arrow

किसान दानाको अण्डा बिक्री डिपो पोखरामा पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
dana.jpg

पोखरा । दाउन्ने समूहको किसान दाना उद्योगले सङ्कलन गर्ने अण्डा विक्रीका लागि आठौँ डिपो पोखरामा शुभारम्भ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २ बागलुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले उद्घाटन गरे ।

घरघरमा अण्डा पुर्‍याउने उद्देश्यका साथ पोखरामा डिपो सञ्चालन गरेकोमा खुसी व्यक्त गरे । 

किसान दाना उद्योग प्रालिका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौँ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यका साथ काम थालिएको बताए । 

दाउन्ने समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोलट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग लगायतका उद्योग र उत्पादनमा लगानी रहेको जानकारी दिँदै उनले समूहले नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य राखेको बताए ।

उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलले देशभर ३० भन्दा बढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पुर्‍याउने लक्ष्य लिइएको जानकारी दिए । 

उनका अनुसार उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ स्थित दाउन्ने एग्रोफार्ममा दैनिक ६५० पेटिसम्म अण्डा सङ्कलन हुने गरेको छ भने उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ६५० पेटी अण्डा उत्पादन हुने गरेको छ । 

डिपो नभएका शहरहरुमा पनि स्थानीय डिलरमार्फत अण्डा पुर्‍याइएको जानकारी दिँदै उनले सोझै घरदैलोसम्म पुर्‍याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताए । 

उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौंको पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुसी, नयाँ बजार, इटहरीमा बिक्री केन्द्र खोलेको र काठमाडौंकै नैकाप र वनस्थलीमा पनि थप दुई वटा डिपो खोल्ने उक्त अवसरमा जानकारी दिइयो ।

स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पुर्‍याउने उद्योगको लक्ष्य रहेको र काठमाडौँसँगै नेपालगन्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगन्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गरिँदै आइएको पोखरेलले बताए ।

हाल तीन लाख हाराहारी कुखुरा पालेको यस समूहले यो सङ्ख्या आठ लाख पुर्‍याउने लक्ष्य लिइएको निर्देशक द्रोण लामिछानेले जानकारी दिए । 

अहिले दुई अर्ब भन्दा बढी लगानी भइसकेको र पूर्ण रूपमा लक्ष्य अनुसार कुखुरा पाल्दै गर्दा चार अर्ब ५० करोड हाराहारी लगानी पुग्ने उनको भनाइ छ ।

उद्योगले ह्याप्पि एग नामबाट ब्राण्डीङ गरि आकर्षक प्याकिङमा काठमाडौंमा बिक्री गर्दै आएको र पोखरा तथा सुर्खेतमा पनि ब्राण्डिङ गरेको ह्याप्पी एग बिक्री गर्ने लामिछानेले जनाकारी दिए ।

कार्यक्रममा नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरी, पूर्व महासचिव मदन पोख्रेल, दाउन्ने एग्रो फर्मका भुवन लामिछाने लगायतले बोलेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ