arrow

महाधिवेशनमा होमियो राप्रपा

राप्रपाको महाधिवेशनमा डेढ लाख सक्रिय कार्यकर्ताबाट ४७ सय प्रतिनिधि आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
rpp-general-convention.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । भृकुटीमण्डपमा हुने महाधिवेशनको तयारी तीव्र भइरहेको कार्यक्रम संयोजक एवं व्यवस्थापक प्रमुख ध्रुवबहादुर प्रधानले जानकारी दिए । 

उनका अनुसार देशभरका एक लाख ४० हजार सक्रिय कार्यकर्ताको नामावली प्रत्येक जिल्लामा पठाइसकिएको छ । तिनीहरुमध्येबाटै ४ हजार ७०० महाधिवेशन प्रतिनिधि छनोट भइ काठमाडौं आउने छन् । यही मंसिर ५ गतेभित्रै सबै ठाउँबाट महाधिवेशन प्रतिनिधि छानिने छन् । 

सक्रिय कार्यकर्ताको परिचयपत्र सम्बन्धित जिल्लाहरुमा पठाइसकिएको छ । प्रतिनिधिहरु जनसंख्याको आधारमा छनोट गरिने छ । एक क्षेत्रबाट अधिकतम ३२५ तथा पहाडी जिल्लाबाट १७५ जनासम्म हुनेछन् । यसपालि महिलाको संख्या बढी नै हुने नेता प्रधानले बताए । 

उनले ३३ प्रतिशत अनिवार्य र खुलाबाटसमेत आउने सम्भावना रहेकाले ३३ प्रतिशत बढी नै हुने उनको भनाइ छ । 

दलित, जनजाति लगायतको संख्या पनि यथोचित तोकिएको छ । उनले हाम्राकुरासँग भने, ‘निर्वाचन आयोगले तोकेअनुसार नै प्रतिनिधिहरु आउने छन् ।’

के छ भृकुटीमण्डपको तयारी ? 
महाधिवेशन भृकुटीमण्डपमा मंसिर ११ देखि १३ गतेसम्म हुँदैछ । पहिलो दिन कुनै तडकभडक नगरी, कुनै र्याली नगरी कार्यक्रम स्थलमा हल्का झाँकी प्रस्तुत गरेर उद्घाटन गरिने छ । 

संयोजक प्रधान भन्छन्, ‘हाम्रा ४७ सय प्रतिनिधि त भइहाल्छन् । थप भीड गराएर जनतालाई दुःख दिने काम गर्नुहुन्न भन्ने स्थितिमा पुगेका छौं ।’

अतिथिहरु यसपालि बाहिरबाट बोलाइएको छैन । नेपालभित्रका मात्रै हुनेछन् । प्रधान भन्छन्, ‘राजदूतहरुलाई बोलाइन्छ । नेपालकै दलहरुका शीर्ष नेताहरुलाई बोलाइन्छ । बाहिरबाट बोलाएर भीड गर्ने योजना छैन ।’

पहिलो दिन उद्घाटन हुनेछ । त्यसपछि लगत्तै तीन अध्यक्षले प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि विधान परिमार्जित गर्नुपर्ने भएकाले निर्देशन समितिको बैठक बसेर टुङ्गो लगाउने छ । 

पदाधिकारीहरु कति जना निर्वाचित भन्ने तय निर्देशन समितिले तय गर्नेछ । अर्थात् एक जना अध्यक्ष र १९९ केन्द्रीय सदस्य निश्चित भए पनि उपाध्यक्ष र महामन्त्रीका हकमा अझै तय भएको छैन । 

उपाध्यक्ष र महामन्त्री तीन जनासम्म हुन सक्नेछन् । त्यसो भए एक एक जना निर्वाचित र दुई जना मनोनित हुन सक्नेछन् । 

विधानमा उमेर हद पनि तोकिने छ । ७० वर्षको उमेर हद तोक्न लागिएको हो । यसपटक भने उमेर हद लागू नहुने बताइएको छ । 

१२ गते उम्मेदवारी मनोनयन हुनेछ र चुनावी प्रक्रियामा गएर १३ गते मतदान हुनेछ । राप्रपाले मतदानका लागि ‘ब्यालेट पेपर’ को प्रयोग गर्नेछ । 

बसोबासको उचित समन्वयको काम भइरहेको छ । हरेक जिल्लाका प्रतिनिधिले छुट्टाछुट्टै समन्वय गरेर बस्नेछन् । प्रतिव्यक्तिका दरले खर्च दिने व्यवस्था गरिएको छ । 

खानाका लागि दैनिक नास्ता, खाना, खाजा र रात्रिको खानाको प्रवन्ध गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ