arrow

कम्तीमा ६० प्रतिशत नयाँ अनुहार ल्याउने गरी मत दिऔं – दिव्यमणी राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
divyamani1234567.jpg

६६ वर्षीय दिव्यमणी राजभण्डारीले नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि ठूलो त्याग गरेका छन् । उनको पारिवारिक पृष्ठभूमि नै राजनीति हो । उनका पिता इन्द्रमणी राजभण्डारी नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेवापत १७–१८ सालमै जेलमा परेका थिए । त्यसैले राजभण्डारीमा जन्मेदेखि नै राजनीतिप्रति लगाब छ । २०४६ सालको आन्दोलनपछि उनी राजनीतिमा धेरै सक्रिय भए । 

उनी काठमाडौंको पकनाजोल कालधारामा जन्मिए । हाल उनी काठमाडौं क्षेत्र नम्बर ४ बुढानीलकण्ठ ९ मा बस्छन् । उनको पुख्र्यौली घर दोलखा हो । २०४६ सालको आन्दोलनपछि झापामा गरिएको कांग्रेसको महाधिवेशनमा उनी पर्यवेक्षकको रुपमा सहभागी भए । 

त्यसपछि उनी दुई पटक महाधिवेशन प्रतिनिधि भए । यसैबीच उनी व्यापार व्यवसायमा पनि सक्रिय भए । बेनीबहादुर कार्की नेपाली कांग्रेसको कोषाध्यक्षमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा झनै सक्रिय भयो । तर उनले पदमा कहिले पनि लोभ देखाएनन् । पार्टीको काममै उनी बढी प्रतिबद्ध भए । 

‘नेपाली कांग्रेसका मान्छेहरुले सत्तामा बसेर जसरी पदको दुरुपयोग गरे कानूनले समात्न नसके पनि भ्रष्टाचार गरे’ राजभण्डारीले भने, ‘अहिले राजनीतिको स्रोत भनेको सत्ता, साधन र स्रोत हो भन्ने मान्यता भएको छ । मान्छेहरुमा त्यो धारणा बस्यो । यसपटक त्यस्तो मान्यता बोक्नेहरुलाई राजनीतिमा सक्रिय नबनाऔं ।’

उनको यो भनाइलाई १४औं महाधिवेशन प्रतिनिधिहरुले कति लागु गर्छन् त्यो भने हेर्न बाँकी नै छ । प्रस्तुत छ उनीसँग कांग्रेसको १४ औं महाधिवेशनमा आधारित रहेर गरिएको कुराकानी– 
० १४औं महाधिवेशनमा तपाईको भूमिका के हुन्छ ? 
० १४औं महाधिवेशनमा उम्मेदवारी दिने मेरो इच्छा छ । जबसम्म नेतागणहरुले अथवा समूहका साथीहरुले सहमति दिनुहुन्न त्यसबेलासम्म घोषणा गर्ने पक्षमा म पुगेको छैैन । 

० सोच त बनाउनु भएको छ ?
० यो उमेरमा आएपछि केन्द्रीय समितिमा बसेर पार्टीको लागि केही न केही सेवा गरुँ भन्ने सोच बनाएको छु । मैलै भोगेको अनुभव पार्टीको निम्ति सेवा गर्न सकूँ भन्ने इच्छा हो । यो इच्छा नेताहरुसँग प्रकट गरेको छु । 

० कुन टिमबाट उठ्नुहुन्छ ?
० प्रकाशमान सिंह–गगन थापा टिमबाट उठ्ने सोच बनाएको छु ।

० घोषणा कहिले गर्नुहुन्छ ?
० पहिले भनिसकेंं जुनबेला नेताहरुसँग सहमति हुन्छ त्यसबेला घोषणा गर्छु । म नउठ्न पनि सक्छु । पहिले चुनाव लड्छु भन्ने भोलि लड्दिन भन्ने मेरो स्वभाव छैन ।

० तपाई पुरानो राजनीतिज्ञ, कांग्रेसको १४औ महाविधेशनपछि कांग्रेसमा परिवर्तन हुन्छ भन्नमा कति आशावादी हुनुहन्छ ?
० पार्टी एउटा विधि र विधान अनुसार चलोस् भन्ने हाम्रो चाहना हो । कांग्रेसको स्वाभिमान सधैं रहिरहोस् । कांग्रेसका अग्रज नेताहरु वीपी, गणेशमानजी, शुवर्णशमशेरजी, कृष्णप्रसाद भट्टराईजी, उहाँहरुले कांग्रेसलाई मूल्य र मान्यताबाट पार्टी चलाउनु भयो । कांग्रेस सधैं मूल्य र मान्यताबाट चल्नु पर्छ भन्ने उहाँहरुको भनाइ थियो । जनताले फेरि नेपाली कांग्रेसलाई विश्वास गरेर भोट दिउन् भन्ने हामी चाहन्छौं ।

० तपाई र तपाईको परिवारले कांग्रेसका लागि यति ठूलो लगानी गर्नु भएको छ, यस लगानी गरेवापत पार्टीबाट के पाउनु भएको छ ?
० मेरो पारिवारिक पृष्ठभूमि नै कांंग्रेससँग जोडिएको छ । कांग्रेसको लागि सहयोग गर्ने, यस पार्टीमा लगानी गर्ने मेरो कर्तव्य हो । पैसा दिएर पद लिने व्यक्ति म परिन । मेरो कर्तव्य मैले निर्वाह गरें । मैले आफ्नो कुरा नेताहरुसँग राख्ने गरेको छु । नेतागणहरुले गल्ती गरेको जस्तो लागेमा आलोचना पनि गर्ने गरेको छु । 

० तपाई त अहिले युवा नै हुनुहुन्छ होइन ?
० अहिले ६६ वर्षको भएँ । मेरा नाति नातिनी छन् ।  नाति नातिनी भएको व्यक्तिलाई कसरी युवा भन्ने ?

० तर कांग्रेसमा ६६ वर्षको व्यक्तिलाई पनि युवा भन्ने गरिन्छ नि ?
० यसमा मेरो विचार फरक छ । हामी ७० वर्ष लागेपछि नेपाली कांग्रेसको पदाधिकारीमा बस्नुहुन्न भन्ने मेरो चाहना हो । त्यसबेला हामीले लिएको अनुभव र ज्ञान युवा पुस्तालाई शिक्षा दिनुपर्छ । नेपाली कांग्रेसको विधानमा दुई पटक सभापति हुन पाउने व्यवस्था भए पनि अहिले ४–४ वर्षमा चुनाव हुने गरेको छैन । ५ वर्षमा चुनाव हुन्छ ।  त्यसैले एक व्यक्ति एक अवधिमात्र सभापति हुनु पर्छ भन्ने मेरो धारणा हो । जस्तै उदाहरण भनौंं, अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू आजभन्दा ३० वर्ष अघिदेखि मन्त्री प्रधानमन्त्री हुनुभयो । तर, कांग्रेसमा नयाँ जोश बोकेको युवाले मौका पाएनन् । देशलाई परिवर्तन गर्ने युवाहरुको जोश हो । तर उनीहरुलाई मौका दिइएन । त्यसैले बुढाहरुले छाड्दै जाने र युवालाई मौका दिने परम्परा लागु हुनुपर्छ भन्ने मेरो भनाइ हो ।
  
० यसपटक पार्टीको नीतिमा परिवर्तन होला ? 
० पार्टीका महाधिवेशन प्रतिनिधिहरुसँग मेरो के अनुरोध छ भने आफ्ना –आफ्ना गुट त छँदैछन् टिमलाई पनि भोट दिनुपर्यो । कम्तीमा ६० प्रतिशत नयाँ अनुहार ल्याउने गरी मत दिऔं । ४० प्रतिशत पुरानो अनुहारलाई भोट दिऔँ । उहाँहरुको पनि गाइड चाहिन्छ । मेरो अर्को पनि अनुरोध छ, केन्द्रीय समितिमा लडेर चुनाव हारेका व्यक्तिहरुलाई फेरि केन्द्रीय समितिमा नल्याऔं । उनीहरुलाई आमन्त्रित सदस्यमा राखौं । चुनाव  हार्ने, फेरि केन्द्रीय सदस्यमा मनोनित गर्ने काम नगरौं ।
 
० यस महाधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्ला ? 
० कांग्रेसको नेतृत्व परिवर्तन हुन बहुत जरुरी छ । हामी आशावादी पनि छौं । तर चुनाव हो । के हुन्छ यही हुन्छ भनेर भन्न सकिन्न । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ