arrow

राप्रपा पनि धमाधम महाधिवेशन प्रतिनिधि छान्दै : आजबाट प्रक्रिया शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
Raprapa-3leader.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशनका लागि आजबाट महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाएको छ। राप्रपा महाधिवेशन १५, १६ र १७ मङ्सिरमा काठमाडौँमा हुँदैछ।

राप्रपा नेता जनक पाठकले केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आज सोमबारबाट अघि बढेको जानकारी दिए। उनका अनुसार ५, ६ र ७ मङ्सिरसम्म महाधिवेशन प्रतिनिधि चयन गर्न समय निर्धारण गरिएको छ।

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। जसअनुसार प्रत्येक प्रदेश सभाबाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसङ्ख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुँदै छन् ।

यसरी चुनिने महाधिवेशन प्रतिनिधिको सङ्ख्या २ हजार ९ सय ७० जना हुनेछ। राप्रपाले यस पटक सक्रिय सदस्यमध्येबाट नै सिधै महाधिवेशन प्रतिनिधि चयन गर्न लागेको हो ।

राप्रपाको केन्द्रीय महाधिवेशनका लागि करिब ४५ सय प्रतिनिधि छानिने पाठकले जानकारी दिए । राप्रपाका देशभर एक लाख ४० हजार सक्रिय सदस्य रहेको दाबी छ।

महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, सङ्घीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् । महाधिवेशनमा सहभागी हुन १५ जना प्रवासबाट समेत प्रतिनिधि आउने छन् ।

यस्तै अध्यक्ष त्रयले समेत केही सङ्ख्यामा महाधिवेशन प्रतिनिधि मनोनीत गरेर ल्याउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ