arrow

एमालेको सौराहा भेला

लिष्टमा टिपेक्स लगाएर नाम फाइनल गरिँदै, प्रतिनिधिहरु नाम सुन्न आतुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
UML-10th-general-convention-logo.jpg

सौराहा । नेकपा एमालेको १० औं महाधिवेशनले चुनाव नै नगरी महाधिवेशन सकाउने योजना बुनेको छ । आज अन्तिम दिन अहिलेसम्म बन्द सत्र शुरु हुन सकेको छैन । बिहान १०ः३० बजे बन्द सत्र बस्ने भनिए पनि अहिलेसम्म बस्न नसकेको हो । 

अध्यक्षमा आफूले नछाड्ने डा. भीमबहादुर रावलको घोषणापछि हिजो फ्लोरले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत कार्यसमिति घोषणा गर्न दिएको म्यान्डेट अगाडि बढे्न सकेको छैन । ओली अझै पनि छलफलमा छन् । 

अध्यक्षमा मात्र हैन वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि समस्या देखिएको छ । भीम रावलले लोकतान्त्रिक पद्धतिअनुसार चुनावमा जान आग्रह गरिरहेका छन् । त्यस्तै ओली खेमाकै सुवास नेम्वाङ र ईश्वर पोखरेलबीच सहमति बन्न सकेको छैन । ओली ईश्वरलाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहन्छन् भने नेम्वाङले मानेका छैनन् । 

त्यस्तै ओली विष्णु पौडेललाई महासचिव बनाउन खोजिरहेका छन् भने शंकर पोखरेलले मानेका छैनन् । नेम्वाङ र शंकर पनि ओलीकै हुन् । तर आपसमा विवाद रहेको छ । 

माधवकुमार नेपाललाई छाडेर पार्टीभित्रै संघर्ष गर्ने भनी एमालेमै रहेकाहरुमा रावलले मात्रै अहिले प्रतिकार गरिरहेका छन् । घनश्याम भुषाल र अष्टलक्ष्मी शाक्यले भने ओलीको निर्णयमा सहमति गर्नेतर्फ अगाडि बढेको बुझिएको छ । 

यस्तो परिस्थितिबीच रावल अझै पनि आफ्नो अडान राख्दै उम्मेदवारी दिनेमा छन् । तर बन्द सत्र शुरु हुन सकेको छैन । बन्द सत्रले म्यान्डेट नदिएसम्म उम्मेदवारी प्रक्रियासमेत शुरु हुन सकेको छैन ।

ओलीले धमाधम पदाधिकारीसहित केन्द्रीय सदस्य हुनेको नाम फाइनल गर्न टिपेक्स टाँसिरहेको बुझिएको छ । टिपेक्स लगाउने काम लामो समयदेखि चलिरहेको छ । 

आजै महाधिवेशन सकिएको निर्णय गर्ने बताइए पनि अहिलेसम्म बन्द सत्र नबस्दा भने ओलीले आफूलाई अध्यक्ष स्वघोषणा गरी काठमाडौं फर्केैरै बाँकी काम पूरा हुने त हैन भन्ने आशंका पनि बढेको छ । 

त्यसैगरी माओवादी केन्द्रबाट एमालेमा आएकाहरुमा रामबहादुर थापा बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिने सहमति भएको बुझिएको छ ।

माओवादीबाट आएका तीन दर्जनलाई केन्द्रीय सदस्य बनाउने सम्बन्धमा सहमति भएको बताइएको छ । 

महाधिवेशन प्रतिनिधिहरु भने फाइनल नाम सुन्न आतुर देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ