आधा घण्टा पछाडि धकेलियो एमाले महाधिवेशनको उद्घाटन, यी हुन् विपक्षी दलका वक्ता
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
995
Shares
चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदैछ । मध्यान्ह १२ बजे नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको भनिए पनि आधा घण्टा ढिला गरी उद्घाटन हुने भएको छ ।
उद्घाटन कार्यक्रम चार घण्टासम्म चल्ने बताइएको छ । तर ४ बजेसम्म सक्याउने गरी तयारी गरिएको बुझिएको छ । उक्त उद्घाटनमा ओलीसँगै विदेशी पाहुनाहरुले पनि संवोधन गर्नेछन् । विपक्षी दलका नेताहरुमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संवोधन गर्नेछन् । नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएपछि माओवादीबाट कसले संवोधन गर्छ भन्ने टुङ्गो छैन । एमालेले नेकपा (एकीकृत समाजवादी)लाई भने निम्तो नै दिएको छैन ।
त्यसैगरी उद्घाटन सकिएपछि आजै सौराहामा केन्द्रीय कमिटीको अन्तिम बैठक बस्नेछ ।
अहिले चितवन एमालेमय भएको छ । महाधिवेशनका कारण सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला अधिवेशनसमेत स्थगित गरेको छ । महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु हिजै चितवन आइसकेका छन् । एमालेले उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने बताएको छ ।
त्यसैगरी पर्यवेक्षकसँगै विदेशी पाहुनाहरुसमेत उपस्थित हुनेछन् । उद्घाटनमा विदेशी पाहुनाहरुलेसमेत संवोधन गर्ने कार्यक्रम राखिएको छ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराइले उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभिन्न सात स्थानबाट जुलुस निकाल्ने क्रम रहेको बताए । महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकिझकाउ बनाइएको छ ।
सहभागी हुने जनप्रतिनिधिलाई आज बेलुका मात्रै सौराहामा परिचयपत्र बाँडिने छ । भोलि बिहान ८ः३० बजेबाट बन्द सत्र शुरु हुनेछ ।