arrow

हत्यारालाई जोगाउन उल्टै हत्याको आरोप लगाउन थालेपछि पीडितको गुहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
hatyaras.JPG

रौतहट । हत्यारालाई जोगाउन उल्टै पीडितहरू माथि नै हत्याको आरोप लगाउन षड्यन्त्र गर्न थालेपछि रौतहटका एक परिवार न्यायको लागि गुहार माग्दै हिँडेका छन् । हत्याको आरोपमा फरार रहेका मानिसहरूको आफन्तले उल्टै पीडित माथि नै हत्या गरेको झुटो षड्यन्त्र गर्न थालेपछि देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सुरेश तिवारी दाजुभाइको परिवार न्यायको लागि गुहार माग्दै हिँडेका हुन।

दाजु सुरेश तिवारी, माहिला उमेश तिवारी र पीडित महेश तिवारीसहितले बुधबार रौतहटको चन्द्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो दुखेसो सुनाउँदै न्यायको लागि सञ्चारकर्मीहरूलाई गुहार मागेका हुन ।

स्थानीय रामएकवाल मुखियाको योजनामा भएको संघातिक हमलामा श्रीमती गुमाएका ५३ वर्षीय महेश तिवारीले यसरी आफ्नो पिडा पत्रकार सम्मेलन गरेर पोखे । झन्डै डेढ वर्ष अघि स्थानीय रामएकवाल मुखिया बिनको परिवार र प्रमोद दुबेको परिवार बिच जग्गाको विषय लिएर विवाद भएको थियो । 

सोही विवाद लाई लिएर मुखियाका छोरा भाइ भतिजले दुबे दाजु भाइ माथि २०७७ जेठ महिनामा घरेलु हतियार प्रयोग गरि घाइते बनाएको थियो । प्रत्यक्षदर्शी हैसियतले मैले दुबेको गवाही बनेर जिल्ला अदालत गौरमा बयान दिएको पीडित तिवारीले बताए ।

मेरो विपक्षीको तर्फबाट किन बयान दिइस् पख तँलाई नमारी छोड्दिन भन्दै रामएकवाल मुखिया बिन,उनका दाजुभाइ तथा भाइ भतिजले पटक पटक भेटहुंदा धम्की दिँदै आएका थिए ।

सो घटनाको ५ महिना पछि २०७७ असोज ९ गते राती साढे ८ बजे खाना खाएर आफ्नै घर अगाडि कुर्सीमा बसिरहेको अवस्थामा मुख्य योजनाकार रामएकवाल सहित झन्डै एक दर्जनको सङ्ख्यामा उनका आफन्तहरूले धारिलो हतियारले म र मेरो श्रीमती जयरानी देवी तिवारी माथि लखेटी लखेटी संघातिक हमला गरे । 

संघातिक आक्रमणमा परेर घाइते भएको श्रीमती लाई उपचारको लागि वीरगन्ज लैजाने क्रममा जयरानी तिवारीको मृत्यु भएको तथा आफू एक हप्ता कोमामा रहेर एलएस न्युरो अस्पतालमा उपचार पछि बल ज्यान बचेको पीडित महेश तिवारीले पत्रकार सम्मेलनमा बताए ।

हत्यामा संलग्न रहेकाहरू अछेलाल मुखिया बिन,कवीन्द्र मुखिया,बलि मुखियालाई घटनाकै राती गाउँकै विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

आरोपी मध्ये राधेश्याम मुखियालाई घटनाको ३ महिना पछि पर्सा बाट र राजकुमार मुखियालाई १० महिना पछि प्रहरीले घरै बाट पक्राउ गरेको तिवारीले बताए ।

कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दा इलाका प्रहरी कार्यालय गरुडामा दर्ता भएका ११ जना मध्ये ५ जना पक्राउ परेका छन् भने मुख्य योजनाकार रामएकवाल मुखिया,सोनालाल मुखिया,प्रदीप मुखिया,कृष्ण मुखिया ,शिवकुमार मुखिया, चुनचुन मुखिया अझै फरार छन् ।

पक्राउ परेका मध्ये राधेश्याम मुखिया पुनरावेदन अदालतको आदेशमा पक्राउ परेको ३ महिना पछि छुटेका थिए । संघातिक हमला पछि लगातार साढे २ महिना सम्म एलएस न्युरो अस्पताल वीरगन्जमा उपचार पछि केही समय भारतमा उपचार गराएको तथा ३ दिन अघि मात्र काठमाडौँ स्थित ट्रमा सेन्टरमा देब्रे हातको अपरेसन गराएर आएको हात देखाउँदै महेश तिवारीले पत्रकार सम्मेलनमा बताए।सामान्य खेती किसानी तथा सानो कुखुरा फर्म सञ्चालन गरिबसेका पीडित तिवारीले हालसम्म उपचारमा झन्डै ३० लाख रुपैयाँ खर्च भैसकेको सुनाए ।

घटना पछि आरोपी रामएकवालका केही नजिकका मानिसले ३५ लाख रुपैयाँ लिएर मुद्दा मिल्ने प्रलोभन दिए तर आफुले दोषी माथि कारबाही हुनुपर्छ भने पक्षमा रहेको उनले खुलासा गरे ।

 घटना पछि मुखियाका परिवारका हाम्रो घरतिर कोही आउँदैनन् र हाम्रो परिवारको कोही सदस्य उता जांदैनन। मुखिया परिवारको अन्याय देखेर टिकुलिया गाउँका उनको आफन्त बाहेक सम्पूर्ण गाउँलेहरूले बहिष्कार गरेका छन् ।

यसैबिच रामएकवाल मुखियाका आफन्त देवाही गोनाही नगरपालिका ५ टिकुलियाका मृतक सञ्जय मुखियाको ५ वर्षीय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखियाले गत कार्तिक २८ गते मुसा मार्ने औषधि खाएर गम्भीर भए । दुबै जना बालकलाई घरमै राखेर सञ्जय मुखियाका श्रीमतीले एक जना आफन्त गाउँघरका झोले डाक्टर जियालाल मुखिया लाई बोलाएर उपचार गराए।

सञ्जय मुखिया वैदेशिक रोजगारीमा साउदीमा रहेकाले उनको श्रीमतीले दुबै जना बालक लाई उपचारको लागि केही समय सञ्जीवनी अस्पताल शिवनगर,त्यसपछि अनामिका अस्पताल गरुडामा राखे । राती अवस्था सिकिस्त हुँदा थप उपचारको लागी वीरगन्ज स्थित तराई अस्पतालमा लैजाँदा कान्छो छोराको सोही रात र जेठाको भोलिपल्ट मृत्यु भएको प्रहरीले बताएका थिए ।

लगातार २ दिनसम्म उपचारको क्रममा प्रहरी समक्ष बयान दिँदा सञ्जय मुखियाको श्रीमती तथा आमाले कसैको नाम न लिएको प्रहरीले बताउँदै आएका छन् ।

तर मृतक दुबै जना बालकको शव नारायणी अस्पताल वीरगन्ज बाट पोस्टमार्टम भएर आएपछि फरार रहेका अघिल्लो हत्याका मुख्य योजनाकार रामएकवालका केही आफन्तले घटना लाई राजनीतिक रूप दिए ।

दुबै बालकको शव बोकेर गरुडामा गत कार्तिक २९ गते प्रदर्शन गर्दै पीडित महेश तिवारीका दुई जना दाजु सुरेश तिवारी,उमेश तिवारी,उनका छोराहरू राजेश तिवारी ,रमेश तिवारी,रञ्जित तिवारीले विष ख्वाएर मारेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिए ।

उक्त जाहेरी दर्ता गर्न मुखियाका आफन्त एक जना स्थानीय तहका प्रमुख,एक जना पूर्व सांसद तथा केही नेताहरूले प्रहरी माथि पटक पटक दबाब दिँदै आएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बालकलाई मुसा मार्ने औषधी कसले खुवाएको हो अहिले सम्म खुलेको छैन । सञ्जय मुखियाको घर छेउमा मुसा मार्ने औषधिको पुरिया बरामद भएकाले उक्त पुरिया जाँचको लागि पठाएको घटनाको सन्दर्भमा गहन रूपमा अनुसन्धान गरिरहेको बताए । 

अर्थात् प्रहरीले आज बुधबार सम्म उक्त जाहेरी दर्ता गरेका छैनन् । उता रामएकवालका एक जना आफन्तले पहिलो मुद्दा फिर्ता गरेमा यो मुद्दा कसै माथि नगर्ने फिर्ता नलिएमा जसरी पनि मुद्दा दर्ता गराउने धम्की दिंदैआएको महेश तिवारीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ