arrow

अध्यक्षले पत्रकार सम्मेलन गरेपछि कर्मचारीको अध्यक्ष माथि आरोपै आरोप 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
soru-gaupalika.JPG

मुगु । सधैँ विभिन्न विषयमा विवादमा आइरहने मुगुको सोरु गाउँपालिकामा फेरी विवाद सुरु भएको छ । पालिका अध्यक्ष लोक बहादुर शाहीले गत ३० गते पत्रकार सम्मेलन नै गरेर पालिका शिक्षा प्रमुख तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल र लेखापाल जेठ बहादुर बुढाले आर्थिक अपारदर्शिता गरि अनियमित गरेको आरोप लगाएपछि पालिका अध्यक्ष र कर्मचारी बिच विवाद चर्किएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले कर्मचारीको मिलेमतोमा आफूलाई थाहै नदिई आर्थिक वर्ष ०७७-०७८ को सशर्त  अनुदान तर्फको शिक्षा र स्वास्थ्यको खर्च नभएको रकम आर्थिक वर्षको अन्तमा फिर्ता पठाउनु पर्नेमा रकमान्तर गरि करिब १ करोड ७० लाख रकम खर्च गरेको, पालिका भित्र कै स्वास्थ्य शाखाका करार एक कर्मचारीले लिएको पुरानो पेस्की फर्स्यौट नहुँदै पटक पटक लाखौँ रकम पेस्की दिएको आरोप लगाएका थिए । 

साथै अध्यक्षको टिप्पणी विनै अनेक शीर्षकमा विना कागजात खर्च गरेको, गत आर्थिक वर्षको तेस्रो चौमासिक र चालु आवको पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण नगरेको, पालिकाको काममा भन्दा पार्टीहरूको काममा बढी समय दिने गरेको जस्ता आरोप लगाउँदै यस्ता क्रियाकलापले पालिकाबाट प्रवाह हुने सेवा सुविधाबाट जनताहरू वञ्चित भई निश्चित केही पारिवारिक समूह लाभान्वित हुँदै आएको पनि उनले पत्रकार सम्मेलनमा बताएका थिए ।

यता पालिका शिक्षा प्रमुख एवं तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र  मल्ल र लेखापाल जेठ बहादुर बुढाले अध्यक्षले आफूहरू माथि लगाएको आरोपको खण्डन गदै उल्टै अध्यक्षले पदीय दुरुपयोग गरेर पालिकामा आर्थिक अनियमितताको आरोप लगाउँदै गाउँपालिकाको लेटर प्याडमा संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा गत कात्तिक ३० गते आफूहरूलाई आरोप लगाउँदै पालिका अध्यक्षले गरेको पत्रकार सम्मेलन बारे आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आर्थिक वर्ष २०७७-०७८मा आफूहरूले आर्थिक अनियमित गरेको भन्ने अध्यक्षले लगाएको आरोप तथ्यहीन, भ्रामक दोषोणापन मात्र भएको भनिएको छ ।  

यस्तै सशर्त अनुदानको रकम रकमान्तर गरेर खर्च गरेको भन्ने आरोप बारे पनि त्यो शीर्षकको रकम फिर्ता पठाएको आफूहरूसँग भौचर नै भएकाले त्यो आरोपका लागी अध्यक्षले आरोप लगाएको बताइएको छ । सामाजिक सुरक्षाको भत्ता बारे बैङ्किङ प्रणालीबाट भत्ता वितरण गर्ने भनिएकाले लाभग्राही हरूको खाता खोल्न ढिलाइका कारण भएको यसमा आफूहरूको कुनै कारण नभएको भनिएको छ । 

विज्ञप्तिमा मल्ल र बुढाले उल्टै अध्यक्ष शाहीलाई विभिन्न आरोप लगाएका छन् उनीहरूले नियम विपरीत दबाबमा पारेर लेखापाल र प्रमुख प्रशासकीय अधिकृतलाई चेक कटाउन दबाब दिने, यदि चेक नकाटे बसैपिच्छे लेखापाल र प्रमुख विरुद्ध विज्ञप्ति निकाल्ने, प्रमुख प्रशासकीय अधिकृत बदल्ने गरेको विभिन्न आर्थिक वर्षमा गरि २० लाख  बढी रकम पेस्की लिएर त्यो फर्स्यौट नगरी आफू उम्कन कर्मचारीलाई दोष लगाउने  गरेको भनिएको छ । 

पालिका जिन्सी खातामा अध्यक्ष शाहीले विभिन्न सवारी साधन र ईलेक्टोनिक उपकरणहरू लिएको देखिएको तर ती सामान कार्यालयको प्रयोजनमा भन्दा आफ्ना भाइ छोराको सुविधामा प्रयोग गरेकोबाट जनता प्रति अध्यक्ष कति जबाफदेही छन् प्रस्ट भएको, सोरुकोट खानेपानी योजना ४६ लाख पालिकाबाट छुटाउन लगाई दोहोरोपनको वास्ता नगरी सरकारी अर्को निकायले सम्पन्न गरेको कामको पुन पालिकाबाट मूल्याङ्कन उठाउन लगाई उपभोक्ता समितिसँगको मिलेमतोमा भुक्तानी दिएको बताइएको छ । 

साथै कुलाहामा पालिकामो स्वामित्वमा रहेको कृषि भवनमा विना भाडा आफ्ना छोरालाई होटेल सञ्चालन गर्न दिई वरिपरिको सार्वजनिक जग्गा अतिक्रमण गरेको, आव ०७४-७५मा पालिकाका विभिन्न सडकहरू डोजर लगाएर बनाए पनि कामदारले काम गरेको डोर हाजिर मिलाई भुक्तानी दिएको, साही आवमा कार्यालय सञ्चालनका लागी छुटाएको बजेटमा विना कागजात र नक्कली कागजात पेस गरि अध्यक्षले भुक्तानी लिएको, अध्यक्षले समानीकरण कोष स्थापना गरि प्रत्येक वर्ष ३५ देखि ५० लाखका योजना सोही कोषबाट वितरण गर्ने गरेको, कोरोना महामारीमा पालिकाबाट कुनै रकम नछुटाई उल्टै २०७७ असार ४ गते कोरोना महामारी कै बिच हेलिकप्टर चार्टर गरि राजधानी सयरमा निस्केको, ५ लाख चार्टर भाडा लाग्नेमा आव ७८-०७९मा समानिरण बजेटबाट १० लाख छुटाई भुक्तानी गरेको भनिएको छ । 

'राज्यको चौथो अङ्ग जस्तो पत्रकारिता क्षेत्रले विना आधार, विना तथ्य कसैको नैतिकता र नितान्त व्यक्तिगत स्वार्थका लागी नियोजित रूपमा आयोजित पत्रकार सम्मेलनमा एकतर्फी बताइएका कुरालाई सार्वजनिक गर्नु शोभनिय नहुने भएकाले सत्य, तथ्य र यथार्थपरक मा बुझेर जो सुकैको भए पनि समाचार बनाइदिन आग्रह गरिन्छ । अध्यक्षले आफूहरूलाई र आफूहरूले अध्यक्षलाई लगाएका आरोपहरू को कति सत्य, तथ्य र यथार्थपरक छन् छानबिन गरि दोषीलाई कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अक्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हार्दिक अनुरोध गर्दछौ', लेखापाल र शिक्षा प्रमुखले विज्ञप्तिमा भनेका छन् ।

सोरूँ गाउँपालिका जिल्ला कै यस्तो पालिका हो जुन गाउँपालिकामा सधैँ विवाद र भ्रष्टाचार बारे कुरा बाहिरी  रहन्छ । विगतमा परशुराम उपाध्याय, धान्य बुढा, तीर्थराज शाही देखि वीरेन्द्र बहादुर मल्लसम्म प्रमुख प्रशासकीय अधिकृत हुँदा कहिले अध्यक्षबाट, कहिले अधिकृतबाट त कहिले कर्मचारीबाट विवाद चुलिँदै आउने गरेको छ । जिल्ला प्रशासन कार्यालय, अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोरूँ गाउँपालिका कै बारे २ दर्जन बढी मुद्दा अनुसन्धानमा रहेका छन् । 

गत भदौमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर सोरूँ गाउँपालिकामा आएका लाल बहादुर मल्लको पुन कात्तिकमा कालिकोटमा सरुवा भई गएपछि अहिले पालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । अधिकृत विहीन हुँदा चालु आर्थिक वर्षका विकास योजनाहरू सम्झौता, भुक्तानी लगायतका काम भएका छैनन् भने कार्यालयका नियमित काम पनि रोकिएका छन् । कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरुले तलब खान पाएका छैनन् भने जनताहरूले सम्पन्न गरेका विकास योजनाहरूको र सामाजिक सुरक्षाको भुक्तानी पाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ