जागै छ सौराहा, राति २ बजेदेखि शुरु हुँदै एमाले महाधिवेशनमा मतदान
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
1k
Shares
तस्वीर–फाइल ।
सौराहा । अहिले देशको अधिकांश स्थानमा मानिसहरु सुतिसकेका छन् । तर सौराहास्थित नेकपा एमालेको १०औं महाधिवेशन चलिरहेको स्थल भने जागै छ ।
आइतबार नै सकिनु पर्ने महाधिवेशन लम्बिएको छ । त्यतिमात्र हैन रातारात काम भइरहेको छ । आइतबार राति केपी शर्मा ओलीले ३०१ केन्द्रीय समितिका सदस्यहरुको नाम भनेका थिए ।
तर डा. भीमबहादुर रावल सहमतिमा नआए पछि आज राति ९ बजेलाई चुनाव गर्ने गरी कार्यतालिका तय भएको थियो । तर ओलीले प्रयास छाडेनन् । अहिले पनि प्रयास जारी रहेको छ ।
अध्यक्षलगायत पदाधिकारीको चुनाव हुने भए पनि केन्द्रीय सदस्यहरुको लागि सहमति गर्न भने उनी प्रयासरत रहेका छन् ।
सोही सहमतिका लागि भन्दै निर्वाचन समितिले राति २ बजेलाई पो मतदान गर्ने समय तोकेको छ । अहिले राति राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।
केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान शुरु हुने छ ।
उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् ।