arrow

राप्रपा महाधिवेशन

राप्रपामा तरंग : लोहनी र लिङ्देन एक ठाउँ

लिङ्देनले थापा र जबरालाई भने : मलाई सघाउनुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
lohani.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई नेतृत्वका लागि समर्थन दिएका छन् । राप्रपाको केन्द्रीय नेतृत्व छान्न बुधबारबाट काठमाडौंमा महाधिवेशन शुरु हुँदैछ।

महाधिवेशनको अघिल्लो दिन आज मंगलबार लोहनीले विशेष कार्यक्रम आयोजना गरी लिङ्देनलाई सघाउने घोषणा गरेपछि राप्रपा राजनीति तरंगित बनेको हो ।

लोहनीले जमलस्थित एल्लो प्यागोडा होटलमा आयोजित कार्यक्रमार्फत नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अध्यक्ष कमल थापा र पशुपतिशमशेर जबरालाई आग्रह गरे । उनले अब पुराना अनुहारले पार्टी नेतृत्वका लागि लालसा देखाउन नहुनेसमेत बताए ।

‘अब नयाँ नेतृत्वलाई काम गर्न मौका दिउँ, म अध्यक्षद्धय कमल थापा र पशुपतिशमशेर जबरालाई पनि आग्रह गर्छु, अब पुराना अनुहारबाट पार्टी प्रतिस्पर्धी बन्न सक्दैन, हामीले लालसा नदेखाउँ,’ लोहनीले भने।

अध्यक्ष थापाले भने हिजो सोमबार मात्रै उम्मेदवारी घोषणा गरेका थिए। जबराले भने आफू अब नेतृत्व लिन अघि नसर्ने निकटकाहरुलाई बताइसकेका छन् ।

यसअघि नै लिङ्देनले नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले मंगलबारसमेत आफू उम्मेदवार बन्दैमा कसैले अपमानित बनेको महसुस गर्नु पर्ने आवश्यकता नरहेको भनेका छन्।

अध्यक्ष थापाले आफ्नो उम्मेदवारी घोषणा गर्दै ‘कसको उक्साहटमा आँट गरेको’ भन्दै लिङ्देनलाई प्रश्न गरेकोमा उनले जवाफ दिएका हुन् । 

लिङ्देनले आफ्नो उम्मेदवारी राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा रहेको दाबी गर्दै राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापना पनि अब राप्रपाले गति लिने दाबी गरे ।

उनले ६ महिना भित्र राप्रपा भन्दा बाहिरका राजतन्त्र र हिन्दु राष्ट्र पक्षधरहरुलाई सो अभियानमा आफूले जोड्ने बताउँदै आगामी नेतृत्वका लागि आफूलाई सघाउन अध्यक्ष थापा र जबरालाई औपचारिक आग्रहसमेत गरे ।

राप्रपाको महाधिवेशन बुधबार शुरु भएर १७ मंसिरमा सकिने कार्यतालिका छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी करिब ४५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।

लोहनीका यस्ता छन् अगाडि सारेका सात बुँदा–
१, केही महिना अगाडि मैले रा।प्र।पा को नेतृत्व सहमतिमा पुग्नुपर्छ भन्ने भनाइ राखेको थिएँ । तर यो सम्भव नभए नयाँ पुस्तालाई दिन पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक माध्यमबाट व्यक्त गरेको थिएँ । सोही धारणा अनुरुप रा।प्र।पा को नया नेतृत्वमा रा।प्र।पाका पर्व महामन्त्री तथा माननिय श्री राजेन्द्र लिङ्देनको पक्षमा म उभिएको छ । रा।प्र।पामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो ।

२, म अन्य दुई मेरा मित्र अध्यक्षहरूलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नया नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु ।

३, संविधान भित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति रा।प्र।पा प्रतिबद्ध छ । रा।प्र।पाका कार्यकर्ताहरू देश भक्त छन् र सवै नेपालीको समृद्धिको लागि प्रतिवद्ध छन् । यो प्रतिवद्धतालाई मुल आदर्शको रूपमा लिएर अगाडि बढौँ । नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।

४, मेचीदेखि महाकाली देशको सबै क्षेत्र र कुनाकुनाबाट महाधिवेसनमा सहभागी हुन आउनु भएका प्रतिनिधि साथीहरू पार्टीको सर्वोच्च हुनुहुन्छ । तपाईंहरूको विवेक र निर्णयले पार्टीको भविश्य निर्धारण गर्नेछ । यस परिवेशमा मेरो अनुरोध स्वीकार गर्नु हुनेछ भन्ने आशा गरेको छु ।

५, पार्टीको माहाधिवेशनबाट जे निर्णय हुन्छ, त्यो हामी सबैको लागि शिरोधार्य हुनु पर्दछ, यही प्रजातान्त्रिक विधि र पद्धती हो र पार्टीलाई एकताबद्ध राजनैतिक शक्तिको रूपमा स्थापना गर्ने मुलमन्त्र हो ।

६,  साथीहरू, म विगतका वर्षहरूमा जस्तै भविष्यमा पनि रा।प्र।पाप्रति समर्पित रहनेछु र तपाईंहरूसँग काधमा–काध मिलाएर नेपाल र नेपालीको हितमा काम गर्न सदा सक्रिय रहनेछु।

७, अन्तमा राप्रपाको अध्यक्ष को हैसियतले विगत दई वर्ष जति काम गर्दा म प्रति सहयोग र सद्भाव राख्ने तथा मेरो गल्ती कमजोरी देखाइ आलोचना गर्ने लगायत सबै मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ