अन्ततः एमाले महाधिवेशनमा निर्वाचन, रातभर मतदान, यस्तो छ तालिका
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
1.1k
Shares
भरतपुर । नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो ।
यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।
यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र राति ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ ।
मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ । एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो ।
अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए ।
विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका हुन् । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए ।
यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।
एमाले नेता डा. भीमबहादुर रावल र घनश्याम भुषाल निर्वाचनको पक्षमा छन् । उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन् ।
त्यसैगरी विष्णु पौडेल महासचिवमा लड्न खोजिरहेका छन् । ओलीले भने उनलाई उपाध्यक्षमा पठाएर शंकर पोखरेललाई महासचिव बनाउन खोजिरहेका छन् । त्यस्तै सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्ष हुन खोजिरहेका छन् । तर ओलीले भने ईश्वर पोखरेललाई बनाउन खोजिरहेका छन् ।