arrow

लुम्बिनीले जित्यो यू–१९ एक दिवसीय क्रिकेटको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
u-19-lumbini-final.gif

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव तीन ओभरमा ९९ रनमै समेटियो । 

सुदूरपश्चिमका लोकेश बमले २५ रन बनाए । त्यस्तै कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रनको योगदान दिए । लुम्बिनीका अजय चौहानले पाँच विकेट लिए । पाँच दशमलव तीन ओभर बलिङ गरेका अजयले २० रन खर्चिए । त्यस्तै दुर्गेश गुप्ताले तीन तथा मोहमद हुसैनले दुई विकेट लिए । 

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउनुअघि २१२ रनको योगफल खडा गरेको थियो । 

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाएका थिए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रम कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।

सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिएका थिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले एकरएक विकेट हात पारेका थिए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच लुम्बिनीका अजय प्रधान, बेस्ट बलर लुम्बिनीकै मोहम्मद हुसेन, बेस्ट ब्याटर देव खनाल र प्लेयर अफ दि टुर्नामेन्ट लुम्बिनीकै मोहम्मद हुसेन भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ