arrow

एनआरएनएमा यस्तो बेथिति र नौटंकी इतिहासकै लागि दुर्भाग्य

logo
कुश बस्नेत,
प्रकाशित २०७८ मंसिर ६ सोमबार
kus-basnet-final-Nrna.jpg

गैर आवसीय नेपाली संघ(एनआरएनए) यतिबेला चर्को विवादमा छ । संघ स्थापनाको १८ बर्षको इतिहासमा यस्तो विवाद कहिल्यै भएको थिएन । त्यसैले यतिबेला संघको बर्तमान नेतृत्वप्रति गम्भीर प्रश्न उठ्ने गरेको छ । बर्तमान(२०१९-२०२१) कार्यकाल सबैभन्दा भ्रष्ट, अपारदर्शी, अक्षम नेतृत्व भएका कारण संघ विवादमा परेको आरोप लागिरहेको छ । बिश्वमा अधिवेशन भएका ६४ एनसीसीहरु मध्ये धेरैजसोमा प्रतिनिधि छनोटमा विवाद छ। यो विवाद हुनुको मुख्य कारण आइसीसीको सिधै हस्ताक्षेप र मनपरीतन्त्रले भएको भनी विश्लेषण गरिएको छ ।

प्रबिधिको दुरुपयोग गरि केही अवसरवादीहरुले आफ्नो फाइदाको लागि आईसीसी नेतृत्वका लागि मरिहत्ते गरिरहेका छन् । जसका कारण एनआरएनएले इतिहासमै पहिलो पटक यस्तो दुरावस्था भोगिरहेको छ । समस्याको समाधान भन्दा पनि समस्यालाई पर धकेल्न अनेकखाले भ्रमको खेती गर्दै आएको आरोप पनि लागि रहेको छ । असक्षम र अयोग्य नेतृत्वले समयमा महाधिवेशन गर्न नसकेर सम्पूर्ण एनआरएनहरुलाई भ्रम पार्न कहिले २२ अक्टुबर कहिले २० नोभेम्बर फेरि अहिले २० डिसेम्बरमा महाधिवेशनको मिति तोकेको समाचार आउनु दुर्भाग्य बनेको छ । छेपाराले रंग बदले जस्तै बोली र व्यवहार ठेगान नभएको एनआरएनएको नेतृत्वले महाधिवेशन गर्ने भाका बदल्दै आईरहेको छ। यो विश्वभरका नेपालीहरुका लागि दुःखको कुरा हो । र कुनै हिसाबले क्षमा दिन योग्य छैन् ।

नेतृत्वले समस्यालाई समाधान गर्नेतिर भन्दा पनि अझै धेरै बल्जाउँदै एनआरएनएहरुमा हिनताबोध र मनलाई गहिरो रुपमा दुखाइदिएका छन् । सभ्य र खुला मनको फराकिलो छाती भन्दापनि नेपालका पूर्वप्रधानमन्त्री केपी ओलीको जस्तो जस्तो दम्भ र प्रचुर घमण्ड भएको कारणले अहिलेको नेतृत्वले सम्पूर्ण एनआरएनएको भविष्य अन्धकारतिर धकेल्दैछ। जसका नेतृत्वप्रति सबै एनआरएनहरुको बिश्वास टुट्दै गएको अवस्था छ । यस्तो नहोस भन्ने मेरो हृदयदेखिकै कामना हो ।

कुमार पन्तको नेतृत्वले एनआरएनएको मान प्रतिष्ठालाई अन्तर्राष्ट्रिय श्रम संगठनमा विक्री गरी ८४ देशहरुमा रहने ८० लाख नेपालीहरुको दुःखदर्द देखाएर १० करोड नेपाली रुपैयाँ बराबरको सहयोगको नाममा सबै रकम दुरुपयोग गरेको आरोप लागिरहेको छ । त्यो १० करोडलाई उपाध्यक्ष डा.बद्री केसी र महासचिव डा.हेमराज शर्मा कम्पनीले २०२१-२०२३ कार्यकालका लागि आफ्नो चुनाबी अभियानमा खर्च गर्दै प्रशस्त प्रमाणहरु भेटिन थालेका छन् । महिनौदेखि काठमाडौंका पाँचतारे होटलमा पत्रकार तथा गुटबन्दीका ठेकेदारहरुलाई भरणपोषण गर्दै आएको खबरहरु सार्वजनिक भइरहेका छन् ।

आइएलओको १० करोडको भागबन्डा पाउनेहरु मालामाल भएको समाचार पढ्न पाइएको छ । यूकेको नेपाली समाजले तिरस्कृत गरेकोआईसीसी सदस्यले संचालन गर्दै आएको ककस भन्नेले नेपालको एकतालाई खत्तम पार्दै जातिय भागबण्डा गरि नेपालको राष्ट्रिय एकता खल्बलाउन संबिधान सभामा पृथ्वी सुब्बा गुरुङको नेतृत्वले गरेजस्तो भूमिका खेल्दै गरिरहेको छ। यो ककसमा आइएलओको दश करोडको हिसाबकिताब पाउनेमा सबै सदस्य भएको पनि काठमाडौंमा चर्चा चल्ने गरेको छ । ‘चोरको कुरा चोरसित मिल्छ, डाकाको कुरा डाकासित, भ्रष्टाचारीको कुरा भ्रष्टाचारीसित मिल्छ’ भनेजस्तै एनआरएनएको हवीगत त्यस्तै भएको छ ।

खाडीका पीडित र दुःखमा रहेका नेपालीहरुका लागि विनियोजित आइएलओको १० करोड पैसा झ्वाम्म पार्ने दलालहरुको कम्पनीजस्तै एनआरएनएलाई बनाउन खोजेको भनेर नेतृत्वको चर्को आलोचना भइरहेको छ । एनआरएनएको भविष्य अन्धाधुन्ध बनाई रहँदा पनि अध्यक्ष  कुमार पन्तको नेतृत्वले भ्रष्टहरुलाई भित्री रुपमा साथ सहयोग र संरक्षण दिई रहेको प्रष्ट बुझ्न सकिन्छ । तर नेतृत्व बाहिरी रुपमा मौन छ। एनआरएनएलाई अनिर्णयको बन्दी बनाएको अवस्थामा दैनिक नकारात्मक मनस्थितिको बिकास भई रहेको छ।

एनआरएनएलाई कमाई खाने एउटा भर्याङ्ग जबदेखि बनाउन थालियो त्यसबेलादेखि संस्थाको साख गिर्न थालेको हो । यो क्रम अहिलेको कार्यसमितिले दोहोर्याएको छ । परराष्ट्र मन्त्रालयले संस्था संरक्षणका लागि दिएको निर्देशनप्रति नजरअन्दाज राख्दा साझा संस्था नभइ कम्पनी बन्ने खतरा बढेर गएको छ । एनआरएनएको प्लेटफर्ममाथि गैरकानूनी रुपमा टेकेर होटल, अस्पताल, बैंक तथा विभिन्न उद्योगधन्दा चलाइरहेको प्रमाणहरुले संस्था झनै धरासयी बन्ने देखिएको छ । सरकारले एनआरएनएको विधि बिधान र प्रक्रियामा चासो देखाएपछि नेतृत्वको एकलौटी नचल्ने निश्चित छ । जसका कारण विधान विपरित छानिएका प्रतिनिधिबाट चुनाव जित्ने अभिलाषा बोकेर दौडिरहेकाहरुलाई टाउको दुखाइ भएको छ । जसको फलस्वरुप   नेपाल सरकार र नेपाली काङ्ग्रेस पार्टीको विरुद्धमा उत्रिएर आफ्नो गल्ती ढाकछोपको प्रयास भइरहेको छ । 

त्यसैले यस्तो गम्भीर परिस्थितिमा संस्थाको शाख बचाउन विधि विधानलाई अंगालेर चाँडै विश्व सम्मेलन सम्पन्न गरिनुपर्छ । विधान विपरित भएका क्रियाकलापलाई अन्त्य गर्दै स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयनका लागि विश्वभरका प्रवासीहरुको ध्यान जानु जरुरी छ । त्यसैले संसारभरका सम्पूर्ण एनआरएनएहरु एकजुट हौं र एनआरएनएलाई शुद्धीकरण र सिण्डिकेटको अन्त्य गरौं । जय नेपाल । जय एनआरएनए  ।(लेखक: एनआरएनए यूकेका सल्लाहकार हुन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ