arrow

म पार्टीको लाइनमा मात्र होइन साझा मुद्दामा काम गर्न चाहन्छु : उदय शम्शेर राणा (अन्तर्वार्ता)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
udaya-samser-NC.jpg

उदय शम्शेर राणा नेपाली कांग्रेसका बौद्धिक युवा नेता हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर भूमिका निर्वाह गरेको परिवारमा हुर्किएका उनी कांग्रेसको पूर्णकालिन राजनीतिमा सक्रिय छन् । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा रहेका उनी सुदृढ कांग्रेस बनाउन आफूसँग महत्वकांक्षी योजनाहरु रहेको सुनाउँछन् ।

भारतको नयाँ दिल्लीमा रहँदा नेपालमा प्रजातन्त्र प्राप्तीका लागि विद्यार्थी आन्दोलनमार्फत शसक्त भूमिका निर्वाह गरेका राणा नेविसंघ दिल्लीको अध्यक्ष समेत बनेका थिए । भारतमा बसेर उच्च शिक्षा लिएका राणा पछि अमेरिकामा पढाइसँगै राम्रो जागिर छाडेर राजनीतिका लागि नेपाल फर्किका हुन ।

नेपालमा आएपछि उनी नेपाल तरुण दल लतिलपुर सभापति साथै केन्द्रीय सभापति भएर कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै कांग्रेसको राजनीतिमा स्थापित बनेका हुन् । अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको निर्वाचित उपाध्यक्ष भइसकेका उनी अन्तर्राष्ट्रिय सम्बन्धमा विशेष दख्खल राख्छन् । संविधान सभा सदस्य तथा अर्थराज्यमन्त्री समेत भइसकेका उनले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियानलाई तिब्रता दिएका छन् । महाधिवेशनपछि कांग्रेसको भूमिका र दायित्वका विषयमा हामीले छोटो कुराकानी गरेका छौं ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यमा तपाईको उम्मेदवारी के का लागि हो ?

खासमा भन्ने हो भने पार्टीमा अब पढेलेखेका र सक्षम युवाको खाँचो छ । हाम्रो अहिलेको केन्द्रीय समितिमा रहेका साथीहरु सिंगो पार्टीको भन्दा पनि लाइनको धारणा राख्ने र सोही अनुसार मात्र काम गरिरहेको पाएको छु । तर म लाइनको पक्षमा भन्दा पनि पार्टीको एजेन्डा स्थापित गराउने पक्षमा छु । विशेषत म पार्टीको अर्थनीति र परराष्ट्र नीतिका क्षेत्रमा केही काम गर्न इच्छुक छु । यी विषयमा हाम्रो केन्द्रीय समितिमा ज्ञान भएका नेताहरुको अभाव हुँदा बुद्धीजिवीहरुलाई जिम्मेवारी दिनुपर्ने अवस्था छ । यसमा म खटेर काम गर्न चाहन्छु ।

त्यसका अलावा केही मूल परिवर्तनहरु पार्टीमा गर्नुपर्ने देखिन्छ । विशेषत क्रियाशील सदस्यताको विवाद महाधिवेशनको मुखमा होइन डेढ बर्ष अघि नै टुग्याउनुपर्ने आवश्यक्ता ठानेको छु । यसमा मेरो भूमिका रहन्छ । अहिलेको २१औं शताब्दीमा हाम्रो संगठनलाई व्यवसायिक बनाउनु जरुरी छ । हाम्रो पार्टी 'मासवेस' पार्टी हो । जनताले भोट हालिहाल्छन नि भनेर ढुक्क हुनुहुँदैन । त्यसैले पार्टीलाई संस्थागत र व्यवसायिक रुपमा व्यवस्थापन गर्न रुचाउँछु । कम्युनिष्टहरुले सुनलाई पित्तल बनाएर बेचिरहेका छन् तर हामीले सुनलाई सुन भनेर बेच्न सकिरहेका छैनौं । त्यसैले पार्टीको प्रचार नीतिलाई परिवर्तन गरेर डिजिटलमैत्री बनाएर अघि बढाउन मेरो भूमिका रहन्छ ।

नयाँ विधानले व्यवस्था गरेको संरचना र युवाहरुको सहभागिता तथा भूमिकालाई कसरी हेर्नुभएको छ ?

विधानलाई सम्मान गर्न चाहन्छु । धेरै युवाहरुले सहभागिता जनाउन पाउने भएका छन् । पुरानो विधानजस्तो पदाधिकारीमा युवाहरुले ठाउँमा नपाउने अवस्थालाई नयाँ विधानले चिरेको छ । समावेशीका हिसाबले सबैको सहभागिता पार्टीमा देखिन थालेको छ । त्यसका कारण पार्टीको विधान समावेशी छ । यसलाई कार्यान्वयन र पालना हाम्रो प्रमुख दायित्व हुनुपर्छ ।

महाधिवेशनको मुखमा पार्टीभित्र देखिने विवादले संगठनलाई नै कमजोर बनाउने देखिन्छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

सँधै विवाद मात्र गरेर हुँदैन । कतिपय अवस्थामा संगठनप्रति जिम्मेवार बनेर त्याग गर्नुपर्छ । अहिलेको विवाद केन्द्रको मात्र भूमिका छ भनेर दोष लगाउन मिल्दैन । स्थानीय नेता र कार्यकर्ताहरुको भूमिका र परिस्थितिका कारण पनि विवाद देखिने गरेको छ । त्यसैले एउटा क्षेत्र र जिल्लाका कारण महाधिवेशन प्रभावित हुनु हुँदैन । 

महाधिवेशनलगत्तै राष्ट्रिय निर्वाचनहरु गर्नुपर्ने बाध्यता छ, यसमा पार्टीको भूमिका कस्तो हुनुपर्छ ?

विशेषत जतिसक्दो चाँडो केन्द्रको निर्वाचन गर्नुपर्ने अवस्था छ । अहिले नेकपालाई जनताले बहुमत दिएका हुन् । उनीहरुलाई म्यान्डेट दिएको हो । अहिले बाध्य भएर शेर बहादुर देउवा प्रधानमन्त्री बन्नुभएको हो । लोकतान्त्रिक व्यवस्थामै प्रहार हुन थालेपछि कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्ने बाध्यता बनेको हो । परिस्थितिले देउवा प्रधानमन्त्री बन्नुपर्ने अवस्था आयो । यो रहर होइन बाध्यता हो । त्यसैले मुलुकलाई सुदृढ र समृद्ध बनाउन ‘अर्ली इलेक्सन’ हुनुपर्छ ।

कोभिडको महामारी साथै लकडाउनका बेला र मुलुकको व्यवस्थापन जोगाउन कसले कति भूमिका निर्वाह गर्यो भनेर परीक्षण गर्न अर्ली इलेक्सन जरुरी छ । कांग्रेसले चुनावका लागि सोही अनुसारको रणनीति बनाउनु पर्छ । महाधिवेशनले केही तिक्तताहरु आए भने पनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ