arrow

मन्त्री र सांसदसँग पोखरेलीका गुनासा नै गुनासा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
Jiwan Baral.jpg

पोखरा । माइक समातेका विष्णु बास्तोलाले फ्याट्ट भने, ‘यस्तो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’ हुन पनि नेताहरू आउने, सांसदहरू आउने, मन्त्रीहरू आउने कार्यक्रम त भइरहन्छन् । उनीहरू भाषण गर्छन् जनता सुन्छन् । 

शनिवार पोखरा-१९ पुरन्चौरमा भने त्यस्तो भएन । जनताले जिज्ञासा राखे, मन्त्री र सांसदले जवाफ दिए । त्यसैले विष्णुले भनेका हुन्, ‘यस्तो कार्यक्रम अहिलेसम्म भएको थिएन ।’ 

आउटलाइन मिडिया काठमाडौँले सार्वजनिक सरोकारका विषयमा छलफल गर्न शनिवार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवन, प्रदेश सांसदहरू इन्द्रलाल सापकोटा र पियारी थापालाई पुरन्चौर चुरुंगामा जनतासँग आमनेसामने उभ्याएको थियो ।
 
स्थानीयले लामाचौर-माछापुच्छ्रे ग्रामीण सडक पहिरोले भत्काएर बिजोग बनाएको समस्या जोडतोडका साथ उठाए । ‘कुन बेला कुन गाडी खसेर कहाँ पुग्ने हो भनेजस्तो छ,’ लालीगुराँस आमा समूहकी अध्यक्ष तारा पौडेलले भनिन् । 

उक्त सडक गएको बर्खामा पहिरोले भत्काएको थियो । मर्मतका लागि स्टिमेट गर्दा एक करोड रुपैयाँ लाग्ने देखिएको तर बजेट ५० लाख रुपैयाँभन्दा नभएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले सुनाए । अर्थमन्त्री बरालले सडक मर्मतका लागि बजेट अभाव हुन नदिने वचन दिए ।
 
‘अहिले ५० लाख रुपैयाँ छ भने त्यसैबाट काम सुरु गर्नोस्, एक करोड हैन डेढ करोड रुपैयाँ चाहिन्छ भने पनि हालिन्छ, छिटो छरितो सम्पन्न गर्न मेरो पहल रहन्छ,’ मन्त्री बरालले भने । 

गणेशप्रसाद बास्तोलाले माछापुच्छ्रे ग्रामीण सडक उत्तरी भेगका लागि थेग्ने सडक भएको हुँदा त्यो बाटो बनाए अरू विकास बिस्तारै हुने विचार राखे ।

प्रदेश सांसद इन्द्रलाल सापकोटाले गण्डकी सरकारले एक निर्वाचन क्षेत्र एक सडक, पालिकालाई प्रदेश राजधानीसँग जोड्ने रणनीतिक सडकहरू बनाएको सुनाए । 

‘जिल्ला सदरमुकाम छाडेर पिच बाटो देख्नै नपाइने अवस्थामा अब त्यो अवस्था रहेन, कतै पिच भइसकेको छ, कतै हुँदै छ,’ सापकोटाले भने ।
 
प्रदेश सांसद पियारी थापाले महिला सशक्तीकरणका लागि ‘प्राइभेट फर्म दर्तासम्बन्धी’ ऐनमा महिलालाई फर्म दर्ता र नवीकरणमा छुट हुने व्यवस्था गरेको जानकारी दिइन् । 

बाल अधिकारसम्बन्धी कानुन पनि बन्ने चरणमा रहेको जानकारी उनले दिइन् । सङ्घीयता नेपालको अर्थतन्त्रले नधान्ने विचार पनि उनले व्यक्त गरिन् ।  

विन्ध्येश्वरी माविका प्रअ श्रीराम आचार्यले दरबन्दी अपुग रहेको बताए । ‘महिला शिक्षक सुत्केरी बिदामा बस्दा वैकल्पिक शिक्षक राख्ने क्षमता पनि विद्यालयसँग हुँदैन,’ उनले भने, ‘यो समस्या हाम्रो मात्रै होइन, देशैभरि छ ।’ 

छात्र सागर बास्तोलाले पुस्तकालयको अभाव रहेको सांसदहरूलाई सुनाए । नारायण अधिकारीले बाउसाले खनेका बाटो भत्किएर गाडी चल्न छाडेको सुनाए । 

युवा वसन्तराज बास्तोलाले युवालाई उद्यमी बनाउन गण्डकी सरकारले के कस्तो नीति ल्याएको छ भन्ने जिज्ञासा राखे ।

सरस्वती बास्तोलाले स्वास्थ्य चौकी जाँदा सिटामोल पनि नहुँदा आफूहरूलाई महानगरको बासिन्दा होइनौँ कि भन्ने लागेको अनुभूति साटिन् । 

मित्रलाल बास्तोला, विष्णु बास्तोला, जगन्नाथ बास्तोला, हर्कराज आचार्य, भगवान् बास्तोला, गोमा बास्तोला, शालिग्राम बास्तोला, विजय गौतम, केशवराज बास्तोला लगायतले गाउँघरका समस्या सांसदहरूलाई सुनाएका थिए ।

आउटलाइन मिडियाका सरोज दाहालले पत्रकारले जनताका प्रश्न र समस्याबारे रिपोर्टिङ गर्न सकिने हुँदा हुँदै जनतासँग सामुन्ने राखेर सांसदसँग छलफल गर्दा अझ प्रभावकारी हुने भएकाले कार्यक्रम आयोजना गरेको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ