arrow

अबको सात दिनमा राप्रपामा नयाँ नेतृत्वः थापा, जबरा र लोहनीसँगै भिडन्तमा थपिए लिङ्देन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
rpp-general-convention.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबको सात दिनमा नयाँ नेतृत्व पाउँदै छ । राप्रपाको केन्द्रीय नेतृत्व चुन्न १५, १६ र १७ मंसिरमा काठमाडौंमा एकता महाधिवेशन हुँदैछ । राप्रपामा नेतृत्व लिन हालका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीसँगै सांसद राजेन्द्र लिङ्देन अघि बढेका छन् । 

लिङ्देनले बिहीबार नेपालगंज उपमहानगरपालिकाका प्रमुख रहेका नेता धवलशमशेर राणाकोसमेत समर्थनमा आफूलाई मैदानमा उतारिसकेका छन् । यसअघि राणाले पनि अध्यक्षमा उठ्ने दाबी गर्दै आएका थिए । धवल महामन्त्रीमा लड्न राजी भएका छन् । 

राप्रपाले यसपटक सीधै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रीय नेतृत्व चुन्न लागेको हो । यसपटक राप्रपाले विधानमा समेत संशोधन गर्दै सात जना पदाधिकारी महाधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत चुन्न लागेको हो । यसअघि अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुनिने गरेको थियो । राप्रपाको महाधिवेशनमा नेतृत्व चयन गर्न ४५ सय प्रतिनिधि काठमाडौं आउने छन् । 

हालसम्म आन्तरिक रुपमा तयारी गरे पनि लिङ्देन बाहेक कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । लिङ्देनले भने उम्मेदवारी घोषणा सभामा धवलशमशेरलाई महामन्त्रीमा उठाइने बताए । 

लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट निर्वाचित एक्ला सांसद हुन् । उनी झापाबाट निर्वाचित भएका थिए । यसैगरी अध्यक्ष जबरा पनि राप्रपाको नेतृत्व हात पार्ने गरी अघि बढेका छन् । 

उनले राप्रपाका पुरानादेखि नयाँ पुस्ताका सबै तहका नेताहरुलाई आफ्ना निकट नेताहरुमार्फत सम्पर्क गराएर आफ्नो तयारी बारे बताइरहेका छन् । जबराले लोहनीको समेत साथ लिने प्रयास गरिरहेको बताइन्छ ।  

जबरा निकट नेता राजेन्द्र गुरुङले उम्मेदवारी बारे अध्यक्ष जबराले आन्तरिक छलफल गरिरहेको जानकारी दिए । यसैगरी लोहनीलेसमेत अध्यक्षमा उठ्ने गरी छलफल जारी राखेका छन् । उनी पनि सकेसम्म जबरालाईसमेत विश्वासमा लिएर अध्यक्ष बन्ने दाउमा छन् । 

यसैगरी थापा भने अध्यक्षमा आफू दोहोरिनेमा ढुक्क छन् । उनी हाल नेतृत्वमा रहेकै कारण जिल्ला जिल्लामा आफ्नो बर्चस्व रहेको भन्दै थप सशक्त बन्ने गरी किटकाहरुलाई खटाइरहेका छन् । 

राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।

महाधिवेशनमा सहभागी हुनका लागि ७५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् । 

महाधिवेशनमा सहभागी हुन १५ जना प्रवासबाटसमेत प्रतिनिधि आउने छन् । यी सबै ४५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि केन्द्रीय नेतृत्व चुन्न काठमाडौं आउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ