arrow

भुइँमान्छे अर्थात् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
bishwa-prakash-sharma-223.jpg

काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनले विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएको छ । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ । त्यतिमात्र हैन उनीप्रतिको युवा भरोसा अझ बढेको छ । 

नेपाली विद्यार्थी आन्दोलनबाट स्थापित भएका विश्वप्रकाश वैचारिक क्षमता भएका प्रखर वक्ताका रुपमा चिनिन्छन् । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका उनी २०३७ सालमा विद्यालय पढ्दादेखि नै राजनीतिमा सक्रिय थिए । प्रजातान्त्रिक आस्था, समाजवादी विचारधारा र वीपी कोइरालाको विचारबाट प्रेरित शर्मा साहित्य र संगीत क्षेत्रमा पनि उत्तिकै परिचित छन् ।

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रका स्नातकोत्तर हुन् । प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भए पनि उच्च राजनीतिक संस्कार देखाएको भन्दै ताली पाएका उनी कांग्रेसको प्रवक्तासमेत भएर काम गरिसकेका छन् । तत्कालीन अवस्थामा राम कार्कीसँग पराजित भएपछि शर्माले पहिलो बधाई दिंदै उनलाई माला पहिर्याइदिएपछि उनको राजनीतिक संस्कारले खुबै चर्चा पाएको थियो । 

कुनै वंश–विरासत नभइ आफ्नै मेहनत र लगावले राजनीतिमा आएका उनी आफूलाई भुइँबाट उठेको नेताका रुपमा चित्रण गर्ने गर्छन् । त्यतिमात्र होइन उनी भुइँमान्छेसँगै रमाउने प्रेम, स्नेह र विवेकको राजनीतिमा घुलमिल हुन रुचाउने गरेको बताउँदै आएका छन् । कुनै समय रेडियो नेपालको कार्यक्रम ‘घटना र विचार’ को सम्पादक भएर काम गरेका उनी पछिल्लो समय ‘ऐना’ नामक चर्चित टेलिभिजन कार्यक्रममार्फत थप ख्याती कमाउँदै गएका थिए । प्रष्ट वक्ता, वैचारिक क्षमता साथै मिडियामैत्री स्वभावका उनी वीपी कोइरालाको जीवनशैली र व्यवहारलाई पछ्याउन रुचाउँछन् । 

२०४० सालमा धुलाबारी माविमा नेविसंघ इकाइ सभापति भएपछि सक्रिय राजनीतिमा उत्रिएका उनी २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका उनी २०४८ सालमा नेविसंघ केन्द्रीय सदस्य बनेर केन्द्रीय राजनीतिमा स्थापित बनेका हुन् । २०५३ मा नेविसंघ महामन्त्री, २०५३ मा उपसभापति साथै २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका उनी सभापति भएकै बेला कांग्रेसको महाधिवेशन प्रतिनिधि भएर कांग्रेसको राजनीतिमा उदाएका हुन् । 

कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएपछि उनी पार्टी प्रवक्ता साथै सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बनेर प्रभावकारी भूमिका निर्वाह गरेका थिए । कांग्रेसलाई प्रविधिमैत्री र युवामैत्री बनाउन उनले आफ्नो अवधारणा नै अघि सारेर काम गरेका थिए ।

महामन्त्रीमा चुनाव लड्नुअघि कांग्रेस रुपान्तरणका लागि २४ बुँदामा आफ्नो अवधारणा नै सार्वजनिक गरेर महामन्त्रीको उम्मेदवारका रुपमा आफूलाई सशक्त प्रस्तुत गरेका थिए । वाकपटु र वक्तृत्वकलामा सिपालु मानिने उनका दर्जनौं भाषणहरु सामाजिक संजालमा भाइरल भएका छन् । 

नेविसंघका सभापति बनेपछि उनले दुई वर्षे कार्यकाललाई एक दिन पनि बढी नलम्ब्याइ महाधिवेशन गराएर पद हस्तान्तरण गरेका शर्मा विधि र तिथिलाई इमानदारीका साथ पालना गर्नुपर्छ भन्ने पक्षमा उभिने गरेका छन् ।

‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ नारा दिएर कांग्रेसको शाख जोगाउन लागि पर्ने प्रण गर्दै आएका शर्माले भन्ने गरेका छन्, ‘देशको मुहार बदल्नु छ त राजनीतिको मुहार बदलिनु पर्छ ।’ 

पछिल्लो पुस्ताका आशालाग्दा नेताका रुपमा हेरिएका शर्मा यतिबेला महामन्त्री पदमा विजयी भएर कांग्रेसको नयाँ अध्याय कोर्ने बिन्दूमा उभिएका छन् ।

हुनत उनले संस्थापनबाट महामन्त्रीमा लड्ने भनेका थिए । तर प्यानलमा असहमति भएसँगै उनी प्रकाशमान सिंह पक्षबाट लड्न पुगे । र पनि जनप्रतिनिधिले उनको प्यानल हेरेनन् उनलाई हेरेर जिताए । 

अब विश्वप्रकाशको थाप्लोमा आफ्नो गरिमा जोगाउने जिम्मेवारी त छ नै उनलाई जिताएका हरेक सम्मानित मतको पनि अभिभारा बोक्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ