arrow

महिला हिंसा न्यूनीकरण सम्बन्धी कानून बनाउँछौं : मन्त्री थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
Bindu kumar thapa.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरण सम्बन्धी कानून बनाउनतर्फ आफू अग्रसर रहेको बताएका छन् ।

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सोमबार आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानून निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागि परेको उल्लेख गरेका हुन् ।

उनले शिक्षा नै महिला हिंसा न्यूनीकरणको आधार भएको बताए । ‘शिक्षा नै महिला हिंसा न्यूनीकरणको आधारस्तम्भ हो । शिक्षित समाजमा हिंसात्मक गतिविधि पनि कम हुने गर्छन् । त्यसैले सबैमा शिक्षाको पहुँच हुनुपर्ने आवश्यकता छ । जसमा हामी प्रतिबद्ध छौं’, उनले भने । 

पछिल्लो समय महिलाहरु व्यवसायिक क्षेत्रमा समेत सक्रिय रुपमा लाग्दा सामाजिक विकृति-विसंगति केही हदसम्म भएपनि हराउँदै गएको मन्त्री थापाको भनाइ छ । 

‘महिलाहरु पनि सक्षम छन् भन्ने सन्देश समाजमा प्रवाह भइरहेको छ । समाजिक र राजनीतिक रुपान्तरणमा महिलाहरुको भूमिका अब्बल साबित भएको छ । सरकारले महिलाहरुलाई सहजै व्यवसाय गर्ने सजिलो होस् भन्दै सुलभ ब्याजदरमा विना धितो कर्जा उपलब्ध गराउने कार्यले सकरात्मक सन्देश प्रवाह गरेको अवस्था छ’, उनले भने । 

महिला हिंसा हुँदा लुकाउने प्रवृतिले समाजमा अपराध गर्नेहरु बढ्दै गएको र काम भन्दा कुरा बढी गर्ने समस्याबाट समाज ग्रसित भएको अभिव्यक्ति मन्त्री थापाको थियो । यस्तो समस्यालाई समाधान गर्दै सभ्य समाज निर्माणमा सबै लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याए । 

गण्डकी प्रदेशकी सांसद मीना गुरुङले द्वन्द्वकालीन समयदेखि आजसम्म महिलाहरु अधिकारका लागि लडिरहेको बताइन् । जबसम्म महिलाहरुको एउटै आवाज हुँदैन तबसम्म अधिकारबाट वञ्चित भइराख्नुपर्ने भनाई उनको थियो । सांसद गुरुङले देशमा महिला अधिकारका कानून निर्माण भएता पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको बताइन् । 

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महिला हिंसा न्यूनीकरणका लागि शिक्षा महत्वपूर्ण भएको बताए । शिक्षित समाजमा महिला हिंसाका गतिविधि शून्य रहेको तर्क उनको थियो ।

भट्टराईले घरका अभिभावकले छोराछोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए । आफूले पर्यटन व्यवसायको ३० वर्षको अनुभवमा महिलाहरुको आकर्षण सोचेजस्तो नपाएको बताउँदै यसतर्फ ध्यान पुर्याउन आग्रह गरे । 

टेवानकी संस्थापक अध्यक्ष तथा सफल पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले परम्परा र संस्कृतिमाथि औंला नउठाई आइपर्ने अवरोध र बाधालाई उजागर गर्नुपर्ने आवश्यकता अहिलेको भएको बताइन् । 

हिसांत्मक घटनाले सम्पत्तिको क्षति हुनु, शारीरिक कमजोरी हुँदा उत्पादकत्व घट्नु, हिंसामा परेका महिलाहरुले लिएको मानसिक चिन्तनले काममा बाधा आउनु सबै व्यवसाय क्षेत्रमा देखिएका महिला हिंसाका उदाहरण भएको उनको भनाइ थियो । 

पर्यटनको क्षेत्रमा महिलालाई प्रदर्शन गर्ने प्रवृति मौलाउँदा हिंसात्मक गतिविधिको न्यूनीकरणमा समस्या आइरहेको तर्क उनको थियो ।

पोखरा उद्योग वाणिज्य संघकी सदस्य शोभा गौतम र महिला व्यवसायी विन्दु कोइराला सुवेदी लगायतले आफ्नो अनुभव सुनाएका थिए ।

संस्थाकी अध्यक्ष रेनु थापाको अध्यक्षतामा भएको. कार्यक्रमको संचालन शोभा न्यौपाने पाण्डेले गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ