arrow

जिपछिरिङ लामाः चौरीगोठदेखि संसद भवनसम्म

logo
युवराज गौतम,    
प्रकाशित २०७८ मंसिर १ बुधबार
jeep-chiring-lama-profile.jpg

जिपछिरिङ लामा शेर्पा वि.स. २०१२ सालमा दोलखाको जिरी नगरपालिकाको स्यामा गाउँमा जन्मिए । त्यहीँ हुर्के, बढे र पढे । लेकाली गाउँमा चौरी र भेडा चराउँदै उनको बाल्यकाल बित्यो । पाँच दाजुभाइ र एक दिदी मध्येका काइँला उनी सानैदेखि मेहेनती र जिज्ञासु स्वाभावका थिए । सोझो र इमानदार व्यक्तिको पहिचान बनाएका बुबा तेनिमा लामा शेर्पा र आमा डाडोमा लामाको कोखबाट जन्मिनु उनका लागि सौभाग्य थियो ।

किनकि उनको पनि स्वाभाव र आनीबानी सहयोगी र मेहेनती व्यक्तिका रुपमा स्थापित बन्यो । हुनत मान्छेलाई सबै कुराले साथ कहिल्यै नदिने रहेछ । जिपछिरिङको जीवनमा पनि पढाइका लागि भौगोलिक विकटता, पारिवारिक र आर्थिक अवस्था प्रमुख कारक बन्यो । उनले कक्षा ५ भन्दा माथि पढाइ लैजान सकेनन् ।

‘मान्छेको जीवन सोचेजस्तो नहुने रहेछ । म १० बर्षको हुँदा बुबा बित्नुभयो । बुबाले मंसिरबाट स्कुल जानुपर्छ भन्नुभएको थियो । तर उहाँ कार्तिकमै स्वर्गबास हुनुभयो । तर पनि जेनतेन प्राथमिक शिक्षा पूरा गरें,’ उनले भने, ‘ठूलो खेतीपाती, भेडा, चौरी र घोडाको रेखदेखमा बाल्यकालको धेरै समय बिताउनु पर्यो । चौंरी र भेडा चराउनु पर्ने र निरन्तर सात दिनसम्म हलो जोत्नुपर्ने वाध्यता थियो । स्कुल टाढा थियो । जान आउन उस्तै कठिन थियो । जसका कारण पढाइमा पूर्णविराम लाग्यो ।’

बुबाको निधनसँगै परिवारमा अंश भागबण्डा गर्नुपर्ने वाध्यता बन्यो । त्यसबेला उनी ११ वर्षका मात्र थिए । अंश भागबण्डा भएपछि जिम्मेवारी थपिंदै गयो । दायित्व बढ्दै गयो । कमाउनु पर्ने मानसिक दबाब बढ्यो । उमेर बढ्दै गएपछि बिहेवारी र घर गरी खानुपर्ने कर्तब्य बढ्दै गयो । जिपछिरिङको जीवनमा जिम्मेवारीको बोझ बढ्दै गयो । भविष्यको चिन्ताले मनमा अनेक विकल्पहरु सोच्न थाले ।

त्यसपछि झोला बोकेर विदेशतिर

सामान्यतः न्यून आयस्तर भएका नेपाली युवाहरुको विकल्पको माध्यम परदेश नै हो । घर छाडेर विदेसिनुपर्ने नेपालीको परम्परा बसिसकेको छ । बाल्यकालदेखि नै जीवनमा अनेक हन्डर ठक्कर खाएका जिपछिरिङले पनि विदेश रोजे ।  धनगढी हुँदै उनी २०२८ सालमा भारत पसे । काम खोज्दै भौंतारिए । कठिन श्रम गरे । तर घरबाट आमाको बिलौना अघि उनको केही लागेन । ‘विदेशी भूमिमा संघर्ष गरिरहेकै थिएँ । घरबाट आमाले पटक पटक खबर पठाउनुभयो । धेरै चिन्ता गर्नुभयो । त्यसपछि आठ महिना बसेर गाउँ नै फर्किएँ’, उनले भने, ‘त्यसपछि गाउँमै बसेर हलो जोतें र चौंरी पाल्न शुरु गरें ।’

करिब एक बर्ष उनले खेतीपाती र चौंरीपालनमा बिताए । के गरौं र कसो गरौं भन्ने उमेर भएकाले उनले चौंरीपालनलाई पनि निरन्तरता दिन सकेनन् । विकल्पको बाटो रोजे । पैसा कमाउने, सुखी र खुशीको जीवन जिउने बाटाहरु खोज्न थाले ।

अनि शुरु भयो ठेक्कापट्टा

त्यसबेला जिपछिरिङका दाजु जाम्बा लामा काठमाडौंमा नै बस्थे । हाल राम्रो ख्याती कमाएको मुलुकको नामी निर्माण कम्पनी ‘लामा कन्ट्रक्सन’ दाजुले स्थापना गरिसकेका थिए  । ‘घ’ श्रेणीमा दर्ता गरेको उक्त कम्पनीले राम्रै काम गरिरहेको थियो । वि.स. २०३३ सालमा जिपछिरिङ काठमाडौंमा उत्रिए र कम्पनीको काममा दौडिन थाले । दाजुलाई सहयोग गर्न थाले । विस्तारै पैसा कमाउन र हौसला बटुल्न थाले ।

‘ठेक्कापट्टामा लाग्न थालेपछि अलिअलि गर्दै पैसा कमाइ हुन थाल्यो । गोरखा, नारायणगढ सडक, पोखरा जलविद्युतमा काम त्यसैबेला गर्ने मौका मिल्यो । पैसाले साहस मिल्दै गयो । सामाजिक र राजनीतिक भावनाको विकास पनि सोही बेला बढेको हो’, उनले विगत सम्झिदैं भने, ‘त्यसबेला बहुदल र निर्दलको चर्चा शुरु भइसकेको थियो । म भित्रभित्रै सक्रिय हुन थालिसकेको थिएँ । कम्पनीको कामसँगै राजनीतिमा समय दिन थालिसकेको थिएँ ।’

बुबाको निधनपछि टुहुरो भएका उनी २०४६ सालतिर दाजुको पनि मृत्यु भयो । उनमा थप जिम्मेवारी थपियो । कम्पनीको सारा काम आफ्नो काँधमा आइलाग्यो । त्यसपछि उनले कम्पनीलाई ‘क’ श्रेणीमा दर्ता गराएर थप बलियो र विश्वासिलो बनाए । विभिन्न कामहरु जिम्मा लिएर कम्पनीको मुनाफालाई बढाउँदै लगे र आफूलाई राजनीतिमा सक्रियता बढाए ।

राजनीतिप्रति मोह

२०३६ सालमा निर्दल र बहुदलको चर्चा ब्यापक थियो । मान्छेहरु दुई कित्तामा विभाजित थिए । आन्दोलन चर्किरहेको थियो । जिपछिरिङले बहुदलको कित्ता रोजे । ‘भीमबहादुर तामाङ, आङदोर्जे लामा, आङछिरिङ शेर्पालगायतको संगतले मैंले बहुदल रोजेको हुँ । निर्दलमा कृष्णप्रसाद उप्रेतीहरु जिल्लामा सक्रिय थिए । तर निर्दलले जित्यो । आङदोर्जेलाई मुद्दा लाग्यो । सर्जिवन बस्न हामी पनि गयौं’, उनले बहुदलीय व्यवस्था प्राप्तीको संघर्ष सुनाउँदै भने, ‘त्यसबेला प्रधानपन्चलाई कालो मोसो दल्ने जस्ता बदबासी कामहरु भएका थिए । तर हामीले त्यो बाटो रोजेनौं । इमानको राजनीतिक संस्कार प्रदर्शन गर्यौं ।’ 
‘वाङचु शेर्पाहरुलाई मुद्दा लाग्दा तत्कालीन प्रधानपन्च चक्रबहादुर कार्कीको सम्बन्ध बुबासँग राम्रो भएकाले मलाई मुद्दा लगाएनन् । सोझो र इमानदार बाबुको छोरा भनेर छाडिदिए’ उनले भने ।

जस्तोसुकै चुनौती र समस्या आए पनि निर्माण व्यवसायसँगै राजनीतिलाई उनले निरन्तरता दिइनै रहे । त्यसबेला आङछिरिङ ठमेलमा बस्थे । उनी त्यहाँ गइरहन्थे । राजनीतिक गफहरु सुन्ने र बुझ्ने गर्दथे । ‘आङछिरिङ धेरैजसो वीपी कोइरालाको कुरा गरिरहनु हुन्थ्यो । भीमबहादुर दाइ पनि आइरहनुहुन्थ्यो । त्यसैबेला दमननाथ ढुंगानासँग मेरो चिनजान भएको हो । यो चिनजानले मलाई राजनीतिमा थप प्रेरणा मिलेको हो’, राजनीतिक यात्राको विगत सुनाउँदै उनले भने ।

काँधमा राजनीतिक जिम्मेवारी

राजनीतिमा इमान्दारिता, क्रियाशीलता र अनुशासन कायम राख्न सक्यो भने अवसरहरु आफैं खोज्दै आउने रहेछ भन्ने कुराको जिवित उदाहरण हुन् जिपछिरिङ । सामाजिक कामसँगै राजनीतिमा क्रियाशील बनेका उनले २०४६ सालको जनआन्दोलनपछि थुप्रै जिम्मेवारी लिंदै गए ।

त्यसबेला उनी नेपाली कांग्रेस दोलखा-काठमाडौं सम्पर्क समितिको सभापतिमा चयन भए । जसले उनको राजनीतिक करियरलाई थप मद्दत मिल्दै गयो । ‘त्यसबेला हामीलाई राजनीतिमा खुबै रस थियो । सम्पर्क समितको जिम्मेवारी लिएपछि हप्तैपिच्छे बैठक राख्न थाल्यौं । संगठन विस्तारको संजाल काठमाडौंदेखि दोलखासम्म विस्तार गर्दै लग्यौं । काठमाडौंमै आर्थिक संकलन गरेर महिनैपिच्छे जिल्लाको पार्टी कार्यालय संचालनका लागि ३५ सय रुपैंयाँ पठाउने गरेका थियौं ।’

तर यो जिम्मेवारी धेरै समय टिक्न पाएन । २०४८ सालमा भीमबहादुर तामाङले चुनाव हारेपछि सम्पर्क समिति विघटन गरिदिए । राजनीतिमा एउटा उचाइ लिइसकेका जिपछिरिङ जिल्लाको संगठनमा सक्रिय भए । जिल्ला कार्य समितिमा दुई कार्यकाल सदस्य भए । त्यसपछि नवौं महाधिवेशनदेखि निरन्तर महाधिवेशन र महासमिति सदस्यको भूमिकामा रहे । २०५६ सालको १० औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा चुनाव लडे । तर कुनैपनि टीममा नपर्दा पराजित भए । राष्ट्रियसभामा मध्यमान्चलबाट उम्मेदवार पनि भए । ‘त्यसबेला मैंले मात्र चुनाव हारेको होइन । भुविक्रम नेम्वाङ, भीमबहादुर दाइहरु जस्ता हस्तीले पनि चुनाव हारेका थिए’, उनले भने ।

कांग्रेसको राजनीतिसँगै उनी निर्माण व्यवसायी महासंघको गतिविधिमा पनि सक्रियता जनाइरहेका थिए । महासंघमा पनि दुई कार्यकाल सदस्य हुँदै २०५६ सालमा अध्यक्षमा निर्वाचित भए । जसका कारण उनलाई कांग्रेसको राजनीतिमा देशभर संजाल विस्तार गर्न सहज बनाइदियो ।

‘त्यसैबेला म चाइना, हङकङ हुँदै अष्ट्रेलिया र अमेरिकामा छोराहरु भेट्न गएको थिएँ । यता नेपालमा कांग्रेस विभाजित हुने अवस्थामा पुगेछ । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा विभाजनको अवस्थामा पुगेछन् र पार्टी फुट्यो’, उनले स्मरण गरे, ‘पार्टी विभाजित हुने भएपछि म देउवातिर लागें । मलाई र बर्मा लामालाई खुमबहादुर खड्काले बोलाउनुभयो । हामीले पार्टी एक हुनुपर्छ भन्ने पत्रमा हस्ताक्षर गर्यौं ।’

त्यसपछि विस्तारै केन्द्रीय राजनीतिमा जिपछिरिङको प्रभाव देखिन थाल्यो । देउवाले केन्द्रीय सदस्यको जिम्मेवारी नै दिए । त्यही मौकामा उनले पार्टीको आर्थिक व्यवस्थापनमा काम गरे । विभिन्न जिल्लामा पार्टी कार्यालयको घरभाडा व्यवस्थापनमा सहयोग गरे । करिब २० जिल्लाको कार्यालय भाडा नै तिर्ने ब्यवस्था मिलाए । जसको फलस्वरुप ११औं महाधिवेशनमा देउवातिरबाट केन्द्रीय सदस्यमा चुनाव नै जिते ।

पार्टी एकीकरण हुँदा १२ केन्द्रीय सदस्यको भाग आएको स्मरण गर्दै उनी भन्छन्, ‘पाएको भागमा आफ्नो समूहका केही साथीहरुलाई नियुक्त गर्न माग गरेको थिएँ । तर एकैपटक गर्ने भनेर रोकिदिए । पछि धेरै साथीहरु रिसाए ।’ यतिबेला आसन्न महाधिवेशनको सहमहामन्त्री पदको उम्मेदवारीका लागि तयारी गरिरहेका उनी पार्टीलाई आमूल सुधार गर्नका लागि महत्वाकांक्षी योजनाहरु अघि सार्ने बताउँछन् ।

सदनको यात्रा

पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका जिपछिरिङ २०६४ सालमा पहिलो पटक संविधान सभाको सदस्य भए । समानुपातिकको आठ नम्बरमा परेका उनले राज्यको शासकीय स्वरुप समितिमा बसेर काम गर्ने मौका पाए । 
‘त्यसबेला खुबै खटियो । संविधान बनाउन धेरै भूमिका निर्वाह गरियो तर संविधान बन्न सकेन । यदि त्यसबेला संविधान बनेको भए यतिबेला देशको अवस्था अर्कै भइसक्थ्यो’, उनी स्मरण गर्छन् । त्यसपछि २०७० सालमा उनी दोलखाबाट प्रत्यक्ष चुनाव लडे । पराजय ब्यहोरे । पछिल्लो पटक कनिष्टहरु भन्दा पछि समानुपातिकमा उनको नाम पार्टीले राख्यो । त्यो पनि सहेरै उनले पार्टीको निर्देशन बमोजिम काम गरिरहे ।

‘सदनमा गइसकेपछि असहाय, अशक्त र गरिब समूदायको पक्षमा पटक पटक आवाज उठाउँदै आएको छु । बेथिति र विसंगति विरुद्ध बोलिरहेको छु । सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ६५ बर्ष उमेरदेखि वितरण गरिनुपर्छ भनेर आवाज उठाउने म नै होला । संभवत यो लागू हुनेछ’, उनले भने । संघ, प्रदेश र स्थानीय तहको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्नेमा उनको आवाज छ । पैसा नभएका र गरिब नेता कार्यकर्ताले चुनाव नै लड्न नपाउने, बन्चित हुनुपर्ने र सँधै ‘जिउँदो शहीद’ बनेर बाँच्नुपर्ने प्रथाको अन्त्य हुनुपर्नेमा उनको धारणा छ । त्यसैले चुनावी प्रक्रिया व्यापक परिवर्तन गरी कम खर्चिलो हुनुपर्नेमा उनको माग छ ।

सामाजिक काममा सक्रियता

साँच्चै भन्ने हो भने दानवीर र जिपछिरिङ पर्यायवाची शब्द हुन् भन्दा पनि हुनेगरी उनले काम गरेका प्रशस्त उदाहरणहरु छन् । राजनीतिसँगै सामाजिक कामलाई सँगसँगै अघि बढाइरहेका उनले विभिन्न समयमा गरेर आफ्नो निजी खर्चबाट १२ वटा त एम्बुलेन्स नै वितरण गरिसकेका छन् । ०७२ सालको विनाशकारी भूकम्पमा उनले सयौंको उद्धार र राहतमा सहयोग गरेर खुबै ताली पाएका छन् ।

‘व्यवसायमा मात्र लागेको भए म खर्बपति भइसक्थें होला । तर जनताको दुःखमा आँखा चिम्लेर बस्न सकिन । सहयोग माग्न आउनेहरुलाई नाइ भन्न सकिन । सकेको र बुँताले भ्याएको सहयोग गर्दै रहें’ उनले सामाजिक कामको विस्तार सुनाए ।

गोरखा भूकम्पमा परेर दोलखामा १७४ जनाको ज्यान गयो । उनले मृत्यु भएका परिवारलाई १५ हजारका दरले नगद सहयोग जुटाए । उद्धार र राहतका लागि दैनिक चार वटासम्म हेलिकोप्टर उडाएर जिल्ला जिल्लामा सहयोग गरेको उनी स्मरण गर्छन् । त्यतिमात्र होइन जिपछिरिङले गाउँमा मनग्गे काम गरेका छन् । राज्यको खर्च जुटाएर भन्दा पनि उनले धेरैजसो आफ्नो निजी खर्चमा थुप्रै सहयोग गरेका छन् । बाटो, पुल, स्कुल, खानेपानी, मन्दिर, गुम्बा निर्माणका लागि यथासक्य नगद दिएका छन् ।

सरकारी योजनाहरु भित्र्याउन भरपुर सहयोग गरेका छन् । ‘मेरो बुबाआमाले पनि गाउँमा धेरै काम गर्नुभयो । म उहाँहरुबाटै प्रेरित हुँ । दोलखामा बुबा आमाको नाममा तीनसय जना अट्ने सामूदायिक भवन निर्माण भइरहेको छ । भीमबहादुर स्मृति भवन पनि बनिरहेको छ’, उनले आफ्नो गृहजिल्लाको कामहरुको विस्तार लगाए । त्यतिमात्र होइन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न गर्नुमा जिपछिरिङको महत्वपूर्ण योगदान छ । डडेल्धुरा, दोलखा, सिन्धुली, रामेछाप लगायतमा पार्टीको भवन निर्माणमा उनले सम्मान गर्न लायक सहयोग गरेका छन् ।

यस्तो होस् नेपाली कांग्रेस

नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल तातिरहेका बेला जिपछिरिङले सहमहामन्त्रीमा उम्मेदवारी दिदैं महत्वकांक्षी योजनाहरु पनि अघि सारेका छन् । कांग्रेस सुधारका आधारहरु अघि बढाएका छन् । पार्टीमा अनुशासन र निष्पक्षता नभएकाले संगठन कमजोर भएको निष्कर्षसहित पार्टीको रुपान्तरणका लागि काम गर्ने उनको योजना छ ।

‘विशेषतः म पार्टीको अधिवेशन समयमै हुनुपर्छ भन्ने पक्षमा छु । अनुशासन र इमानदारी हरेक नेतादेखि कार्यकर्ताले कायम राख्नुपर्छ भन्दै आइरहेको छु । पुराना र अग्रज नेताहरुलाई योगदानका आधारमा उचित सम्मान र अवसर प्रदान गर्नुपर्छ भनिरहेको छु’, उनले भने । पुराना नेताहरुको अध्ययन गर्ने र अभिलेख राख्ने, सम्मानको वातावरण बनाउने, पार्टी त्यागेर बसेकाहरुलाई अवसर सिर्जना गरी कांग्रेसप्रति आकर्षण बढाउनुपर्ने योजना आफूले अघि सार्ने पनि उनले बताए ।

‘मेरो एउटा महत्वपूर्ण मुद्दा के हो भने ३६४ दिन कांग्रेस भनेर हिँड्ने अनि चुनावको एक दिन नहुने र अन्तरघात गर्नेहरुलाई पार्टीबाट निष्काशन नै गर्नुपर्छ । अन्तरघातीलाई माफी दिनै नहुने पार्टीले रणनीति बनाउनु पर्छ । पार्टीमा इमानदारी र अनुशासन पालनाको विकास गर्दै संगठनप्रति आकर्षण बढाउनुपर्छ । आगामी दिनमा यो मेरो प्रमुख मुद्दा हुनेछ’ उनले आफ्नो रणनीति सुनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ