- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । निर्वाचनमा उम्मेदवारहरुले पनि धमाधम मतदान गरिरहेका छन् । सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंहले मतदान गरिसकेका छन् ।
उपसभापतिकी उम्मेदवार सुजाता कोइरालाले पनि मतदान गरेकी छिन् । त्यस्तै केन्द्रीय सदस्यका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरेका छन् । अन्यले पनि मतदान गर्दैछन् ।
निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ८ बजेसम्म सम्पन्न हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुमान छ । कति समय थप्ने भन्नेबारे पछि निर्णय गरिने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए । मतदान बिहान ११ः१५ बजेदेखिमात्र शुरु भएको थियो ।
मतदान सकिएसँगै सभापति पदको मतगणना सुरु गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । सभापति पदमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार रहेका छन् ।
कांग्रेस विधान अनुसार सभापति पदका उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउनु पर्छ । नल्याएको खण्डमा सभापतिको लागि पुन मतदान हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ । सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने संयोजक घिमिरेले जानकारी दिए ।
सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
महाधिवेशनमा १३२ पदका लागि ४८९ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । १३४ पद मध्ये दुई पदमा भने सर्वसम्मत केन्द्रीय सदस्य हिजै चयन भएका छन् । ४ हजार ७ सय ४३ केन्द्रीय प्रतिनिधिले उम्मेदवारका प्रत्याशीहरूलाई मतदान गर्दैछन् ।
दुई उपसभापतिमा डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, दिव्यश्वरी साह र पूर्णबहादुर खड्का उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दुई महामन्त्रीमा डा मीनेन्द्र रिजाल, गगनकुमार थापा, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा राजाराम कार्की उम्मेदवार छन् ।
आठ सहमहामन्त्रीमा भने मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदेङ्वे, चेतराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्याय उम्मेदवार रहेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी(जनजाति १५, खस(आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।
पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।