arrow
ADVERTISEMENT

कांग्रेस प्रदेश अधिवेशन बागमती प्रदेश सभापतिमा पाँच आकांक्षी

संस्थापन र इतर जोडघटाउमा

logo
एम गौतम, 
प्रकाशित २०७८ मंसिर ११ शनिबार
congress-bagmati-province-candidate-claimed.jpg

काठमाडौं । नेपाली कांग्रेसको विधानअनुसार प्रदेश तहको संरचना गठनका लागि यही १६ र १७ मंसिरमा प्रदेश तहको अधिवेशन हुँदैछ । कांग्रेसले हालको विधान अनुसार आफ्नो संरचनालाई पहिलो पटक प्रदेश तहमा कार्यान्वयन गर्न लागेको हो । 

प्रदेश तहको अधिवेशनका लागि कांग्रेसमा गुट अनुसार नै उम्मेदवार बन्ने सम्भावना छ । केन्द्रीय राजनीतिमा प्रभाव पार्ने बागमती प्रदेशमा त झनै गुटको प्रभाव बढी देखिने सम्भावना छ । बागमती प्रदेशमा सभापति बन्ने दौडमा काठमाडौं कांग्रेसका पूर्व सभापतिसमेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानदेखि नुवाकोट कांग्रेसका हालका सभापति जगदीशनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य, मकवानपुर सभापति इन्द्र बानियाँसम्मको नाम चर्चामा छ । 

यसैगरी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता मोहन बस्नेतको नाम पनि बागमती प्रदेशको सभापतिका लागि सुनिन थालेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आएको परिणामपछि उम्मेदवारी दिने गरी आन्तरिक रुपमा नेताहरुको गुट अनुसारको जोड घटाउ भइरहेको छ । 

कसको पृष्ठभूमि कस्तो ?
भीमसेनदास प्रधान

उनी कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौला समूहमा आबद्ध छन् । उनी नेपाल प्राध्यापक संघको पूर्व अध्यक्षसमेत हुन् । यसैगरी उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षामन्त्रीसमेत भइसकेका छन् । बौद्धिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका उनी हाल काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यसमेत छन् । 
 
प्रधान पहिलो संविधान सभाको निर्वाचनमा २०६४ मा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नम्बर ६ काठमाडौंबाट उम्मेदवार बनेका थिए भने दोस्रो संविधान सभाको निर्वाचन २०७० मा सोही क्षेत्रबाट निर्वाचित बनेका थिए । 

प्रधानसँग काठमाडौं कांग्रेसमा जिल्ला सदस्य, सचिव, उपसभापति पदमा रहेर काम गरेको अनुभव छ । उनी काठमाडौंको उपसभापति हुँदा दोस्रो जनआन्दोलनको काठमाडौं संयोजक बनेका थिए । त्यसपछि उनी १२औं महाधिवेशनका समयमा काठमाडौं कांग्रेसको सभापति निर्वाचित बनेका थिए ।

उनी २०३३ पछि गणेशमान सिंहसँग निकट रहेरसमेत काम गर्ने नेता हुन् । २०४६ सालको आन्दोलनमा प्रधान नेता सिंहसँग नै उनको सहयोगी बनेर जिल्ला दौडाहामा पुगेका थिए । 

जगदीशनरसिंह केसी
केसीले नुवाकोट कांग्रेसको नेतृत्वमा चार कार्यकाल बिताइसकेका छन् । उनी नेता अर्जुननरसिंह केसीका भाइ हुन् । यस पटक भने उनी विधानको बाध्यताका कारण जिल्ला सभापतिको रेसबाट बाहिरिएका छन् । उनीसँग नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा रहेर काम गरेको अनुभन छ । केसी २०४२ सालमा सरस्वती क्याम्पसको सचिवसमेत बनेका थिए । त्यसबखत उनी नेविसंघबाट जित्ने एक्ला उम्मेदवार थिए । 

कांग्रेसको जिल्ला राजनीतिमा भने उनी सदस्य, सचिव र उपसभापति हुँदै अघि बढेका नेता हुन् । उनी २०६४ र २०७० मा संविधान सभाको सदस्यसमेत निर्वाचित बनेका थिए । 

इन्द्र बानियाँ
बानियाँ हाल मकवानपुर कांग्रेसको सभापति हुन् । उनी अहिले बागमती प्रदेशको कांग्रेसको संसदीय दलको नेतासमेत छन् । उनी २०६४ को संविधान सभा निर्वाचनमा मकवानपुरबाट उम्मेदवार बनेका थिए । यस्तै उनी २०७० को संविधान सभा निर्वाचनमा भने निर्वाचित बनेका थिए ।

बागमती प्रदेशको संसदीय दलको नेता भएकै कारणले गठबन्धन सरकारमा उनी बाँकी रहेको आधा कार्यकाल मुख्यमन्त्री हुने सहमति यसअघि नै भइसकेको छ । 
 
उनी विद्यार्थी राजनीतिमा रहँदा नेविसंघ मकवानपुर क्याम्पसको उपाध्यक्ष, अध्यक्ष हुँदै तरुण दल मकवानपुरको सचिव र अध्यक्षसमेत बनेका थिए । उनी कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवासँग निकट छन् । 

मधु आचार्य 
आचार्य हाल कांग्रेस काभ्रेको सभापति छन् ।  उनी २०५७ देखि २०६२ सम्म पहिलो पटक जिल्ला सभापति बनेका थिए भने दोस्रो पटक २०७२ मा सभापति बनेका थिए । त्यसअघि उनी २०४८ मा पहिलो पटक काभ्रेमा क्षेत्रीय सभापतिसमेत बनेका थिए । 

२०५१ सालमा जिल्ला कार्यसमितिमा रहँदा उनले त्यसबखत भनिने गरिएको संगठन मन्त्रीको जिम्मेवारी पनि पाएका थिए । यस्तै १२औं महाधिवेशन पछि नेता रामचन्द्र पौडेल कांग्रेस उपसभापति हुँदा आचार्य कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकसमेत बनेका थिए । उनी कांग्रेस भित्र इतर समूहसँग निकट छन् ।

मोहन बस्नेत 
बस्नेत सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्छन् । उनी यसअघिका निर्वाचित सांसद हुन् । उनी संचारमन्त्रीसमेत भए । 

त्यसपछि उनी नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख भएर पनि काम गरिरहेका छन् ।

उनलाई हक्की स्वभावका नेताका रुपमा विश्लेषण गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ