर्छ । प्रधानन्यायाधीशले यी सबै कुरा स्वयम सडकमा छताछुल्ल गर्नुभयो । आज दिनका दिन भिजिलान्तेहरु सर्वोच्चको गेटमा आएर प्रदर्शन गरेका छन् । उहाँको बहिर्गमनले मात्रै समस्या समाधान हुँदैन । बारले मुलुकलाई सही ट्रयाकमा ल्याउने हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ