- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चालीस वर्षअघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसीको सजाय सुनाइयो । फाँसीको सजाय सुनाउनुअघि भुट्टोको पक्षका न्यायाधीशलाई निकालियो र पाँच जना नयाँ सैनिक शासक जियाउल हक समर्थक न्यायाधीशहरु नियुक्त गरियो । भुट्टोको परिवारले गरेको अपीललाई बिना निर्णय रोकेर राखियो । त्यतिबेलासम्म भुट्टो पक्षमा ५ र विपक्षमा ४ थियो ्र भुट्टोको पक्षमा निर्णय लिने एक न्यायाधीश सेवानिवृत्त भएपछि भुट्टोको विपक्षमा निर्णय सुनाइयो । अन्त्यमा उनलाई झुन्ड्याइयो । हतियारको अगाडि जनमत कमजोर हुनपुग्यो । पाकिस्तानमा प्रजातन्त्र पटक पटक अपहरित भयो । अझै पनि पाकिस्तानमा कुनै दिन सैनिक शासकले शासन सत्ता हातमा लिएको समाचार आयो भने अनौठो र नौलो मानिदैन ।
जुल्फिकर अली भुट्टोलाई मृत्युदण्डको घोषणासँगै लिबियाका तत्कालीन शासक मोहम्मद गद्दाफीले भुट्टोलाई राजनीतिक शरण दिने घोषणा गरेर जहाज पठाए । एक हप्तासम्म सो जहाज पाकिस्तानमा बस्यो तर जिया उल हकले भुट्टोलाई पाकिस्तानबाट निस्कन दिएनन् ।
एउटा प्रजातन्त्रवादी नेतालाई राजनीतिक शरणको घोषणा गर्ने, जहाज लिन पठाउने गद्दाफीले आफ्नो शुरुआती कार्यकालमा लिबियामा मानव अधिकार मात्रै हैन महिला अधिकारमा पनि उल्लेख्य काम गरे , विदेशी दबाबलाई निस्तेज गरेर आर्थिक प्रगतिमा लोभलाग्दो उपलब्धी हासिल गरे । तर समय क्रमसँगै तिनै गद्दाफी एउटा क्रुर शासकको रुपमा विश्व सामु चिनिन पुगे । उनकै कार्यकालमा लिबियामा गृहयुद्ध शुरु भयो । ठूलो संख्यामा जनता मारिए । आतंकवादी संगठनहरुको संरक्षक भएको आरोपमा टनलभित्र लुकेको अवस्थामा उनी मारिए ।
भुट्टो र पाकिस्तानको प्रजातन्त्रलाई मृत्युमा पुर्याउने जियाउल हकलाई भुट्टो स्वयंले जेनरलको रुपमा नियुक्त गरेका थिए । गद्दाफीलाई शासक बनाउने बाटो पनि प्रजातन्त्र र त्यस अन्तर्गतको निर्वाचन नै थियो । प्रजातन्त्रले स्वतन्त्रता त दिलाउँछ तर त्यसको दुरुपयोग हुँदा कयौं तानाशाहहरु पनि जन्माएको छ । स्वतन्त्रताको उपयोगको नाममा कहिले अराजक क्रुर सत्तामा पुग्छ कहिले अराजनैतिक, गैर जिम्मेवार ब्यापारी निर्वाचित हुन पुग्छ । प्रजातन्त्रकै जगमा कहिले धार्मिक अतिवाद त कहिले रंग, लिंग, जात हावी हुन्छ ।
तानाशाहहरु प्रजातन्त्र र जनाताको स्वतन्त्रतालाई दबाउन प्रायः राष्ट्रियताको विषय उठाउँछन् । आफूलाई राष्ट्रवादी भएको पुष्टि गर्ने प्रयत्न गर्छन् । नेपालकै सन्दर्भमा पञ्चायतले आफ्ना विरोधि, प्रजातन्त्रवादीहरुलाई अराष्ट्रिय तत्व भनेर समाचार सम्प्रेषित गर्न लगाउँथ्यो । राणाकालमा राणाहरुले पञ्चायत स्थापना गर्ने र प्रजातन्त्रको हत्या गर्ने र राजालाईसमेत अराष्ट्रिय तत्व भनेर सत्ताच्यूतको प्रयत्न गरेको थियो ।
नेपाली कांग्रेसका संस्थापक जननायक वीपी कोइरालाले राष्ट्रियताको सन्दर्भमा आफ्नो विचार राख्दै तरुण पत्रिकामा लेखेका थिए, ‘राष्ट्रियतालाई जनताको सन्दर्भमा नसोची एउटा भूभागको अर्थमा लिन ता ल्याउँ तर राष्ट्रियता भन्ने शब्दलाई कुनै धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थ सिद्ध गर्ने र जनताको अधिकार अपहरण गर्ने हतियार बनाउन सक्छ ।’
उनको यो लेख प्रकाशित भएको ५० वर्ष बितिसक्दा पनि यो लेखको सान्दर्भिकता घटेको छैन बरु अहिलेको पुस्ताले त्यसलाई टड्करो रुपमा अनुभव गर्न सक्छ । पछिल्लो आम निर्वाचनमा राष्ट्रियताको मुद्दा बढो जोडतोडसँग देखियो । नाकाबन्दीको बिषयले एक पात्रलाई नेपालको सबैभन्दा राष्ट्रवादी नेताको रुपमा चित्रित गराउने प्रयत्न भयो । त्यो नियोजित प्रचारले ती पात्रको हकमा सकारात्मक परीणाम दिलायो । तर राष्ट्रियताको विषयले पूर्ण बहुमत प्राप्त सरकार प्रमुख, प्रजातन्त्रप्रति असहिष्णु बन्दै गए र प्रजातन्त्रप्रति उनको विश्वास माथिनै प्रश्न गर्न थालियो । पार्टीको आन्तरिक चुनावपछि त उनी नेपाली प्रजातन्त्रका लागि झन् ठूलो बाधक पात्रका रुपमा देखिन पुगेका छन् । एउटा तानाशाहको उदय हुँदै गरेको अनुभव आम जनताले गर्न सक्छन् ।
वीपीले त्यही लेखमा लेखेका छन् ‘देश वा राष्ट्र भनेको भूगोल होइन । माटो हैन । यो यथार्थमा जनता हो जनताको अधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो । नेपालका जनता यहाँबाट लोप भए भने सही अर्थमा नेपाल लोप हुन्छ तर भूगोल रहन्छ ।’
संक्षेपमा जनताको अधिकार कुन्ठित गरेर राष्ट्र बलियो हुन सक्दैन । त्यो बेलामा राष्ट्रियता केवल राजनीतिक नारामा मात्र सीमित रहन्छ ।
समाजवादको लक्ष देशको आर्थिक उन्नन्ति मात्रै भन्ने हो भने त्यहाँ पनि जनताका अधिकारहरु कुण्ठित हुन सक्छन् । प्रजातन्त्र बिनाको आर्थिक विकास स्थायी हुँदैन । समाजवादले ल्याउने आर्थिक परिवर्तन चाहे त्यो उत्पादनका साधनहरुको विकासले होस् अथवा औद्योगिक प्रगतिले होस्; जनता केन्द्रमा हुनुपर्छ । असमानता भएको देशको प्रजातन्त्र सधैं अस्थिर हुन्छ भन्ने नेपाल र विश्वको अन्य देशको अनुभवले पनि देखिएको छ । समाजवाद शब्दलाई नाराका रुपमा संसारका प्रायः सबै मुलुकमा प्रयोग भएका छन् । कम्युनिष्ट चीन होस् वा प्रजातन्त्रवादी भनिएका पश्चिमा राष्ट्र हुन् सबैले समाजवाद शब्दलाई आफ्नो सुविधाअनुसार उपयोग गरेका छन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि विभिन्न तहका निर्वाचनहरु हुँदै छन् । कांग्रेसका नेता कार्यकर्ताले मानवीय र नैतिक मूल्यहरुलाई आत्मसाथ गर्न सकेनन् भने त्यो कोरा कागजी सिद्धान्तमा सीमित रहन्छ । युवा वा नयाँ पुस्ताको विषय केवल बुद्धि बिलासमा सीमित रहन्छ । आज जति पनि नयाँ पिँढीको नेतृत्वमा आउने विषय उठेको छ त्यो वर्तमान नेतामा देखिएको मानवीय र नैतिक ह्रासको उपज हो । कमजोर नैतिक धरातलमा उभिएर नेताले देश र जनतालाई सही बाटो देखाउन सक्दैन । आदर्श समाज बनाउन सक्दैन । वास्तवमा प्रजातन्त्रले नयाँ र उन्नत समाज निर्माणको लागि मार्ग प्रशस्त गर्ने हो । समाजले विभिन्न सोचहरु जन्माउँछ । सोचबाट नयाँ सिर्जनाहरु निस्कन्छन् । सबैको सोच एउटै हुँदैन । ती सबैलाई मान्यता दिँदा मात्र वास्तविक समाज निर्माण हुन सक्छ । नयाँ सोचलाई मान्यता दिनु भनेको नयाँ सिर्जनाका बाटाहरु खोल्नु पनि हो । प्रजातन्त्रले ती अनेकन बाटो खोल्न रोक्दैन तर निरंकुशताले बाटाहरु बन्द गरिन्छन् ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादको ब्यानर तल उभिएका लाखौं कांग्रेसी कार्यकर्ता नयाँ नेतृत्व चयन गर्दैछन् । कम्युनिष्टले भन्ने समाजवादसँग कांग्रेसले अवलम्बन गर्ने प्रजातान्त्रिक समाजवादको भिन्नतालाई कार्यकर्ता स्वयंले बुझ्न सकेनन् र जनतालाई बुझाउन सकेनन् । राष्ट्रियता र प्रजातन्त्र कसरी एक अर्कामा जोडिएका छन् भनेर बताउन सकेनन् भने मूल नेतृत्वको मुहार फेरिए पनि मुलुकको राजनीतिक र आर्थिक मुहार फेरिन असम्भव छ । विचारको अस्पष्टताले स्वाभाविक रुपमा नेतृत्व चयनलाई प्रभावित गर्छ ।
माथी भनिए जस्तै नैतिक र मानवीय मूल्य बिनाको नेतृत्वबाट कार्यकर्तालाई आफ्नो पार्टीको वादमा स्पष्ट हुने गरी प्रशिक्षित गराउने भन्दा आफूप्रति इमानदार बनाउने प्रयत्न गरिन्छ । प्रशिक्षण बिनाको ठूलो भीडमा सबै उमेर, जाति, लिङ्ग, धर्मको प्रतिनिधित्व गर्ने भए पनि सुविचारित नहुँदा समग्र राष्ट्र र पार्टीका लागि पुँजीजी बन्न सक्दैन । ती त केवल धुर्तहरुले नेतृत्व लिने कानूनी प्रकृयाको वैध साक्षी मात्र बन्न सक्छन् ।