arrow

देउवा–सिटौला एलायन्स संकेत 

logo
बाबु नेपाली,
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
deuba-sitaula-new.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक तरङ्ग बदलिँदै गएको छ । अहिलेसम्म कांग्रेसभित्र तीन पक्ष रहेको स्पष्टै छ । २०७२ सालमा भएको १३ औं महाधिवेशनमा तीन समूह यथासक्य प्यानल नै बनाएर खडा भएका थिए । जसअनुसार सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भिडन्त भएको थियो । 

यो महाधिवेशन अगाडि दुई पक्षबीच भिडन्त हुँदै आएकामा पूर्व महामन्त्री सिटौलाले १३ औं महाधिवेशनमा आफ्नो दरिलो उपस्थिति बनाए । त्यतिमात्र हैन सभापतिका लागि भएको भिडन्तमा तीनै जनाले पहिलो चरणको मतदानमा बहुमत ल्याउन नसकेपछि दोस्रो पटक भएको भिडन्तमा सिटौलाले देउवालाई साथ दिएका थिए । 

त्योसँगै देउवाले सहज जित निकाले । उनी निरन्तर सभापति छन् । यही मंसिर २४ गतेदेखि १४ औं महाधिवेशन हुँदै गर्दा केन्द्रमा फेरि एक पटक एलायन्स बन्ने संकेत हुन थालेको छ । यसका आधार भनेका अहिलेसम्म जिल्लामा भएको चुनाव र आजदेखि शुरु भएको प्रदेश अधिवेशनको तालमेल नै हो । 

महाधिवेशन नजिकिँदै जाँदा देउवा र सिटौलाबीचको सहकार्य बढेको छ । जहाँ संस्थापन इतरको बलियो पक्ष (रामचन्द्र पौडेलको जसमा प्रकाशमान सिंह, डा.शशांक कोइराला, डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायतका नेताहरुको पकड रहेको छ) विरुद्ध साझा उम्मेदवार खडा गरेर चुनावमा होमिएको छ र यो क्रम प्रदेशसम्म आउँदा जारी रहेको छ । 

प्रदेश १ सभापतिमा यही देउवा–सिटौला एलायन्सले काम गरेको छ । साझा उम्मेदवार उद्धव थापालाई उठाउने सहमति भएको छ । झापाका थापा सिटौला निकटका हुन् । अर्थात् देशैभरमा देउवा–सिटौला एलायन्स खुल्न थालेको छ । यसरी खुल्दै जाँदा सिटौलाको पकड पनि बलियो बन्दै गएको स्पष्ट हुँदैछ । 

त्यसैगरी बागमती प्रदेशमा पनि सिटौला पक्षका भीमसेन दास प्रधानले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । तर देउवा पक्षका ईन्द्र बानियाँले पनि उम्मेदवारी घोषणा गरेका छन् । यहाँ पनि एलायन्स बन्ने देखिन्छ । त्यसो हुँदा कसले त्याग गर्नु पर्ने हो वा दुवै भिड्ने हुन् त्यो हेर्न बाँकी छ । संस्थापन इतर पौडेल पक्षले जगदीश नरसिंह केसीलाई अगाडि सारेको छ । यदि आपसमा भिड्ने हो भने देउवा–सिटौलाले हार्ने लगभग निश्चित हुनेछ । 

प्रदेशसम्म आइपुग्दा देउवा–एलायन्स खुल्दै जाँदा त्यसअघि मोरङमा पनि त्यो एलायन्स छरपष्टै भएको थयो । उक्त चुनावमा देउवा टिमसँग सिटौला टिम मिसिएको थियो । मोरङमा सभापति जितेका डिकबहादुर लिम्बूलाई रोक्नका लागि देउवा–सिटौला निकटका नेताहरुबीच एलायन्स भएको थियो । भलै पहिले देउवाका लिम्बूले अहिले डा.शेखर कोइरालाको पक्षमा लागेर जिते । तर एलायन्स स्पष्टैसँग भएको हो । डा.शेखरलाई आफ्नो गृहजिल्लामा पनि शाख जोगाउन हम्मेहम्मे परेको थियो । 

काठमाडौंमा पनि संस्थापनसँग सिटौला पक्षका नेता भीमसेनदास प्रधानले तालमेल गरेका थिए । तर संस्थापन इतरको पक्षभित्रका नेता प्रकाशमान सिंहसँग सिटौला पक्षकै मानिएका काठमाडौंमा बलियो पकड भएका गगनकुमार थापाले स्थानीय राजनीतिमा ‘रोल प्ले’ गरेपछि सबुज बानियाँले जितेका थिए । 

बागलुङमा पनि देउवा–सिटौला एलायन्सले काम गर्दा सिटौला पक्षका नेता जितबहादुर शेरचनले सभापतिमा जित हासिल गर्न सफल भए । 

जहाँ देउवा पक्ष कमजोर छ त्यहाँ सिटौला पक्षले साथ दिएको छ र जहाँ सिटौला पक्ष कमजोर छ त्यहाँ देउवा पक्षले साथ दिएको छ । 

संस्थापन र सिङ्गो इतर समूह एक हुन नसकेपछि सिटौलाले पनि आफ्नो पकड बलियो बनाउँदै लगेका छन् । यसको सिङ्गो प्रभाव महाधिवेशनमा पर्ने देखिएको छ । यसले केन्द्रमा पनि प्रभाव पार्ने आँकलन गरिएकोछ । 

तर नेता सिटौला भने एलायन्समा विश्वास गर्दैनन् । उनी आफैंले देउवासँगको एलायन्स स्वीकारेका छैनन् । 

उनी आफू फेरि पनि सभापतिमा उम्मेदवारी दिने सोचमा छन् । तर जिल्लादेखि भएको एलायन्सले भने केन्द्रसम्मकै सहकार्यको प्रशस्त सम्भावनालाई नकार्न सकिन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ