- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२०६२–२०६३ को जनआन्दोलनको कुरा हो, कालो अपाची बाइकको पछाडि बसेर सामान्य हाउभाव देखाउने, दाह्री पालेको र विद्रोहको नायक झै अनुहारका एक युवा अकस्मात सडमा देखिन्थ्यो । चारैतिरको सुरक्षा पहराका बीचमा राज्यसत्ताविरुद्ध आफूलाई एक स्पातका रुपमा जनताको बीचमा उभ्याउथ्यो र चिच्याउँदै भन्थ्यो गणतन्त्र जिन्दावाद !
पशुपति बहुमुखी क्याम्पस लगायतका हरेक क्याम्पस र चोकमा निस्कने विशाल जुलुस र भेलाका बीचमा भीडको मध्य भागबाट निस्कने सम्बोधन र भीडमा नै हराउने आगोको झिल्को स्वरुप जनताको राज्यसत्ता जनताको साथमा राख्नका लागि अनवरत सडक संघर्षमा होमिएको नाम हो गगन !
राज्यद्रोहको मुद्धा मात्रै होइन गणतन्त्रको उच्चारण गरेको खण्डमा ज्यानसमेत लिइदिने र परिवारलाई समेत राम्रो नहुने भन्ने हजारौं डर, क्रास र धम्कीका बीचमा अहोरात्र सडक संघर्षमा उत्रने आन्दोलनको पर्याय हो गगन ! नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका थापा सडक र संघर्षले सदन छिरेका योद्धा हुन ।
२०६२–०६३ को जनआन्दोलनमा युवाहरुको बीचमा परिवर्तनका पक्षमा आगोको झिल्को भएर अगाडि निस्किएको त्यो गगनले अनेकन प्रहारहरुलाई सहँदै अगाडि बढेको सत्यताबाट हामी भाग्न सक्दैनौं ।
विद्यार्थी राजनीतिको अरोहअवरोहलाई खेप्दै अगाडि बढेका थापाको मूलप्रवाहको राजनीति भने अझ ठूलो संघर्षका बीचबाट स्थापित भएको हो । हरेक पल परीक्षाको परीक्षार्थी जस्तै अब्बल उदारहणका रुपमा आफूलाई प्रस्तुत गर्दै वर्तमान राजनीतिको एक मियोको रुपमा उनको स्थान सुरक्षित रहेको छ ।
सडकबाट सदनको यात्रामा निस्किएका गगन थापा काठमाडौं क्षेत्र नं ४ मा २०६४ सालको प्रथम संविधान सभामा समानुपातिक तर्फबाट सांसद भए । पार्टी नेतृत्वको समेत आँखाको कसिंगर बनेका उनले आफूलाई कठिन भन्दा कठिन परीक्षमा सामेल भए र नेतृत्वलाई अवसर दिनका लागि वाध्य बनाए ।
उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौंबाट प्रत्यक्ष निर्वाचन लडेकी सुप्रभा घिमिरेलाई तत्कालीन नेकपा एमालेकी प्रभावाशाली नेतृ विद्यादेवी भण्डारी (हालकी राष्ट्रपति) लाई परास्त गर्ने नेतृत्व लिएका थिए । सशस्त्र द्धन्द्धका बीचबाट निर्वाचनमा सहभागी भएको तत्कालीन माओवादीको प्रभाव र दवावका बीचमा आफ्नो भूमिकालाई परिणाममार्फत आफ्नो क्षमता प्रस्तुत गरेका गगन थापा २०७० मा आफैं निर्वाचनमा होमिए ।
माओवादीका जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन (हालका उपराष्ट्रपति) सँगको निर्वाचन उनका लागि सहज थिएन । आम नेपाली नागरिक र क्षेत्र ४ का जनताले गगन थापालाई सहर्ष स्वीकार गर्दै परिवर्तनको उदारहणका रुपमा क्षेत्र नं ४ लाई स्थापित बनाउने अभियानमा जुटे ।
संविधान निर्माणका क्रममा संसदभित्र र बाहिर उनले आफूलाई अनेकन परीक्षाबाट उत्कृष्ट सावित गरिरहे । २०७४ को संसदीय निर्वाचनमा कम्युनिष्ट गठबन्धनविरुद्ध डा. राजन भट्टराईलाई पराजित गरे । उनका लागि प्रत्येक निर्वाचन सदन र सडक सहज बनेको छैन । यसका बावजुद पनि उनले आफूलाई सफल बनाइरहेका छन् ।
यस बीचमा उनले छोटो समय स्वास्थ तथा जनसंख्या मन्त्रीका रुपमा कार्य गर्ने अवसर पाए । छोटो समयको त्यो कार्यकाल सम्भवतः एकाध सफल मन्त्रीका रुपमा उनी स्थापित भए । लामो इतिहास बोकेको नेपाली कांग्रेसको शीर्ष नेतृत्वलाई चित्त बुझाएर राख्नु पर्ने बाध्यता एकातर्फ थियो भने अर्कोतर्फ सबै प्रतिपक्षी दलहरुको आँखाको तारो झैं बन्नु पर्ने अवस्थामा स्थापित भएका एकमात्र पात्र हुन् गगन !
वर्तमान नेपाली राजनीतिले चाहेको परिवर्तनको सम्भावनाका रुपमा अब गगन थापा रहेका छन । नेकपा एमालेको १० औं महाअधिवेशन युवा नेतृत्वमा देखिएको स्खलन र अन्य पार्टीहरुको नेतृत्व तहमा पुग्न चाहने युवाहरुका लागि एक मात्रै आश बाँकी रहेका गगन कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार मात्रै बन्न चाहेका छैनन् उनी जित्न चाहन्छन । यो जित उनका लागि कति महत्वपूर्ण छ उनले बताउन सक्छन् । तर नेपाली राजनीतिको एक आमूल परिवर्तनका लागि भने उनको जित अनिवार्य छ । राजनीतिमार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने लाखौं युवाहरुको आवाजलाई स्थापित गर्नका लागि उनको जित आवश्यक छ ।
स्वभाविकैले नेताका रुपमा उनका कयौं गुण अवगुणहरु होलान् । स्वभावत त्यो प्राकृतिक नियम पनि हो । यस बीचमा पनि संसदीय व्यवस्थाका एक सम्झनयोग्य पात्रका रुपमा उनि परिचित छन् भने उनलाई परिवर्तनको नेतृत्व गर्ने अवसर किन नदिने ? आम नेपाली नागरिकहरुको आवाजलाई उनले आफ्नो आवाज बनाउँछन् भने उनलाई अवसर किन नदिने ? साढे आठ लाख क्रियाशील सदस्य र ३२ लाख नेपाली कांग्रेसको मतमार्फत आगामी निर्वाचनमा कम्तीमा ४५ लाख मत दिलाउनका लागि कठोर परीक्षा दिन तयार गगन थापालाई महामन्त्रीमा किन चयन नगर्ने ? किन नयाँ पुस्तालाई अवसर नदिने ?
नेपाली कांग्रेसको राजनीतिमा नवीन पुस्ताको प्रतिनिधि पात्रका रुपमा अगाडि बढेका दैलेख दुल्लुबाट निर्वाचित १८ वर्षकी स्वस्तिका महतको भविष्य नेपाली कांग्रेसमा कस्तो हुने ? सिन्धुपाल्चोक मेलम्चीबाट प्रतिनिधि चयन भएकी सीता चौलागाईले नवीन कांग्रेसमा आफूलाई कसरी स्थापित गराउँछिन् ? सोलुखुम्बुबाट २१ वर्षको उमेरमा महाधिवेशन प्रतिनिधि चयन भएकी पूजा फुयाल, खोटाङका विकल राई, बागलुङकी उषा सापकोटा, काठमाडौंका सुशान्त आचार्य, काठमाडौंका सुल्तान मियाँ लगायतका सयौं युवाहरु प्रतिनिधि पात्रका रुपमा नेपाली कांग्रेसभित्र नवीन नेतृत्व र पुस्तान्तरणको पक्षमा जुटेका छन् ।
यो आवाजको यथोचित सुनुवाई नहुँदा सिंगो काँग्रेसले व्यहोर्न सक्ने दुर्घटनामा महाधिवेशन प्रतिनिधिज्यूहरु पक्का सजग रहनुहुनेछ भन्ने विश्वास आम क्रियाशील सदस्य लिएका छन् । (लेखक नेपाली कांग्रेस क्षेत्र नं ४ काठमाडौंका सचिव हुन्)