- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली कांग्रेसको चौधौं महाधिवेशनले युवा पुस्तामा जोश ल्याएको छ र युवा सहभागिता बढाएको छ । यसले अबको नेतृत्व युवाको हातमा जाने संकेत गरेको पनि छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको महाधिवेशसन पूर्वसन्ध्यामा प्रतिस्पर्धात्मक नेतृत्व चयनबाट अलग भएका छन् र उनले युवापंक्तिलाई स्वीकार गर्दै महाधिवेशन प्रतिनिधिहरुलाई लोभलालचबाट टाढा रही विवेक प्रयोग गरी मतदान गर्न अनुरोध गरेका छन् । उनलाई धन्यवाद छ ।
युवाहरुको सहभागिताले चौधौं महाधिवेशनले कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने अवसर पाएको छ । नेपालको राजनीतिक क्षेत्र फोहरी बन्दै गइरहेको यत्रतत्र सर्वत्र देखिन्छ र राजनीतिक वातावरण प्रणालीगत दोषको शिकार भैरहेकाले अस्थिरता नेपाली जनताको नियति बनेको छ । नेपाली जनताले पटक पटक आफ्नो नेता वा शासक चुन्नको लागि आवधिक रुपमा भोट हाल्ने गरेका छन् । भोटको राजनीतिले श्रृंखलावद्ध रुपमा असक्षम नेता र शासकीय असक्षमतालाई जन्माइरहेकाले लगातार असफलताको इतिहास पुनरावृति भैरहेको पनि छ । राजनीतिक अस्थिरताले नेपाली जनता गरिवीको चपेटामा थिचिइरहेका छन् । राजनीतिक क्षेत्रमा सुधार आवश्यक छ र सुधार केवल नयाँ नेतृत्वले गर्छ कि भन्ने आशा छ ।
नेतृत्व परिवर्तनको सन्दर्भमा मलाई एउटा अनुभव छ । छिमेकी जमिनदारबा व्यापार व्यवसायको राँहटोबाट फुर्सद लिएर पिँडीमा मज्जासँग नातिनतिनासँग रमाइरहेका थिए । समयले धेरै कोल्टो फेरिसकेको छ । परिवर्तनले राजनीति विचार, सिद्धान्त, ज्ञान र प्रविधि छिट्टै कालविशुद्ध (अब्सोलेट) हुने दर उच्च छ । पाका उमेरकाहरुले प्रविधि सिक्दै गर्दा युवाहरु सिकेर पनि दौडिसक्दछन् । आजको प्रतिस्पर्धी समाजमा तिब्र गतिमा भएको सूचना सञ्चार प्रविधि परिवर्तनको वेगलाई समात्न सकिएन भने अर्कोलाई उछिनेर वा जितेर आफू स्थापित हुन सजिलो छैन । यस्तो गर्न युवापुस्ता मात्र सक्षम हुन्छ भन्न धक मान्नु पर्दैन ।
जमिन्दार बुढा छोराछोरीलाई व्यवसायको साँचो सुम्पेर ढुक्क भएका रहेछन् । सन्तानले गरेको प्रगति हेरेरै खुशी र झन् बढी व्यस्त औधी खुशी पो रहेछन् । जमिन्दारबाको कुराले मलाई राजनीतिक क्षेत्रमा पात्र परिवर्तनको आवश्यकतासम्बन्धी नवीन विषयले च्वास्स छोयो । मैले देशमा निरंकुश पञ्चायती राज, उदार राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र जस्ता राजनीतिक परिवर्तनको लहरमा भाग लिएँ र भोगेँ पनि । पाँचवटा संविधान त मेरै जीवनकालमा बने र हराए । संविधान र तिनका अन्तरनिहीत सिद्धान्तहरु त सबैका राम्रा नै थिए । संविधान कार्यान्वयन गर्ने व्यक्ति सक्षम वा उत्तरदायी नभएर बिग्रेको थियो, धेरै त । हाम्रो देशमा राजनीतिक प्रणाली परिवर्तन भए पनि निर्वाचनमा जितेर आउने मान्छे भने उनै थिए र छन् पनि । जसलाई मैले विगत ४०–४५ वर्षदेखि देख्दै, सुन्दै र भोग्दै आएको छु ।
जनता घामपानी नभनिकन मतदानको लागि लाइन बसेर इमान्दारीसाथ तिनै नेताहरुलाई बर्सेनि छानिरहेका छन् । तर नेपाली जनताको मतदानले समाजमा कुनै प्रकारको तात्विक परिवर्तन गर्न भने सकेको छैन । मतदानको खुलेयाम उपहास भैरहेको छ भन्नुपर्छ । मतदान गर्ने र उही असफल मान्छेलाई दोहो-याई तेह-याई जिताएर पदमा पु-याइदिने मात्र जनताकोे नित्य कर्म बनेको छ । उनीहरुले आफ्नो र परिवारको हीतभन्दा बढी माखो मारेका छैनन् ।
जिम्मेवारी पाएर पनि विकासको दर, नागरिकको जीवन अवस्थामा तात्विक परिवर्तन गर्न नसकेका र परीक्षणमा असफल भैसकेका राजनीतिक नेताहरु सत्ताका लागि निरन्तर निर्वाचनमा निर्लज्ज उम्मेदवार भैरहन पाउने र भैरहेसम्म राजनीति सुध्रिन सक्दैन । देशले विकासको कोल्टे फेर्न पनि सक्दैन । म एकतमासको खुलदुली लिएर जमिन्दारबाको घरबाट निस्केँ । जमिन्दार बाले प्रत्यक्षरुपमा बन्द व्यापार गर्न छोडेर अविभावकत्व लिएछन् । युवाहरुको नयाँ बुद्धिले व्यवसायले नयाँ मोड लिएछ । छोराहरु सफल भएको देखेर बुढा दङ्ग भए झैं नेपाली जनता देश विकास भएको देखेर कहिले हो दङ्ग हुने ? म प्रश्नको उत्तर खोज्ने चेष्टा गर्दै भौतारिइ रहेँ ।
नेपालको राजनीतिमा चुरो समस्या कहाँ छ ? म खोज्न थालेँ । समस्या भनेको दशकांै दशक पार्टीमा एउटै राजनीतिक नेतृत्व रहिरहनु हो । नेतृत्व परिवर्तन हुन नसक्नु समस्या हो । नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणको पाठ नेतृत्वमा बस्ने कसैले पढेको र त्यागको अर्थ कसैले बुझेको छैन । सबै राजनीतिक पार्टीहरुमा पार्टीको प्रमुख अध्यक्ष, सभापति वा महासचिव के हुन्छ सो पदमा तथा देशको प्रधानमन्त्री वा राष्ट्रपति पदमा पटक पटक गरेर आजीवन बस्न पाइने व्यवस्था रहेसम्म सत्तास्वादको लालसा मर्दैन । कुर्सी मोह धृतराष्ट्रको पुत्र मोहभन्दा बढी छ ।
नेपालको राजतन्त्रको इतिहासमा राजा सुरेन्द्र बुढो भइन्जेल राजा भएर बाँचेका कारण उमेर पुगेका छोराहरुले शासन गर्न नपाइकन मरे । कांग्रेससँगै नेपालका चिरपरिचित सबै राजनीतिक दलहरुमा पनि नतिजा वा परिणाम दिन नसकेका नेताहरु सञ्जिवनी बुटी खाए झैं महत्वपूर्ण पद ओगटेका ओगेटेकै छन् । केही पाउने लोभमा वा पदसोपानको मर्यादा पालन गरेर ती पटक पटक नेतृत्व गरेका असक्षम नेताहरुलाई मौका नपाएका युवाहरु पनि जबरजस्ती मानेर बसेका छन् ।
एउटै व्यक्ति पदमा बहाल भैरहन सक्ने वैधानिक व्यवस्थाले राजनीतिक दल, नागरिक समाज र देशलाई ठुलो हानि पुगेको छ । राजनीतिक दलमा युवा नेताहरुको व्यक्तित्व र वृत्ति विकास अवरुद्ध भएको छ । नयाँ र युवा नेतृत्वको विकास अवरुद्ध हुँदा राजनीतिक दलमा युवाहरुको आर्कषण ह्रासोन्मुख छ । शीर्ष नेताहरु मर्लान् वा उनीहरुले छोड्लान् र भाग पाउँला खाउँला भनेर बस्दा युवाहरु आफैं बुढो बन्दै गएका छन् । पदको छिनाझप्टीले सबै राजनीतिक पार्टीभित्र रात–दिन विवाद, झगडा र भनाभन भएको पाइन्छ । युवाहरु पर्खदै बुढो भएका छन् । पद प्राप्तिको खेल दल विभाजनमा पुगेर र सरकार विघटन भएर मत्थर हुने गरेको छ ।
बुढा नेता र पटक पटक पद पाइसकेका नेताहरुमा रहेको पार्टीको नेतृत्व र सरकारको नेतृत्व गर्ने लोभले ती पद पाउन मरिहत्ते गरेका कारण पार्टी र कार्यकर्ताहरुले अनपेक्षित परिणाम भोग्न पुगेको देखिन्छ । पार्टीका होनहार युवाहरु वृत्ति विकास अनिश्चित देखेर छट्पटिएका छन् । पार्टी नेतृत्वमा पुग्न कति वर्ष कुर्ने ? नयाँ उर्जाशील व्यक्ति किन राजनीतिमा आउने ? यस परिस्थितिको मुल कारण वा दोष बाँचुञ्जेल पनि दलको प्रमुख पदमा बहाल भैरहन खोज्ने र पाउने र पटक पटक सरकारको नेतृत्वमा गइरहन सक्ने प्रणाली हो ।
नेपाली कांग्रेसमा हेर्ने हो भने अहिले गगन थापा, विश्वप्रकाश शर्मा युवाहरुका लागि आर्कषण बनेका छन् । उमेरका हिसावले पनि दुवै ४५ वर्षको हाराहारीमा होलान् । दुवैमा जनता वा राजनीतिज्ञहरुलाई कन्भिन्स गर्ने क्षमता उच्च छ । पढेका र आधुनिक प्रविधि आफैं प्रयोग गर्न सक्ने राजनीतिक सुझबुझ भएका, प्रतिस्पर्धी पार्टीसँग विवाद गर्न सक्ने र सरकारको नेतृत्व पनि गर्न सक्ने क्षमता र खुवी उनीहरुमा छ । चौधौं महाधिवेशनले गगन थापाहरुको साखको विजय हुने अवसर दिएको छ । शेरबहादुर देउवासँगै डा. शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ्ग पनि पार्टीको नेतृत्वको होडमा रहेकाले नेतृत्व हस्तान्तरणको मौका अगाडि ल्याएको छ ।
कांग्रेसमा राजनीतिक नेतृत्व अर्थात् पात्र परिवर्तन महत्वपूर्ण माग बनेको छ । देशको विकास र समृद्धिको लागि राजनीतिक पार्टी र सरकारको नेतृत्वमा हरेक पटक नयाँ व्यक्ति पु-याउनु भनेको ‘पात्र परिवर्तन’ गर्नु हो । पात्र परिवर्तनले राजनीतिमा नवीन उर्जा ल्याउँछ । नेता गुट होइन नीति र योजना बनाउँने गर्दछ । नेतृत्व गर्न चाहने हरेक नेता देश, जनता र पार्टीको लागि नवीन भिजन लिएर प्रतिस्पर्धामा उत्रन्छ । नेतृत्वको विकास हुन्छ । पटक पटक निर्वाचन जित्नु र जिताउनु पर्दछ भनेर भ्रष्टाचार गरेर धन थुपार्ने राजनीतिक आकांक्षा पनि सेलाएर जान्छ । प्रणालीगत रुपमा नयाँ व्यक्तिको हातमा नेतृत्व जाने कारण नेतृत्व गर्ने अवसर धेरै राजनीतिज्ञलाई उपलब्ध हुन्छ । उनीहरुमा शारीरिक, मानसिक एवं बौद्धिक क्षमता रहने भएकाले आफ्नो समयमा केही राम्रो काम गरौं भन्ने इच्छाशक्ति जागृत हुन्छ । मतदातालाई मतदान गर्न पनि रमाइलो लाग्छ । राजनीतिक संस्कारमा नवीन रक्तसञ्चार प्रवाह हुन्छ ।
राजनीतिक क्षेत्रमा देखा परेको दोष वा विवाद वा अव्यवस्था समाधानको लागि पात्र परिवर्तन (नेतृत्व परिवर्तन) उपयुक्त रणनीति हो । स्वभाविक रुपमा पात्र परिवर्तन गर्न महाधिवेशन प्रतिनिधिको विवेकको ठूलो हात छ । पात्र परिवर्तनको संस्थागत व्यवस्था र संस्कृतिले नेताहरु बीचकोे पद केन्द्रीत विवाद त्यसै बिलाउँछ । दलहरु टुक्रने प्रवृत्ति पनि हराएर जान्छ । नेताहरु आफू पछि आफंै नेता बन्ने विषय छोडेर कुन नयाँ योग्य व्यक्तिलाई नेता बनाउने भनेर चिन्तन र मनन गर्न थाल्दछन् वा अन्य पेशातिर संलग्न हुने गर्दछन् । राजनीतिक दलहरुमा टुट्ने फुट्ने प्रवृति रहँदैन । जसले राजनीति क्षेत्रलाई शान्तिकामी बनाइदिन्छ । विश्वका प्रजातान्त्रिक देशहरुमा भर्खर तीस वर्ष नाघेका युवायुवतीहरु सरकारका प्रधानमन्त्री वा राष्ट्रपति पदमा चुनिएका छन् ।
नेपाली युवाहरुले त्यो समाचार पढेका छन् । नेपाली युवाहरु नेपालको राजनीतिमा निर्वाचन जित्ने र सरकारको नेतृत्वमा रहँदा राम्रो काम गर्न नसकेर असफल भैरहने एउटै पात्रलाई पटक–पटक मतदान गर्न अनिच्छुक छन् । प्रजातन्त्र भनेको असक्षम एउटै व्यक्तिलाई पटक पटक निर्वाचनमा विजय गराउनु कदापि होइन । तर हाम्रो देशमा पैसा वा धम्की वा भय वा लोभ सिर्जना गरी त्यही असफल व्यक्ति विजयी भैरहेको हुन्छ ।
नेपाली नयाँ पुस्ता राजनीतिक प्रणालीमा आमूल परिवर्तन खोजिरहेको छ । नवीन राजनीतिक समाजमा टिक्नको लागि पुराना राजनीतिक दलहरुमा परिवर्तन र सुधारको आवश्यक छ । परिवर्तन र सुधारबाट काँगे्रस पार्टी पनि पछि पर्नु हुँदैन । जमिन्दारबाले छोराहरुलाई बन्द व्यापार सुम्पे झैं वर्तमान राजनीतिक नेतृत्वले पनि निर्लोभी भएर आफ्ना अ’अन्त्य र अनन्त इच्छाहरुलाई तिलाञ्जली दिँदै देशको राजनीतिक प्रणालीमा सारभूत सुधारको लागि नयाँ नेतृत्व चयन गर्न पात्र परिवर्तनलाई स्वीकार गर्नु पर्दछ । यसकारण नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले समयको मागलाई हृदयङ्गम गर्दै स्वविवेक प्रयोग गरी नेतृत्व परिवर्तनमा मतदान गर्नु लाभदायक हुने देखिन्छ ।