- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विमलेन्द्र निधी नेपाली कांग्रेसको १३ औं महाधिवेशनसम्म संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवाका खम्बा थिए । देउवा सभापति हुँदा उनी उपसभापति भए । देउवाका जुनसुकै जश र अपजशमा उनी निरन्तर सहभागी भए । चट्टानजस्तै रक्षाकवज बने ।
तर १४ औं महाधिवेशनमा उनी देउवाका प्रतिस्पर्धी भएका छन् । उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । त्यसैले अहिले उनी चर्चामा छन् ।
निधी कांग्रेसका पुराना र लोकप्रिय नेता महेन्द्रनारायण निधिका पुत्र हुन् । त्यसैले पारिवारिक लेगेसी पनि उनीसँग छ । २०३६–३७ सालमा आन्दोलन तथा जनमत संग्रह हुँदा उनले आन्दोलनको अगुवाई गरेका थिए । उनी त्यो बेला नेपाल विद्यार्थी संघको अध्यक्ष थिए ।
यस बीचमा उनले कांग्रेसको विभिन्न महत्वपूर्ण पदमा रही काम गरे । १४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व गर्ने उनको चाहना छ । यो अभियानमा उनी सक्रियका साथ लागेका पनि छन् ।
प्रस्तुत छ, उनको उम्मेदवारीको विषयमा केन्द्रीत भइ हाम्राकुराले गरेको यो विशेष कुराकानी–
० तपाई १३ औं महाधिवेशनमा संस्थापन पक्षको खम्बा झैं मानिनुहुन्थ्यो । संस्थापन पक्षलाई जिताउन तपाईको ठूलो भूमिका छ तर अहिले संस्थापन पक्षबाट अलग हुनुभयो । किन देउवाको साथ छाड्नु भयो ?
– म संस्थापन पक्षबाट अलग भएको छैन । १४ औं महाधिवेशनमा संस्थापन निर्माण गर्ने तयारीमा छु ।
० तर शेरबहादुर देउवाबाट त अलग हुनुभयो नि ?
– शेरबहादुरजीसँग अलग भएको भन्नु भन्दा पनि १४ औं महाधिवेशनमा म आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छु । कोबाट टाढा, कोबाट नजिक भन्ने कुरा होइन । सभापतिको उम्मेदवारी घोषणा गर्दा मैले सबै नेतासँग सरसल्लाह गरेको छु । शेरबहादुरजीले पनि तपाईलाई सभापतिमा लड्ने अधिकार छ, शुभकामना छ भन्नु भएकै हो । उहाँलाई पनि चुनाव लड्ने अधिकार छ । मैले रामचन्द्र पौडेलजी, प्रकाशमानजी, शेखरजी, शशांकजीसँग पनि कुराकानी गरेको हुँ । त्यसैले कोसँग नजिक हुनु र अलग हुनु मूल विषय होइन । मूल विषय भनेको निर्वाचन प्रणालीको अनुकरण हो । आन्तरिक लोकतन्त्रको लागि पनि यो एउटा अभ्यास हो ।
० तपाईले टिम बनाउँदै हुनुहुन्छ ?
– टिम बनाउँदैछु । अहिलेसम्म कसैले टिम बनाएका छैनन् । टिम बनाउन आन्तरिक गृहकार्य गरिरहेको छु । निर्वाचन प्रणालीमा भाग लिनको लागि टिम बनाउने कुरा हो ।
० टिममा को को पर्नुहुन्छ, केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको टिम बन्छ ?
– सम्भवतः सबैको टिम बन्छ । २ वटा उपसभापति, २ महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य सबैको टिम बन्छ ।
० कहिले घोषणा हुन्छ ?
– मैले आन्तरिक रुपमा कुरा गरिरहेको छु । तर अझै समय छ । छिट्टै टुंगो लाग्छ । यो अन्तिम बेला टुंगो लाग्ने कुरा हो ।
० तपाईले हालै २३ बुँदे अवधारणा सार्वजनिक गर्नु भएको थियो । यो २३ बुँदे अवधारणाबाट कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ ?
– कांग्रेसलाई बलियो बनाउन पहिलो कुरा, नेपाली कांग्रेस वैैचारिक र सैद्धान्तिक आधारमा स्पष्ट र प्रतिबद्ध हुनुपर्यो । सैद्धान्तिक र वैैचारिक प्रष्टता र प्रतिवद्धता यी ४ वटा शब्द मैले प्रयोग गरेको हुँ । सैद्धान्तिक र वैचारिक सन्दर्भको मूल तत्व भनेको ९ वटा सूत्र हुन् भनेको छु । यी ९ सूत्र हुन् –राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्म निरपेक्षता, अहिंसा र शान्ति । अहिले हामीले नयाँ शासन प्रणाली निर्माण गरेका छौं । राज्य पुनर्संरचना गरेका छौं । संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्यको पुनर्संरचना अथवा संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली शुरु गरेका छौं । हामीले संविधान बनाएका छौं । यसबाट नेपाली जनता पहिलो पटक सार्वभौमसम्पन्न जनता हुन् भन्ने पुष्टि भएको छ । नेपाली जनताले आफ्नो संविधान आफैं बनाएका छन् । यो संविधान र प्रणाली दुवैै कुराको सफल कार्यान्वयन गर्न आवश्यक छ । यसको सफल कार्यान्वयन गर्न नेपाली कांग्रेसले मात्र सक्छ । संविधानको सफल कार्यान्वयन गर्न नेपाली कांग्रेसले वैचारिक प्रष्टता र वैचारिक प्रतिवद्धता अवलम्बन गर्नुपर्छ ।
अर्को कुरा यो देशको समाज भनेको विविधताले भरिएको समाज हो । आदिवासी, दलित, महिला, थारु, मुश्लिम, अल्पसंख्यक, पिछडा क्षेत्र, तेश्रो लिङ्गी, अपाङ्गता सबै किसिमका समावेशी समाजमा रहेको पाउछौं । सबैको समावेश स्वरुप जनता हो । यो देश जसरी सबैको समावेश हो त्यसैगरी नेपाली कांग्रेसले पनि यो सबै विविधताको प्रतिनिधित्व गर्छ । यस्तो अवधारणा बोक्ने पार्टी राष्ट्रिय पार्टी हुन्छ । सबै विविधता भएकाहरु, विभिन्न जात, विविध धर्म, विभिन्न भाषा, विभिन्न लिङ्ग सबैले नेपाली कांग्रेस मेरो पार्टी हो भन्ने ठानुन् भन्ने म चाहन्छु । नेपाली कांग्रेसलाई सबैको साझा पार्टीको रुपमा प्रस्तुत गर्न सक्यांै भने यसले राष्ट्रिय रुपमा सशक्त परिणाममुखी भूमिका निभाउन सक्छ । म सभापति भएर यो पार्टीलाई सबैको साझा पार्टीको रुपमा विकसित गर्न चाहन्छु । आजसम्म छँदैछ । यसमा थप विकसित गर्न चाहन्छु ।
अर्को पुस्ताको कुरा गरौं, रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण यी तीन वटा शब्द हामीले भन्ने गर्छौं । अहिले नेपाली कांग्रेसका सबै तहका साथीहरु र लोकतान्त्रिक समाजले नेपाली कांग्रेसले नयाँ नेतृत्व दिन सकोस् भन्ने चाहेको छ । नेपाली कांग्रेसले नयाँ नेतृत्व दिन सक्यो भने देशमा आएको परिवर्तनलाई आत्मसात गर्न सक्छ । परम्परावादी नेतृत्व भयो भने त्यसले परम्परवादी विचार र परम्पराबादी प्रणालीलाई मात्र बन्धक बनाएको हुन्छ । त्यसैले परिवर्तनको पक्षवादी खासगरी जति युवा जमात छ, त्यस भावनालाई म सभापातिको उम्मेदवारको हैसियतले अगाडि बढाउन चाहन्छु । त्यसको लागि म सहजकर्ताको भूमिका निभाउन चाहन्छु । युवा जगत नेतृत्व तहमा आउनको लागि त्यसमा सहजकर्ताको भूमिका निर्वाह गर्ने सभापति चाहिएको छ । त्यस्तो पार्टीको रुपमा म कांग्रेसलाई अगाडि बढाउन चाहन्छु । सभापति भएपछि पटक–पटक आफैं नेतृत्वमा बसिरहने भन्ने होइन ।
अर्को कुरा, गुट उपगुटभन्दा माथि उठेर एकताबद्ध पार्टीको रुपमा प्रस्तुत गर्न चाहन्छु । गुट, उपगुटले गर्दा अहिले हामीले त्यसको दुष्परिणाम भोगेका छौं । म हिजोसम्म शेरबहादुर देउवाजीसँग लामो समयसम्म रहेँ । अब उहाँसँग मात्र रहने कि गुटभन्दा माथि उठ्ने भन्ने कुरा हो । मैले रामचन्द्रजी, सिटौलाजी, प्रकाशमानजी, शशांकजी, शेखरजी, गगन थापा, विश्वप्रकाश, कल्याण गुरुङ, एनपी साउद, डा. डिला संग्रौला, पुष्पा भुषालजी अथवा किरण यादव, सरिता प्रसाइसँग पनि कुरा गरिरहेको छु । गुटभन्दा माथि उठेर सबैलाई समेटेर पार्टीको सञ्चालन र परिचालन होस् भन्ने मेरो धारणा हो । त्यसैले पार्टीलाई वैचारिक रुपमा एकताबद्ध बनाएर, सबैलाई समेटेर, सबैलाई ठाउँ दिएर पार्टी सञ्चालन गर्न चाहेको छु । ताकि पार्टीमा सबैको जित होस्, सबैको राजनीतिक करियरको सुरक्षा होस् र सबैले समान अवसर पाउन् । कसैमा भेदभाव नहोस् । आफूलाई साथ दिनेलाई उकास्ने, आफूलाई साथ नदिनेलाई तह लगाउने भन्ने संस्कृति र पद्धति फस्टाउन दिनुहुन्न । यसरी अघि बढ्न सक्यांै भने नेपाली कांग्रेसलाई बलियो बनाउन सकिन्छ भन्ने मैले सोचेको छु ।
अर्को महत्वपूर्ण कुरा भाषाको कुरा हो । संविधानले भाषा आयोग गठन गर्ने कुरा गरेको छ । नेपाली भाषा बाहेक पनि यो देशमा बोलिने धेरै राष्ट्रिय भाषाहरु छन् । ती राष्ट्रिय भाषाहरुलाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनु पर्छ । यसको कार्यान्वयन उत्तिकै जरुरी छ । जलवायु परिवर्तन आजको अन्तर्राष्ट्रिय समस्या हो । यो नेपालका लागि अत्यन्त महत्वपूर्ण विषय हो । आगामी पुस्ताका लागि यो ठूलो समस्या हो । यी सबै कुरालाई सम्वोधन गर्न नेपाली कांग्रेसले अगुवाइ गरोस् भन्ने चाहन्छु । त्यसकारण म नेपाली कांग्रेसको सभापति भएर यी सबै एजेण्डाहरुलाई अगाडि सार्दै देश, जनता र पार्टीको सेवा गर्न चाहन्छु ।
० तपाईले नेतृत्वमा विभिन्न भूूगोल, समुदायबाट आउनु पर्छ, त्यसपछि नेतृत्व सर्वमान्य हुन्छ भन्न खोजेको देखियो । जस्तो कि राप्रपाको नेतृत्वमा भूगोल परिवर्तन भयो । पुस्ता हस्तान्तरण पनि भयो । नेपाली कांग्रेसमा भूगोल परिवर्तन आवश्यक छ भन्न खोज्नु भएको हो ?
० मैले भूगोल परिवर्तनको कुरामात्र गरेको होइन । नेपाली कांग्रेसमा नयाँ नेतृत्व आओस् भन्ने सबैले चाहेका छन् । अहिलेसम्म नेतृत्व पंक्तिमा जो हुनुहुन्छ, उहाँहरुबाट जे योगदान भयो, नेपाली कांग्रेसमा र नेपाली कांग्रेसको माध्यमबाट देश, समाज र लोकतन्त्रलाई जुन योगदान भयो त्यो योगदान उहाँले दिइसक्नु भएको छ । अब नयाँ नेतृत्वको आवश्यकता छ । यो सबैले महसुस गरेका छौं । त्यसैले रुपान्तरण र रुपान्तरणपछि पुस्ता हस्तान्तरण सबैले महसुस गरेका छन् । रुपान्तरण, पुस्ता हस्तान्तरण भन्ने तर व्यवहारमा ‘म बाहेक’ मात्र भन्नु त भएन नि ।
० तपाईको बुबाका कारणबाट पनि अहिले तपाईलाई अगाडि आउन केही फाइदा भएको हो ?
– मेरा पिताजीको कारणबाट मैले संस्कार पाएको छु । व्यक्तिगत जीवन, सामाजिक जीवनको संस्कार पाएको छु । पिताको आशीर्वाद छ । फाइदा त पाएको छु नि । यो स्वभाविक हो । मेरा पिता महेन्द्रनारायण निधीले राणाशासन कालदेखि नै नेपालमा प्रजातन्त्र बहालीको लागि आन्दोलन गर्नुभयो । नेपाली कांग्रेसको स्थापनाकालदेखि नै उहाँ संलग्न हुनुभयो । वीपी कोइराला, गणेशमान सिंह, शुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय त्यो बेलाका नेता हुनुहुन्थ्यो । त्यो बेला चार नेता मानिन्थ्यो । त्यसपछि तीन नेताको धारणा आयो । वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईजी हुनुभयो । पछि गणेशमानजी, किशुनजी र गिरिजाबाबुको नाम आयो । यसरी नेपाली कांग्रेसमा निरन्तरता आएको छ । २००७ सालको क्रान्तिको बेला नेपाली कांग्रेसले जहाँ जहाँ भूगोल कब्जा गर्यो त्यहाँ क्रान्तिकालीन सरकार गठन गथ्र्यो । जनकपुरमा मेरो पिताजी कान्त्रिकालीन सरकारको प्रधानमन्त्री हुनुभयो । रुद्रप्रसाद गिरी गभर्नर तथा योगप्रसाद उपाध्याय मुख्यसचिव हुनुभयो । त्यसैले म महेन्द्रनारायण निधीको पुत्र भएको कारणले राजनीतिक संस्कार सिक्न पाएको छु । लोकतन्त्र र नेपाली कांग्रेसप्रतिको प्रतिबद्धता मेरो रगतमा छ । म आफैं पनि २०२७–२८ सालमै जेलमा गएको छु । एसएलसीको परीक्षा जलेश्वरको जेलबाट दिएको छु । आईकम पनि जलेश्वर जेलबाट पास गरेको छु । जलेश्वर जेल मलंगवा जेल, रामेछापको भंगेरी, सिन्धुलीको गढीमा बसेको छ । त्यसबेला सिन्धुलीको गढीलाईसमेत जेल बनाइएको थियो । यी सबै ठाउँमा बसेको छु । काठमाडौंको नख्खु जेल, केन्द्रीय जेलमा पनि बसेको छु । पिताजीको प्रेरणा, राजनीतिक संस्कार, वैचारिक र सैद्धान्तिक आधार मैले पाएको छु । वीपी कोइरालाले मलाई २०३५–३६ सालमै नेपाल विद्यार्थी संघको सभापति बनाउनु भयो । राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिका ग्रहण गर्ने अवसर मैले वीपीबाट पाएको हुँ । राजनीतिको त्यो निरन्तरता अहिलेसम्म छँदैछ ।
० त्यसबेला वीपीले मधेसमा बेदानन्द झाले उम्मेदवार दिँदा मधेसबाट पहाड र पहाडको नेतालाई मधेसबाट जिताउने जिम्मेवारी नेपाली कांग्रेसको अभिभारा हो भन्नु भएको थियो । त्यसबेला मधेसबाट बेदानन्द झाले चुनाव हारेर माधव रेग्मीले चुनाव जित्नुभयो । त्यो घटनालाई अहिले तपाईले जोड्न खोज्नु भएको हो ?
– त्यो त हो नि । मधेसबाट गैरमधेसी नेतालाई जिताएका धेरै उदाहरणहरु छन् । वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, शुवर्ण शमशेरले मधेसबाट जित्नुभयो । कृष्णप्रसाद भट्टराईजीले गोरखाबाट हार्नुभयो, पर्साबाट जित्नु भयो । शैलजा आचार्य, शेखर कोइराला, मिनेन्द्र रिजाल मधेसबाट जित्नु भएको छ । आधा मधेस नवलपरासीबाट अहिलेका महामन्त्रीज्युले जित्नु भएको छ । त्यसकारण मधेसले कहिले पनि साम्प्रदायिक भावना राखेन । मधेसले जहिले पनि नेपाली कांग्रेसका सबै गैरमधेसी नेतालाई सहयोग गर्दै आएको छ । त्यसैले कि मधेस मूलका नेताहरुलाई जिताउन पहाडका नेताहरुको उत्तिकै जिम्मेवारी छ । वीपीले त्यो बेलामा सोच्नु भएको सोच अहिलेसम्म पूरा भएको छैन ।
० अहिले कांग्रेसमा टिमको नाममा गुट उपगुट बढ्दै गएको छ । यसले कांग्रेसलाई क्षति गर्दैन ?
– गुट उपगुटले कांग्रेसलाई क्षति गर्छ यो एउटा कुरा हो । तर यसको अर्को पाटो छ । कुनै पनि दलको आन्तरिक लोकतन्त्रको प्रणालीको बारेमा त्यो दलभित्र लोकतन्त्र छ कि छैन भन्ने कुरामा परीक्षण गर्ने आधार भनेको त्यो दलमा पदाधिकारी तथा नेतृत्व चयन गर्न निर्वाचन पद्धति छ कि छैन त्यो हेर्नुपर्छ । कांग्रेसमा निर्वाचन नहुँदा पनि गुट थियो । वीपी, गणेशमानजीको बेला पनि गुट हुन्थ्यो । मातृकाजीको पालामा पनि गुट हुन्थ्यो । २००७ सालको क्रान्तिअघि राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेस मिलेर नेपाली कांग्रेस बन्यो । दुई वटा पार्टीबाट नेपाली कांग्रेस बनेपछि त्यहाँ भित्र पनि गुट थियो । तर गुटलाई न्यूनीकरण गर्नको लागि सैद्धान्तिक र वैैचारिक आधारलाई हामीले व्यवस्थित गर्नुपर्छ । एउटा मिडिया, एउटा टेलिभिजनको कार्यालयमा पनि गुट हुन्छ । गुटको अन्त्य हुँदैन । गुटको अन्त्य मैले कल्पनामात्र गरेको कुरा हो । फुटबल, क्रिकेट, उपभोक्ता समिति बनायौं भने त्यहाँ पनि गुट हुन्छ । तर पनि गुटको व्यवस्थापन नेतृत्वले कुशलतापुर्वक गर्नुपर्छ । नेपाली कांग्रेसको इतिहास हेर्दा वीपी कोइरालादेखि अहिलेसम्म नेपाली कांग्रेसको चुनावमा आफ्नो गुटको आधारमा मात्र कसैले जितेको छैन । वीपीको पालामा पार्टी सभापातिको मात्र चुनाव हुन्थ्यो । सभापतिमा निर्वाचन हुन्थ्यो । त्यसले आफ्नो कार्यसमिति मनोनयन गथ्र्यो । महामन्त्रीसहित अरु पदाधिकारी उसैले मनोनयन गथ्र्यो । त्यो बेला पनि गुटबन्दी थियो । त्यो बेलामा वीपीले आफ्नो गुटको सहयोगले मात्र जित्नु भएन । पछि कृष्णप्रसाद भट्टराईजी सभापतिमा आउनु भयो । निर्वाचन भएन तर उहाँ आफ्नो गुटको समर्थनले मात्र सभापति चुनिनु भएको होइन, सबैको समर्थन थियो । पछि गिरिजाप्रसाद कोइराला सभापति लड्नु भयो । उहाँका विरुद्ध चिरञ्जीवि लड्नु भयो । हामीले उहाँलाई साथ दिएका थियौँ । त्यो बेला गिरिजाप्रसाद कोइरालाले आफ्नो गुटको समर्थनबाट मात्र चुनाव जित्नु भएन । त्यो बेलामा गणेशमानजी, कृष्णप्रसाद भट्टराईजी, बासु रिसालजी, योगप्रसाद उपाध्यायजी लगायतका निकट मान्छेहरुको सहयोग लिनुभयो । त्यसपछि गिरिजाप्रसाद र शेरबहादुरजीबीच चुनाव भयो । त्यहाँ पनि त्यही भयो । पछि सुशील कोइरालाजीले चुनाव जित्नुभयो । त्यसबेला म, प्रकाशमानजी र मिनेन्द्रजी शेरबहादुरजीसँग थियौँ । पछि उहाँले प्रकाशमानजीलाई महामन्त्री बनाउनु भयो । देउवाजीसँग नजिक रहेका धेरै साथीहरुलाई उहाँले आफ्नो पक्षमा ल्याउनु भयो । १३ औं महाधिवेशनमा शेरबहादुरजीले जित्नुभयो । त्यो बेला आफ्नो गुटको मतको आधारमा मात्र जित्नु भएको होइन । म महामन्त्रीमा नलडी अर्जुननरसिंह केसीलाई महामन्त्रीमा उम्मेदवारी दिन लगायौं । चन्द्र भण्डारी, श्याम घिमिरे, खुमबहादुर खड्का, फरमुल्लाह जस्ता साथीहरु जो देउवामा हुनुहुन्थेन पछि उहाँहरु पनि आउनु भयो र शेरबहादुर देउवाजीले चुनाव जित्नुभयो । त्यसैले आजसम्म आफ्नो गुटको आधारबाट या आफ्नो गुटको मात्र भोट पाएर कसैले नेपाली कांग्रेसको सभापतिमा चुनाव जितेको छैन । यो कुरा तपाईहरुले बुझ्न पर्यो । त्यसैले गुटको निर्माण र गुटको पुनःसंरचना, तथा पुनःसमीकरण भइरहन्छ । वैैचारिक आधारमा भयो भने त्यो राम्रो हुन्छ भन्ने मेरो अवधारणा हो ।
० तपाईले यसपटक चुनाव जित्ने आधार के के छन् ?
– मतदाताहरु नै हुन् । मैले अहिलेसम्म गरेको काम, पार्टीप्रतिको निष्ठा मैले चुनाव जित्ने आधार हो । म २०३६ सालमै नेपाल विद्यार्थी संघको सभापति भएँ । यसको जश वीपीलाई दिन चाहन्छु । उहाँको पालामा म नेविसंघको केन्द्रीय सभापति भएँ । २०३७ साललाई जोड्दा पनि आज ४१ वर्ष भयो । ४१ वर्षअघि म नेविसंघको सभापति थिएँ । आन्दोलन र जनमत संग्रहको बेला विद्यार्थीहरुको केन्द्रीय नेतृत्व गर्ने अवसर पाएको थिएँ । त्यो बेलादेखि अहिलेसम्मका साथीहरु संसदमा, सरकारमा, प्रदेशमा आउनु भएको छ । नयाँ साथीहरु पनि आउनु भएको छ । उहाँहरुले परिवर्तन चाहनु भएको छ । त्यसैले पुराना साथीहरुसँगको समकालीन सामिप्यता, माथिल्लो पुस्ताको माया तथा उहाँहरुबाट मैले पाएको सद्भाव चुनाव जित्ने आधार हुन् । नयाँ पुस्तामा परिवर्तनको चाहना छ, त्यो सद्भाव पनि मैले पाएको छु । यी कुराहरु म सभापतिमा निर्वाचित हुने आधार हुन् । वैचारिक कुरा त मैले पहिले नै भनिसकें ।
० तपाईले अहिलेसम्म शेरबहादुर देउवालाई सहयोग गर्नुभयो । यतिखेर तपाईको अभाव उहाँमा खड्किएको होला, तपाईलाई के लाग्छ ?
– मलाई थाहा छैन । उहाँलाई के भएको छ त्यो मलाई थाहा हुने कुरा भएन ।
० नेपाली कांग्रेसको नेतृत्वको लागि दोश्रो चरणको चुनाव भयो भने त्यसबेला तपाईले कसलाई समर्थन गर्नुहुन्छ ?
– त्यो त्यही बेला सोचौंला ।