arrow

कांग्रेस महाधिवेशनमा के हुन्छ ?  

logo
नारायण पौडेल,
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
265342205_413353167190638_2745574250591612393_n.jpg

दुई वर्ष अगाडि सम्पन्न भइसक्नु पर्ने नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । यद्यपि कांग्रेसको महाधिवेशन त हुँदैछ तर आगामी दिनमा कांग्रेसको एजेण्डा के हुने हो भन्नेबारे कुनै बहस भइरहेको छैन । विधानतः पार्टीको संघीय संरचनाको पहिलो कार्यान्वयनमा लागिरहेको कांग्रेसभित्र वडास्तरदेखि प्रदेशसम्म आइपुग्दा देउवा–पौडेल–सिटौला समूहमा कांग्रेसीहरु निर्वाचित तथा पराजित भएका छन् । 

जसबाट सक्षम कांग्रेसीहरुबीचमा प्रतिस्पर्धा नभएको, कांग्रेसले अनुशरण गर्दै आएको वीपीको समाजवाद ओझेलमा परेको, राम्रालाई भन्दा हाम्रालाई महत्व दिइएको, त्याग, निष्ठा, निस्वार्थता र इमान्दारिता पार्टीभित्र नरहेको लगायतका तथ्यहरु स्थापित भएका छन् ।

केन्द्रीय महाधिवेशनको मुखमा आइपुग्दा १४ औं महाधिवेशनमा संस्थापन र रामचन्द्र पौडेलको इतर पक्षबीच नै कडा प्रतिस्पर्धा हुने सबैको आँकलन छ । तर विभिन्न सामाजिक सञ्जालहरुलाई हेर्दा र सर्वसाधारण जनताहरुको अभिमत बुझ्दा यसपटक देउवा र पौडेल पार्टीको अभिभावक बनेर युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने माहोल बलियो बन्दै गइरहेको छ । तथापि कांग्रेसमा नेतृत्व हडप्न दोस्रो पुस्ता वा युवापुस्ता अहिले तयार देखिएन र युवापुस्ताहरुमा समेत अब कांग्रेसलाई कस्तो पार्टी बनाउने, निर्वाचनमा जनतासामु के भनेर जाने, निर्वाचनमा बहुमत कसरी ल्याउने, समृद्ध नेपाल निर्माण कसरी गर्ने लगायतका प्रश्नहरुको ठोस जवाफ वा योजना भेटिएन ।
एउटा मत सर्वेक्षणले भन्दैछ कि शेरबहादुर देउवाले पहिलो चरणमा नै पार्टी सभापति जित्छन् भने अर्को सर्वेक्षणका अनुसार देउवा इतरका शक्तिहरु एकैठाउँमा उभिएर साझा उम्मेदवार बनाउन सके भने देउवाको पराजय सुनिश्चित छ । तर सामाजिक सञ्जाल, पौडेल र देउवाले अब विश्राम लिनु पर्दछ भन्दैछ । यदि त्यसो हो भने कांग्रेसको भावी सभापति को, किन र कसरी ? पौडेल र देउवाले किन नेतृत्व हस्तान्तरण गर्नुपर्ने तथा नयाँ नेतृत्वले कस्तो कांग्रेस बनाउने ? मूलभूत रुपमा यही सेरोफेरोमा अनुत्तरित हुँदै कांग्रेसको यो महाधिवेशन सम्पन्न हुँदैछ । 

कांग्रेसभित्रको चरम गुटबन्दी, अन्य पार्टीहरुबाट कांग्रेस प्रवेश गरेका व्यक्तिहरुको हालीमुहाली, सक्षम व्यक्तिहरुभन्दा गुटका भजनमण्डलीहरुको बोलवाला, प्रशस्त पैसा नहुने कांग्रेसीहरु कुनैपनि निर्वाचनमा उम्मेदवार बन्न नसक्ने परिस्थिति, परिवारवादी चरित्र, ठेकेदार तथा बिचौलियाहरुको बिगबिगी जस्ता तीतो यथार्थ वास्तविक कांग्रेसहरुले अहिलेको महाधिवेशन प्रक्रियामा भोग्नुपर्यो । जुन विकृति भोलिका दिनहरुमा पनि सच्चा कांग्रेसीहरुले भोग्नुपर्ने निश्चित देखिन्छ यस्तो परिस्थितिमा सम्पन्न हुन लागेको कांग्रेस महाधिवेशनमा पार्टी सभापतिका स्वभाविक उम्मेदवार पौडेल र देउवालाई नै मानिएको छ । यी दुवै पात्र विभिन्न समयमा पार्टी तथा सरकार सञ्चालनमा धेरैपटक दोहोरिएका पात्र भएकाले यिनीहरुको नेतृत्वबाट नयाँ कांग्रेस निर्माणको परिकल्पना गर्न सकिँदैन ।

हो, देउवा र पौडेलबाट देश, जनता र कांग्रेसले जति पाउनुपर्ने थियो पाइसकेको छ । यदि उनीहरुबाट पाउनुपर्ने केही बाँकी छ भने उनीहरुले भन्न सक्नुपर्यो । नभए नमरुञ्जेलसम्म पद ओगटेर बस्न खोज्ने प्रवृत्ति उनीहरुले त्याग्नुपर्दछ र पार्टीको नेतृत्व नयाँ व्यक्तिको हातमा सुम्पन तयार हुनुपर्दछ । तर नेतृत्व कसलाई कसरी सुम्पने ? यस्तो अवस्थामा कांग्रेस उपसभापति समेत रहेका विमलेन्द्र निधी देउवामा रहेको कांग्रेस नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् भने देउवाबाट सभापति पद खोस्न रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शंशाक कोइराला र प्रकाशमान सिंहसमेत न्वारनदेखिका बल लगाएर दौडिरहेका छन् ।

मूलतः दुईधारमा विभाजित कांग्रेसमा देउवा गुटबाट देउवा नै पार्टी सभापतिका लागि निर्विकल्प उम्मेदवार हुन् भने पौडेल गुटमा सिर्जित उपगुटहरुका कारण यस समुहबाट साझा उम्मेदवार बनाउन कसरत भईरहेको बताईन्छ । यदि यो समूहबाट पौडेल लाई साझा उम्मेदवार बनाउने हो भने देउवालाई पराजित गर्नसक्ने बलियो उम्मेदवार पौडेल नै हुने छन् । त्यसैले अब देउवा बाट पार्टी चल्न सक्दैन भन्ने ठहर गरिएको हो भने देउवा इतर समुह एकठाउँमा उभिएर साझा उम्मेदवार छनौट गरी अगाडि बढ्नुको अर्को विकल्प छैन । 
पछिल्लो समय उपसभापति पद सुरक्षित गर्न र प्रवक्ता विश्वप्रकाश शर्मालाई महामन्त्री बन्नबाट रोक्नकै लागि कृष्ण प्रसाद सिटौला देउवासँग नजिकिएका छन् । यसरी अघिल्लो पटक पनि सिटौला समुहकै सहयोगको कारण पार्टी सभापति बनेका देउवालाई अहिले पनि सिटौलाको निकटताले सभापतिमा स्थापित ठूलो सहयोग गर्ने निश्चित छ । तर देउवालाई हेक्का रहोस् कि १३ औं महाधिवेशनमा खुमबहादुर खड्का, कुल बहादुर गुरुङ सहितको पुरानो गुट र सिटौला समुहको सहयोग प्राप्त गरेकै कारण उनी पार्टी सभापति भएका हुन् । यस्तो समिश्रण अहिले नभएकाले पुनः नेतृत्वमा पुग्न देउवालाई मिडियामा आएजस्तो सजिलो अवस्था अवश्य छैन । तर इतर समुहमा विभाजन कायम रहिरहने हो भने देउवाको विकल्प पनि छैन ।
अब देउवा या पौडेल कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टी सभापति बन्दा पार्टीको संगठन अहिलेको भन्दा सृदृढ हुन्छ कि हुँदैन, नजिकिँदै गरेका निर्वाचनहरुमा पार्टीको हैसियत कस्तो हुन्छ, कांग्रेसीहरुले रुख चिन्ह बाहेक अन्य चिन्हहरुमा मतदान गर्नुपर्ने अवस्था आउँछ कि आउँदैन, कांग्रेसको घाँटी सधै वामपन्थीहरुसँग जोडिरहने हो कि होइन, कांग्रेसको संगठन समावेशी तथा सक्षम हुन्छ कि हुँदैन, कांग्रेसमा विद्यमान रहेको परिवारवाद, नातावाद र कृपावादले प्रश्रय पाउँछ कि पाउँदैन लगायतका प्रश्नहरुको उत्तर कांग्रेस नेता तथा कार्यकर्ताहरुले खोज्नुपर्दछ । त्यस्तै लामो समयसम्म सत्तामा बस्दासमेत देश र जनताको बृहत्तर हितमा काम गर्न नसक्ने समस्या भोलिका दिनहरुमा दोहोरिन्छ कि सुधार हुन्छ भन्नेतर्फ हेक्का राख्दै कांग्रेसीहरुले नयाँ तथा सक्षम नेतृत्व चयन गर्नुपर्नेछ । 

कुनै पनि राजनीतिक दलमा समय सापेक्ष नेतृत्व परिवर्तन भइरहनु पर्दछ, जसबाट नयाँ सम्भावनाको आँकलन गर्न सक्ने साहस सर्वसाधारण जनतामा उत्पन्न होस् । कांग्रेस पार्टी सभापति तथा पाँच पटकसम्म प्रधानमन्त्री बन्दासमेत देउवामा कुनै परिपक्वता देखिएन । तथापि उनले एकपटक सभापति भएर अझै राम्रो काम गर्ने रहर भएको बताएका छन् भने ज्योतिषीले उनलाई सातपटक प्रधानमन्त्री हुन्छौ भनी गरिदिएको भविष्यवाणी त झनै चर्चामा छ । 

उता रामचन्द्र पौडेल सुधारिएको कांग्रेस बनाउँछु भन्दै छन् भने देउवा र पौडेलबाट पार्टी नचल्ने ठहर प्रकाशमान सिंहले गरेका छन् । त्यस्तै एकपटक मात्रै पार्टी सभापति बन्ने र युवाहरुलाई समेटेर कांग्रेस चलाउने अभियानमा डा. शेखर कोइराला लागेका छन् भने अघिल्लो महाधिवेशनमा नै सभापति बनाउने वचन दिएको भन्दै निधीले आफू सभापति बन्न पाउनुपर्ने दाबी गरिरहेका छन् । 

यसरी हेर्दा कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी देखिएका छन् । तर उम्मेदवारी मनोनयनका लागि तोकिएको मंसिर २५ गतेसम्म सभापतिका आकांक्षीमध्ये क–कसले मैदान छोड्छन् यकिन छैन ।

कांग्रेस सभापति दोहोर्याउने तयारीमा रहेका देउवा समूहबाट उपसभापतिमा वर्तमान महामन्त्री पूर्णबहादुर खड्का र उपसभापति विजयकुमार गच्छदार मुख्य आकांक्षी रहेको बताइन्छ भने देउवा आफ्नो जित सुनिश्चित गर्न संस्थापन इतरका प्रभावशाली नेतालाई आफ्नो पक्षमा ल्याएर उपसभापतिको उम्मेदवार बनाउने रणनीतिमा लागिरहेको बुझिन्छ । यसका लागि अघिल्लो महाधिवेशनमै सहयोगी भूमिका खेलेका कृष्णप्रसाद सिटौला उपयुक्त पात्र हुनसक्ने आँकलन गरिएको छ । जसको प्रत्यक्ष असर युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मालाई पर्नेछ भने यस्तो अवस्थामा शर्मा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार नबनाइए निधी समूहबाट मैदानमा उत्रन सक्छन् ।

त्यस्तै पार्टी सभापति बन्ने तीव्र आकांक्षा राखेका पौडेलले आफ्नो समूहबाट उपसभापतिमा डा. शशांक कोइराला र प्रकाशमान सिंह तथा महामन्त्रीमा डा. शेखर कोइराला र गगनकुमार थापालाई अगाडि बढाउने तयारी गरिरहेको बताइन्छ । यद्यपि पौडेल समूहले सभापति सहितका पदाधिकारीहरुमा साझा उम्मेदवारहरु तय गर्न सकिरहेको छैन । त्यस्तै पछिल्लो समय सिटौला–देउवा साँठगाँठ बढेपछि विशेषगरी सिटौला समूहमा रहेका केही नेताहरुलाई समेत समेट्ने गरी पौडेल समूह अगाडि बढिरहेको बताइएको छ । तथापि पौडेल समूहमा नै रहेका कांग्रेसका प्रभावशाली नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, महेश आचार्य लगायतका नेताहरुको व्यवस्थापन उत्तिकै संवेदनशील मानिएको छ ।

वास्तवमा कांग्रेस महाधिवेशनमा पार्टीका नीति, सिद्धान्त, कार्यदिशा, भावी रणनीति तथा कार्यक्रम र योजनाहरुको सन्दर्भमा देशव्यापी रुपमा घनीभूत छलफल हुनुपर्नेमा त्यो भएन । फलस्वरुपः कांग्रेस पार्टीको इतिहास, आदर्श र नीति तथा कार्यक्रमहरुका सन्दर्भमा कुनैपनि जानकारी नभएका धेरै व्यक्तिहरु अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  हुनत यो युवा शक्तिलाई कच्चा ठान्नु पनि उपयुक्त नहोला । युवा पुस्ताले छिटो सिक्ने सामथ्र्य राख्छ । 

यद्यपि विशेष परिस्थिति र समयमा कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । तर २०४८ पछि भएका महाधिवेशनहरु जस्तै यो महाधिवेशन पनि कर्मकाण्डी मात्र हुने निश्चित देखिन्छ । फलस्वरुपः कांग्रेसले देश, जनता र परिवर्तनका पक्षमा केही गर्न सक्दैन भन्ने सन्देश आमजनतामा जाने आँकलन गरिएको छ ।

२०४६ सालको परिवर्तनपछि कांग्रेसले देश र जनताको पक्षमा प्रशस्त कामहरु गर्ने अवसर नपाएको होइन । तर यस पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताहरुको सोच, चिन्तन, प्रवृत्ति र आचरणले कांग्रेस वास्तवमै सही बाटोमा अघि बढ्न सकेन । विश्वका विभिन्न लोकतान्त्रिक मुलुकमा जस्तै संसदलाई गतिशील बनाउने, पार्टीको आन्तरिक निर्वाचनमा विधि तथा विधानको कार्यान्वयन गर्ने, लोकतान्त्रिक अभ्यासलाई प्रश्रय दिने कार्यमा प्रतिबद्ध रहने जस्ता पक्षहरुलाई संवेदनशील रुपमा अगाडि बढाउन अब ढिलो भइसकेको छ । 

यो अधिवेशनले पनि कांग्रेसको विगतको गौरवशाली इतिहास, संस्कार, लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिलाई अनुशरण गर्न सकेन भने वास्तवमै कांग्रेस लोकतान्त्रिक पार्टी रहँदैन । लोकतन्त्रमा व्यक्ति नभई पार्टी सर्वोपरी हुन्छ, देश र जनता सार्वभौम हुन्छन् । यदि जनताको अभिमत व्यक्ति विशेषका लागि मात्रै हो भने राजनीतिक दलको आवश्यकता पर्दैन । 

यसर्थ जसले लोकतान्त्रिक संस्था र संस्कारको पटकपटक तेजोबध गर्दछ, उसँग लोकतन्त्रलाई संस्थागत गर्ने क्षमता तथा आचरण बाँकी रहँदैन । साथै सत्तामा रहेको व्यक्तिबाट शक्तिको दुरुपयोग गरी पार्टीलाई विचारविहीनताको अवस्थामा लैजानु किमार्थ लोकतन्त्र होइन । त्यसैले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबै कांग्रेसीहरुले गम्भीर भएर नयाँ नेतृत्व चयन गर्नुपर्ने समय आएको छ । (लेखक अधिवक्ता हुन्) ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ