arrow

डिजिटल मतदानमा चुकेको कांग्रेस – मत गन्नै आधा महिना ?

logo
एम गौतम
प्रकाशित २०७८ पुष २ शुक्रबार
congress-vote-final.jpg

काठमाडौं । अहिलेको डिजिटल प्रविधिको युगमा कागजी मतदानमा अल्झेको कांग्रेसलाई मत गन्नै १५ दिन भन्दा बढी समय लाग्ने देखिएको छ। कांग्रेसले १४ औं महाधिवेशनमा सभापति पद बाहेक अन्य पदाधिकारी तथा सदस्यहरुको मतदान विद्युतीय प्रणालीबाट गर्ने बारेमा छलफल गरेको भए पनि अन्तिममा भने कागजी मतदानमार्फत नै नेतृत्व चयनको प्रक्रिया अघि बढाएको थियो । कांग्रेसले मतदान सकेर मतगणना शुरु गरेको आज पाँचौं दिन हो ।

कांग्रेसको १४ औं महाधिवेशन २४ देखि २७ मंसिरसम्म भएको भए पनि निर्वाचन प्रक्रिया अन्तर्गत मतदान भने २७ र २८ मंसिरमा मात्रै भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले विद्युतीय मतदानको प्रस्ताव निर्वाचन समितिले गरेको भए पनि पार्टी नेतृत्व सहमत नबन्दा कागजी मतदानमा जानु परेकाले गणनामा ढिलाइ भइरहेको बताए ।

‘निर्वाचन समितिले विद्युतीय मतदानको प्रस्ताव गरेको थियो, तर त्यसमा सबै सहमत हुने अवस्था बनेन र नेतृत्वबाट कागजी मतदानमा नै अघि बढ्न आग्रह भए अनुसार भएको हो, कागजी प्रक्रियामा गणना गर्न समय लागेको छ,’ संयोजक घिमिरेले भने ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले शुक्रबार सहमहामन्त्रीको गणना सकिने र शनिबारबाट केन्द्रीय सदस्यहरुको गणना शुरु गरिने जानकारी दिए । ‘आज साँझसम्म सहमहामन्त्रीको गणना सक्छौं, त्यसपछि केन्द्रीय सदस्यतर्फको गणना शुरु हुन्छ, सबै परिणाम आउन अझै चार पाँच दिन लाग्ला,’ निर्वाचन समितिका सचिव श्रेष्ठले भने ।

उनका अनुसार सहमहामन्त्री गणना १० स्थानबाट भइरहेको छ । सहमहामन्त्रीतर्फ ८ पदको निर्वाचन भएको थियो । जसमध्ये महिला, आदिवाासी जनजाती र दलिततर्फको परिणाम सार्वजनिक भइसकेको छ। बाँकी पाँच पदको गणना जारी छ।

कांग्रेस महाधिवेशन सम्पन्न भएलगत्तै २७ मंसिर रातिबाट नै मतगणना शुरु गरिएको थियो । त्यसबखत सभापतिको गणना शुरुमा नै गरिएको थियो भने सभापतिमा उम्मेदवार बनेका कसैले पनि ५० प्रतिशत बढी मत पुर्याउन नसकेपछि पुनः २८ मंसिरमा पहिलो र दोस्रो स्थान ल्याउने उम्मेदवारबीच मतदान गरिएको थियो ।

त्यसयता सभापतिको गणना गर्न एक दिन, उपसभापतिको मत गणना गर्न अर्को एक दिन र महामन्त्रीको गणना गर्दा एक दिन बितिसकेको छ। सहमहामन्त्रीको गणना बिहीबारबट शुरु भएको भए पनि सबै परिणाम भने आइसकेको छैन । आठ सहमहामन्त्री पदमा १९ जना उम्मेदवार छन् । 

यसैगरी सहमहामन्त्रीपछि १२१ जना केन्द्रीय सदस्यको मतगणना शुरु हुने निर्वाचन समितिको भनाइ छ। कांग्रेस महाधिवेशनको मतदान प्रक्रियामा १ सय ३४ पदका लागि ४ सय ८९ उम्मेदवार मैदानमा थिए । जसमध्ये प्रदेश २ अन्तर्गतका दुई सदस्य रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना पहिले नै निर्विरोध निर्वाचित बनेका थिए । 

अब भने सहमहामन्त्री ५ सहित १ सय २४ जना निर्वाचित हुन बाँकी छ। सो संख्यामा केन्द्रीय सदस्य मात्रै १ सय १९ जना निर्वाचित हुनेछन् । 

कांग्रेस विधानमा कूल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ भने त्यसमध्ये १ सय ३४ जना निर्वाचन प्रक्रियामार्फत चयन हुने उल्लेख छ । जसमध्ये १३ जना पदाधिकारी मात्रै छन्।

एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य भने विधानमा भएको व्यवस्थाको सदुपयोग गर्दै निर्वाचित सभापतिले पछि मनोनित गर्ने छन् ।

कांग्रेसको काम आन्तरिक चुनावमा अल्झने हैन 
कांग्रेसको काम आन्तरिक चुनावमा अल्झने हैन । कांग्रेसले सत्ताको नेतृत्व गरेको छ । त्यसैगरी अब फेरि तीन तहका निर्वाचन आउँदैछन् । त्यो निर्वाचन गर्नुछ । 

त्यसअघि त कांग्रेस जनतामै जान सकेको छैन । के भनेर जाने ? 

२०७४ सालमा आफैले निर्वाचन गराउँदा कांग्रेस दोस्रो भयो । एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । तर पनि कांग्रेसले नै निर्वाचन गराएको थियो । 

एमाले पहिलो दल बन्यो । माओवादी तेस्रो भयो । अहिले त फेरि एमाले–माओवादी पुरानै अवस्थामा फर्केका छन् । कांग्रेसलाई पहिलो दल बन्ने अवसर छ । 

तर आन्तरिक किचलो एकदम बढी छ । कांग्रेसको संस्थापन र इतरको ट्याग निकै नै गहिरो गरी लागेको छ । यो ट्याग हटाउनु जरुरी छ । 

स्थानीय तहदेखि नै थालिएको गुट भत्काउनु जरुरी छ । महामन्त्रीमा लोकप्रिय मतसहित निर्वाचित भएपछि गगन थापाले भनेका छन् –पहिले यही गुट भत्काएर सिङ्गो कांग्रेस बनाउँछौं ।

यदि उनले भनेजस्तो भयो भनेमात्र कांग्रेस एकजुट हुन्छ । अपेक्षाकृत रुपमा युवाहरु कांग्रेसमा आउँछन् । अनि भरलाग्दो बहुमत आउँछ र देशमा उन्नति होला । 

तर कांग्रेसभित्र पनि भ्रष्टाचारमा रमाउने मानसिकता गएको छैन । त्यो जालो चिर्न सकेमात्र विकास हुन्छ । ‘म’ भन्ने शब्द हटाएर ‘हामी नेपाली’ बन्न सक्यो भने मात्र कांग्रेसको लहर फर्कन सक्ला । 

तर कांग्रेसले आफूलाई ‘अपग्रेड’ गर्नुपर्छ । विद्युतका ठाउँमा कागजी मतपत्र प्रयोग गरेजस्तो नसुध्रने हो भने युवाहरुले ल्याएको महाधिवेशनको लहर व्यर्थ जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ