arrow

वैज्ञानिक भन्छन्- विश्वकै पहिलो जीवित रोबटले सन्तान जन्मायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
xenobot.jpg

काठमडौं। अफ्रिकी क्लड भ्यागुताको भ्रूणबाट निकालिएका कोष (cell) बाट बनाइएको जीवित रोबटले सन्तान समेत बनाएको वैज्ञानिकहरूले बताएका छन्। भ्यागुताको भ्रुणका हजारौँ कोषबाट बनाइने यो रोबटलाई जेनोबोट (Xenobot) नाम दिएको छ । यसको आकार झन्डै १ मिलिमिटर हुन्छ।

गत वर्ष (सन् २०२०)मा जीवित रोबटका रूपमा मान्यता पाएका जेनोबटहरु समूहमा काम गर्न सक्ने किसिमका छन्। एक किसिमले सूक्ष्म जिवकारुपमा रहेका यी रोबटहरूमा पाचन प्रणाली एवं न्युरोन भने हुँदैन र केही हप्तामै यसमा रहेका कोषहरू छुटिन्छन्, अर्थात् जेनाेबाेटकाे जीवन समाप्त हुन्छ।

जेनोबोटले 'काइनेमेटिक सेल्फ रेप्लिकेसन' पद्धतिबाट नयाँ सन्तानलाई जन्म दिएको वैज्ञानिकहरूले बताएका हुन् । यस्तो प्रक्रियाबाट नयाँ सन्तान जन्मिएको अहिलेसम्म जनावर र बोटबिरुवाहरूमा भने देखिएका थिएन ।

पृथ्वीको सुरुवाती चरणमा अणुहरूबाट नयाँ नयाँ किसिमका अणु बन्नका लागि काइनेमेटिक सेल्फ रेप्लिकेसन पद्धति महत्त्वपूर्ण रहेको मानिन्छ । तर, बोटबिरुवा र जनावरहरूमा बच्चा जन्माउन लैङ्गिक र अलैङ्गिक प्रक्रिया हुने गर्छन् ।

यस अनुसन्धानमा काम गरेका भर्मन्ट विश्वविद्यालयका प्रोफेसर जोस बोनगार्डले जेनेबोटले नयाँ तरिकाले सन्तान जन्माएको बताए । उनको टिमले कोठाको तापक्रममा पोखरीको पानीको प्रयोग गरेर पेट्रिडिसमा जेनेबोट राखेर त्यसमा भ्यागुताको भ्रुणका कोषहरू पनि राखेका थिए।

जेनोबाेट र कोषहरू ठोक्किएर धेरै धुलो भएपछि त्यो धुलो फेरि एकसँगै टाँसिएर एक नयाँ जेनोबोट अर्थात् जेनोबोटकाे सन्तान बनेको प्रोफेसर बोनगार्डले बताए। 

यद्यपि एक जेनोबटले एउटा मात्रै सन्तानलाई जन्म दिन सक्ने देखिएको उनीहरूको अध्ययनले देखाएको छ। यसरी बनेको जेनोबोटको सन्तान कमजोर भएको देखिँदा उसले अर्को जेनोबोट भने बनाउन नसक्ने देखिएको उनले बताए। 

हप्तौँसम्म जीवित रहन सक्ने, डहिडुल गर्न सक्ने भएका कारण मानिसकै कोशिका बाट बनाइएका जेनोबोटहरु भविष्यमा मानिसमा विभिन्न किसिमको उपचारका लागि प्रयोग गर्न सकिने सम्भावना छ । 

यसबाहेक जेनोबोटको अध्ययनले कसरी सानो कोशिकाको समूहबाट जटिल प्रणालीको विकास हुन्छ भन्ने विषयमा जानकारी हासिल हुनसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ