arrow

बुढानिलकण्ठ बैठक

पदाधिकारी टुङ्गाउन देउवालाई सकस : कसले कुन पदमा राखे दाबी ?

logo
एम गौतम
प्रकाशित २०७८ मंसिर २२ बुधबार
deuba-pm-parliament-house.jpg

काठमाडौं। नेपाली कांग्रेस भित्रको संस्थापन पक्षलाई पनि पदाधिकारीको उम्मेदवार तय गर्न सकस परेको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बुधबार बिहान ११ बजेबाट शुरु बैठकमा पदाधिकारीका लागि धेरैले आकाङ्क्षा राखेपछि बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा सभापति देउवाले आकाङ्क्षीहरूको महाधिवेशन लक्षित मनसाय बुझेका थिए।

‘सभापति ज्यूले महाधिवेशनमा कसको केमा उठ्ने इच्छा छ भनेर राय माग्नु भयो, सबै नेताहरूले आआफ्नो कुरा राख्नु भएको छ, फेरी छलफल होला,’ कांग्रेस नेतृ डिला सङ्ग्रौलाले बैठकपछि हाम्रा कुरासँग भनिन्।

संस्थापन समूहबाट उम्मेदवारका आकाङ्क्षीहरूसँग भएको छलफलमा पदाधिकारीमा धेरै जसो नेताहरूले इच्छा राखेका छन्। उम्मेदवार बन्ने इच्छा अरू पदमा भन्दा धेरै महामन्त्री र सहमहामन्त्रीमा आएको छ।

‘उपसभापतिमा धेरै नेताहरू बोल्नु भएन, गच्छदारजीले मलाई उचित जिम्मेवारीमा समेट्नुस् भन्नु भयो, पूर्ण दाइ बोल्नु भएन, महामन्त्री र सहमहामन्त्रीका लागि धेरैको आवाज आयो,’ बैठकबारे जानकारी दिँदै नेता मीन विश्वकर्माले भने।

पहिलो पटक संशोधित विधानको कार्यान्वयन हुन लागेकाले समेत यस पटक विधान अनुसार नै कांग्रेसमा धेरै पदाधिकारी हुन्छन्। कांग्रेसको विधानमा सभापति, दुई उपसभापति, महामन्त्री दुई र सहमहामन्त्री आठ जना रहने व्यवस्था छ। 

कसको दाबी कुन पदमा ?

हाम्रा कुरालाई प्राप्त सूचना अनुसार बैठकमा उपसभापति विजयकुमार गच्छदारले इच्छा देखाएका छन्। उनले सभापतिबाहेकमा आफूलाई ‘म्यानेज’ गर्न सभापति देउवालाई भनेका छन्। कांग्रेस विधानमा दुई जना निर्वाचित उपसभापतिको व्यवस्था छ।

यसै गरी महामन्त्री पदका लागि हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरू बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्माको इच्छा व्यक्त भएको छ।

यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेसीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला सङ्ग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन्।

यसै गरी दलिततर्फबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा, मुस्लिमतर्फबाट अतरकमाल मुसलमान र फरमुल्लाह मन्सुरले सहमहामन्त्रीले दाबी गरेका छन्।

यस्तै रामजनम चौधरीले थारु समूहतर्फबाट, महेन्द्र यादवले मधेसीतर्फबाट सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन्।  नेता रमेश लेखकले भने केही खुलाएका छैनन् ।

नेता विश्वकर्माका अनुसार बैठकले प्रदेश अनुसारको नाममा छलफल गर्ने र शीर्ष तहमा नाम पठाउनेसमेत निर्णय गरेको छ।

‘प्रदेश वाइज नै सात वटै प्रदेशबाट नाम बारे छलफल गर्ने भन्ने सहमति भएको छ, प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई आआफ्नो प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम दिन भनिएको छ,’ विश्वकर्माले अघि भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ