प्रक्रियाभित्र रहेर असहमति राख्न सभामुखको आग्रह, एमालेले विरोध कायमै राख्ने
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
635
Shares
काठमाडौं। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् ।
सभाको १०औँ अधिवेशनको पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराए ।
जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उनले आग्रह गरे ।
सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराए ।
तत्पश्चात् सभामुखले लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह गर्दा भने प्रमुख प्रतिपक्षका सांसद् मौन रहेका थिए । सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारबाही अघि बढाउन केही सांसद् मनोनयन गरे ।
एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ ।
सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने निर्णय गरेका थिए । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखबाट त्यसको सुनुवाइ नभएको आरोप एमालेले लगाउँदै आएको छ ।
आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट सुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।