arrow

राप्रपामा महाधिवेशनको राप

राप्रपा अध्यक्षमा उठ्ने लिङ्देनको घोषणा, धवल शमशेरलाई भने ‘तपाई मेरो महामन्त्री’

‘म अध्यक्ष भएँ भने ६ महिनाभित्र राजा मान्ने र हिन्दू राष्ट्र चाहने शक्तिलाई एक ठाउँ ल्याएर सके संसद नसके सडकबाटै भए पनि यो माग पूरा गराउँछु’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
rajendra-linden-rpp1.jpg

काठमाडौं । काठमाडौंको एल्लो प्यागोडा होटलमा राप्रपा अध्यक्षका प्रत्यासी रहेका प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देन र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा एक साथ देखिए । नेताकार्यकर्ताले खचाखच भरिएको पाँचौं तल्लाको हलमा दुवै नेता दौरा सुरुवाल र कोटमा थिए । राजेन्द्र आफू अध्यक्षमा उठ्ने घोषणा गर्न मञ्चमा उक्लिए । उनले आफू राप्रपामा कसैका विरुद्ध र कसैलाई चुनौती दिन नभएर राप्रपाको नयाँ स्वरुपका लागि आँट गरेर अध्यक्षमा उठ्ने घोषणा गरेको सुनाए । र अर्का प्रत्यासी रहेका धवलशमशेरलाई सोधे, तपाई के मा उठ्ने ? धवलले जवाफ दिए ‘साथीहरुले जुन पदमा भन्नुहुन्छ त्यहीं । राजेन्द्रले भने, ‘त्यसो भए तपाई मेरो महामन्त्री ।’

राप्रपामा विगत आधा दशक जस्तो अध्यक्षमा तीन जनाको नाम मात्रै सुनिंदै आइएको छ । कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकशचन्द्र लोहनी । तर राजेन्द्रले भने अब एक व्यक्ति कति कार्यकाल अध्यक्ष बन्ने र कति प्रधानमन्त्री बन्ने भन्ने तय हुनु पर्ने भन्दै आफ्नो उम्मेदवारी त्यसका लागिसमेत भएको सुनाए । उनले भने, ‘मैले अहिले नै भन्छु, दुई कार्यकाल भन्दा अध्यक्ष हुन्न ।’

राजेन्द्रले आफूले राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने लक्ष्यका साथ राप्रपा नेतृत्वका लागि अघि बढेको समेत सुनाए । ‘म अध्यक्ष भएँ भने ६ महिनाभित्र राजा मान्ने र हिन्दू राष्ट्र चाहने शक्तिलाई एक ठाउँ ल्याएर सके संसद नसके सडकबाटै भए पनि यो माग पूरा गराउँछु, अहिले आवश्यकता यही हो ।’

उनले अब पनि राप्रपाको नेतृत्व परिवर्तन नभए प्रजा परिषद्को बाटोमा जाने बताए । नेतृत्व परिवर्तन कार्यकर्ताको चाहना भएको भन्दै उनले अध्यक्षत्रयलाई अभिभावकका रुपमा बस्नसमेत आग्रह गरे ।
 
‘तपाईहरु अभिभावक भएर बस्नु न, राप्रपाले नयाँ नेतृत्व चाहेको छ, तपाईहरुले नेतृत्व गर्न सक्ने व्यक्ति जन्माइसक्नु भयो, राप्रपालाई अब देश हाँक्ने शक्ति हामी बनाउँछौं,’ उनले थपे । 

उनले राजसंस्था र हिन्दू राष्ट्र चाहिन्छ भन्ने राप्रपा इतिहासकै कमजोर भएको भन्दै अब पनि नेतृत्व परिवर्तन नभए राप्रपालाई असफल हुने छुट नरहेको बताए । उनले राप्रपामा आएको परिवर्तन अन्य पार्टीका लागि पनि सन्देश हुने भन्दै युवा नेताहरूले पार्टी नेतृत्वका लागि आँट गर्ने परम्परा आफूले शुरु गरेकोसमेत बताए । 

उनले आफ्नो पार्टी राप्रपा नयाँ नेतृत्वपछि भ्रष्टाचार विरुद्धमा खरो रुपमा उत्रने दाबीसमेत गरे । यसैगरी एक व्यक्ति धेरै पदमा बस्ने प्रचलनको अन्त्य गरेर एक व्यक्ति एक पदको अवधारणा सुरुवात गर्नेसमेत दाबी गरे । 

राप्रपाको महाधिवेशन यही १५, १६ र १७ मंसिरमा काठमाडौंमा हुँदैछ । सो महाधिवेशमार्फत राप्रपाले नयाँ नेतृत्व चयन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ