arrow

रात पारेर आएका वन मन्त्री : उद्घाटन गरे, माफी मागे, फर्किए

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
ban mantri.jpg
अध्यारो भएपछि आएका वन मन्त्री यादव बत्ती बालेर उदघाटन गर्दै ।

कावासोती । शनिबार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको लामिचौर उपभोक्ता समितिको नवनिर्मित भवन उद्घाटनको कार्यक्रम तय थियो ।

संघीय सरकारका वन मन्त्री रामसहायप्रसाद यादवले नवनिर्मित भवनको उद्घाटन गर्ने भएपछि आयोजकले तामझामका साथ तयारी गरेको थियो ।

जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, सामुदायिक वनका अध्यक्ष, पत्रकार, आम उपभोक्तालाई दिउँसो २ बजे कार्यक्रमस्थलमा उपस्थित हुन निम्तो आयोजकले दिएको थियो । आयोजकको निम्तो पाएपछि निम्तालुहरु २ बजेको आसपास कार्यक्रमस्थल कावासोती–१३ को गैरी पुगेका थिए । उपस्थिति राम्रै थियो ।

२ बजे आइपुग्ने भनिएका वन मन्त्री साँझको ५ बज्दासम्म पनि आइनपुग्दा कार्यक्रममा आएकामध्ये धेरै नै फर्किए । कार्यक्रम नै नहुने हो कि भन्ने छट्पटीमा थिए लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल सहितका आयोजक ।

काठमाडौंबाट भैरहवा हुँदै पश्चिम नवलपरासीको रामग्राम र पाल्हिनन्दनमा पार्टीको कार्यक्रममा सहभागी भएर उद्घाटनस्थलमा मन्त्री यादव आइपुदा सांझको ६ बजिसकेको थियो । 

मन्त्रीलाई आफ्ना समस्या सुनाउन र मन्त्रीका कुरा सुन्न आएकामध्ये थोरै मात्रै अन्तिमसम्म रहेका थिए । अँध्यारो भएपछि आएका मन्त्री यादवले बत्ती बालेर भवनको उद्घाटन गरे र कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको कार्यक्रमका कारण र दाउन्नेको जामको कारणले ढिला भएको भन्दै माफी मागे । मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न आफूले काम गर्ने बताए र आफ्नो मन्तव्य टुंग्याए । अनि लावालस्करसहित फर्किए ।

निकुञ्जबाट निस्कने वन्यजन्तु, निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली लगायतका कुराले मध्यवर्ती क्षेत्र भित्र बस्ने नागरिकलाई परेको सम्स्याको विषयमा मन्त्रीले केही बोल्छ्न् भनेर अन्तिमसम्म कुरेर बसेकाहरु भने निराश भएर फर्किनु पर्यो ।

मन्त्रीले दिनभर कुराएर माफी मात्रै मागेर फर्किएपछि स्थानीयले आक्रोश सँगैसँगै दुःख व्यक्त गरेका छ्न् । ‘समय दिएर समयमा त आउनु भएन आएर माफी मात्रै मागेर जानु बरु आउँदै नआएको भए हुन्थ्यो’, कार्यक्रममा सहभागी एक जना सामुदायिक वनका अध्यक्षले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ