arrow

पोखरामा पहिलोपटक शहीद स्मारक 'ए डिभिजन लिग' का खेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
Pokhara Studiam.jpg

कास्की । शहीद स्मारक 'ए डिभिजन फुटबल लिग'को इतिहासमा पहिलो पटक पोखरामा लिगका खेल सञ्चालन हुँदैछन् । विसं २०११ देखि नेपालमा शहीद स्मारक लिग सुरु भएकामा पहिलोपटक मोफसलले लिग आयोजनाको अवसर पाएको छ ।

लिग सुरु भएको ६७ वर्षपछि मनाङ मस्र्याङ्दी क्लबको अग्रसरतामा पोखराले लिगको आतिथ्य गर्ने मौका पाएको हो । पोखरा रङ्गशालालाई मनाङले 'होम ग्राउण्ड' बनाएपछि उसले खेल्ने तीन खेल यहाँ सञ्चालन हुनेछन् । 

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले राजधानी काठमाडौँमा जारी 'कतार एवरवेज शहीद स्मारक ए डिभिजन लिग'को चौथो चरणका खेल समाप्तिपछि मनाङका तीन खेल यहाँ आयोजना हुन लागेको जनाएको छ ।

लिग निर्देशक सञ्जीव मिश्रका अनुसार पाँचाँै चरणमा आगामी पुस ३ गते मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबसँग पोखरा रङ्गशालामा खेल्नेछ । यसैगरी मनाङले पुस ११ गते ब्रिगेड ब्वाइजक्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग खेल्ने तालिका छ ।

पहिलो खेलका लागि दुवै टोलीका खेलाडी, एन्फा पदाधिकारी तथा लिग निर्देशक र अफिसियलको टोली पोखरा आइपुगेको छ । काठमाडौँ केन्द्रित लिग यसवर्षदेखि राजधानी बाहिर आएको लिग निर्देशक मिश्रले बताए । एन्फाले आगामी दिनमा राष्ट्रिय लिगलाई देशका प्रमुख रङ्गशालामा लैजाने योजना बनाएको बताइन्छ ।

उनले भन्नुभयो, 'यस वर्षको लिग सुरु गर्नुअघि हामीले दशरथ रङ्गशाला, च्यासल, एन्फा कम्प्लेक्स र पोखरा रङ्गशालामा खेलाउँछाँै भनेका थियौँ । एन्फाको चाहना र मनाङको अग्रसरतामा लिग पोखरा आएको छ । लिगलाई राष्ट्रियस्वरुप दिएर मेचीदेखि महाकालीसम्मका स्टेडियमा खेलाउने र सबैले अपनत्व लिन सकोस् भन्ने चाहना राखेका छौँ ।'

'ए डिभिजन लिग'लाई एन्फाले राउण्ड रोविनको योजना बनाएपनि कोभिड-१९ का कारण सम्भव नभएको बताइन्छ । लिगमा सहभागी १४ क्लबले एकआपसमा खेल्नेछन् । हालसम्म २८ खेल दशरथ रङ्गशालामा सम्पन्न भएका छन् ।

पोखरा फुटबल रङ्गशालालाई मनाङ मस्र्याङ्दी क्लबले आफ्नो होम ग्राउण्ड बनाउन राष्ट्रिय खेलकूद परिषद् र एन्फासँग सहमति लिएको छ । मनाङले खेल्ने तीनवटै खेलका सबै खर्च उसैले बेहोर्ने छ । सोहीअनुसार मनाङले क्लबसँग सहमति गरेर पोखरामा खेल्न विपक्षी टोलीलाई निम्ता गरेको लिग निर्देशक मिश्रले बताए । 

उनले भने, 'एन्फाले कुनै क्लबलाई पोखरामा खेल्नुहोस् भनेर आग्रह गर्दैन । क्लबकाबीच एकापसमा सहमति भएर पोखरामा खेल्न तयार छौँ भनेर सहमति बुझाएपछि एन्फाले आफ्नो खेल तालिकामा राखेको हो ।'

एन्फाले सुरुआतमा तीन खेलको तालिका पोखरामा राखे पनि आगामी दिनमा अन्य खेल पनि यही हुनसक्ने जनाएको छ । लिगको दसौँ चरणपछि क्लबको नम्बर बराबर हुने अवस्थामा एउटै समयमा विभिन्न रङ्गशालामा खेलाउनुपर्ने अवस्थामा पोखरालाई पनि प्रयोग गर्न सकिने बताइन्छ ।

मनाङ मस्र्याङ्दी क्लब उपाध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य विजय घलेले लिगका खेल काठमाडौँ बाहिर पनि लैजाने एन्फाको योजनामा आफूहरुले साथ दिएको बताए । यसलाई पोखराबाट सुरु गर्नुपर्दछ भनेर क्लबले अग्रसरता लिएको बताए । पोखरामा मनाङका समर्थक बढी रहेको र खेल गतिविधिका कारण पोखरा खेलकूद सहर बन्दै गएकालेसमेत मनाङको प्राथमिकता पोखरा रहेको उनले बताए ।

उनले भन्नुभयो, 'पोखरामा मनाङका 'फ्यान' पनि बढी छन्, यसका साथै नेपालको एउटा स्पोर्टस् क्यापिटल पनि पोखरा हो । दर्शकको चाहना पनि यहाँ खेल होस् भन्ने रहेकाले हामीले छनोट गर्‍यौँ ।' घलेले पोखरामा हुने खेलमा दर्शकको राम्रो साथ पाउने विश्वास लिइएको जनाउनुभयो । 

एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा सञ्चालन हुने खेल व्यवस्थितरूपमा सम्पन्न हुने बताए । उनले फुटबललाई माया गर्ने समर्थकका लागि सुवर्ण अवसर रहेको भन्दै खेल पर्यटन प्रवद्र्धनमा खेलले सघाउने बताए । रासस



नयाँ