arrow

संसार जाग्दा सुत्ने र निदाउँदा उठ्नेको कथा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
bodhisattva-statue.jpg

एकदिन एकजना श्रोतापन्न उपासक श्रावस्तीबाट गाडीवानहरूको नाइकेसँग कान्तारको बाटो लागेर गए। पानीको सुविधा भएको एक ठाउँमा पाँचसय गाडाहरूका गोरूहरूलाई फुकाली खाद्यभोज्य तयारपारी नाइके बास बसे । ती मानिसहरू यताउती पल्टेर सुते ।

उपासक चाहि गाडीवान को नाइकेसँग एउटा रूखमुनि चंक्रमण गरिरहे। त्यसबेला नानाप्रकारका हथियार लिएका पांच सय जना चोरहरू त्यहाँ आइपुगे। उपासकलाई चंक्रमण गरिरहेको देखेर त्यो सुतेपछि गाडालाई लुटनुपर्ला भनी तिनीहरू यता उती छरिएर उभिरहे।

रातको तेश्रा प्रहरसम्म उनी चंक्रमण नै गरिरहे । लुट्न भनी तयार राखेका ढुगा मुढाहरू छोडेर बिहान सबेरै त्यहाँबाट जानु भन्दा अघि गाडीवान को नाइकेलाई सम्बोधन गर्दै अप्रमादी र जागरूक भई बसिरहेको यस पुरुषको कारणले गर्दा उनीहरूले आफ्ना जीउ जगाउन पाए र आफ्ना सम्पत्तिको मालिक पनि आफै बन्न पाए अतः त्यस पुरुषलाई सत्कार गर्नु पर्छ भनी त्यहाँबाट हिँडे ।

बिहान सवेरै उठेका गाडीवानहरूले चोरहरूले छोडेर गएका ढुगामुढाहरू देखे र त्यसै उपासकको कारणबाट उनीहरूले जीउ जोगाउन पाए भनी उनलाई सत्कार गरे। आफ्नो कामकाज सिध्याई उपासक श्रावस्तीमा आई जेतवनमा गई तथागतलाई पूजा वन्दना गरी बसे । उनलाई देखेर शास्ताले आजकल उनी त्यहाँ ननिदाएको कुरा प्रश्न गर्दा उनले आफ्नो भएको घटना सबै बताउँदै  शास्ताले भने–तिमीले मात्र ननिदाई जागरुक भई विशेषता पाएका होइनौ, पुराना पण्डितहरूले पनि जागरुक भई विशेष गुण प्राप्त गरेका थिए।"

पूर्वकालमा वाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्व ब्राह्मण कुलमा जन्मी बैश पुगेपछि तक्षशिलामा सबै शिल्प पढेर फर्केर घरमै बसे । पछि घरछाडी प्रजित भई ऋषिभेष धारण गरी धेरै दिन नबित्दै ध्यानाभिज्ञ लाभगरी हिमालय तिरको एक ठाउँमा चंक्रमण गर्ने मात्र इर्यापध (बस्नु, सुत्नु, हिंड्नु र उभिनु) लिई ननिदाइकन रातभर चंक्रमण मात्र गरिरहन्थे ।

अनि चंक्रमण गर्ने ठाउँमा एक अन्तमा बस्ने देवता प्रसन्न भई रूखको काखको बीचमा उभिई प्रश्न सोध्दै पहिलो गाथा भने - कोध जागरानं सुत्तो कोध सुतेसू जागरो। को ममेतं विजानाति को तं पटिभणाति मेति ।।

"कस्तालाई यहाँ जाग्रत भएर बसेतापनि सुत्ने भनी भन्दछन् र कस्तालाई सुतिरहेका मध्येमा पनि जाग्रित भएर बस्ने भनी भन्दछन् ? कसले यो मेरो प्रश्नलाई बुझ्छ र कसले मेरो प्रश्नको उत्तर दिनसक्छ ?"

उसको कुरा सुनेर बोधिसत्वले भने - अहं जागरतं सुत्तो अहं सुत्तेसु जागरो। अहमेतं विजानामि अहं पटिभणामिते ति ।। 'जाग्रत हुनेहरूमा म सुत्ने हुँ र सुत्नेहरू मध्येमा म जाग्रत हुँ। मैले त्यो कुरा जानेको छु र तिमीलाई उत्तरदिनेछु।"

यो सुनेर फेरि देवताले भने - कथं जागरतं सुत्तो कयं सुत्तेसु जागरो। कथं एतं विजानासि कथं पटिभणासि मेति ।। "जाग्रत हुनेहरूमा कसरी तिमी सुत्ने हो र कसरी सुत्नेहरूमध्येमा तिमी जाग्रत हो ? कसरी तिमी यो जान्दछौ र कसरी मलाई उत्तर दिन्छौ?"

यो गाथाद्वारा प्रश्न सोधिएपछि बोधिसत्वले उत्तर दिए- ये धम्म नयजानन्ति सञ्जमोति दमोति च। तेसु सुप्यमानेसु अहं जगामि देवेति ।।  येस रागो च दोसो च अबिज्जा च विराजिता। तेसु जागरमानेसु अहं सुत्तोस्मि देवते॥ एवं जागरतं सुत्तो एवं सुत्तेसु एवमेतं विजानामि एवं पटिभणामिति ।। "देव ! जसले यो संयम हो र यो दम हो भन्ने धर्मलाई जान्दैन त्यस्ता सुत्नेहरूमध्येमा म जाग्रत छु ।'
"देव ! जसको राग, द्वेष र अविद्या छैन त्यस्ता जाग्रत हुनेहरूमध्येमा म सुत्ने हुँ।" "यसरी जाग्रत हुनेहरूमा सुत्ने र यसरी सुत्नेहरूमध्येमा जाग्रत हुन्छ । यसरी यसलाई जान्दछु र यसरी नै तिमीलाई उत्तर दिन्छु।'

महासत्वले यसरी प्रश्नको उत्तर दिएपछि प्रसन्नभई उनको प्रशसा गर्दै देवताले यो अन्तिम गाथा भने- साधु जागरतं सुत्तो साधु सुत्तेसु जागरो। साधु मेतं विजानासि साधु पटिभणासि मे ति ।।

"जाग्रत हुनेहरूमा सुत्ने भनेको पनि धन्य हो, सुतिरहनेहरू मध्येमा जाग्रत हुने भनेको पनि धन्य हो, तिमीले यो कुरा जान्यौ र मलाई उत्तर दियौ यो पनि धन्य हो।" आनन्दभूमिबाट



नयाँ