arrow

निर्वाचन समिति तात्तियो, रातिसम्म केन्द्रीय सदस्य खुलाको नतिजा ल्याउने कसरत, १३ ठाउँमा गणना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
vote-count-congress22.jpg
तस्बिर– फाइल

काठमाडौं । विद्युतीय मतदान नगरेर आलोचित भएको नेपाली कांग्रेसको इज्जत थामिदिनका लागि केन्द्रीय निर्वाचन समितिले रणनीति बदलेको जनाएको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले मतगणना छिटोछिटो सकाउनका लागि धेरै ठाउँमा गणना भइरहेको बताएका छन् । 

आज बिहानदेखि खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि शुरु भएको मतगणनाको शुरुआती परिणाम भने केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको छैन । सचिव श्रेष्ठले १२ ठाउँमा मतगणना थालिएकाले एक हजार मत गन्नासाथ प्रारम्भिक परिणाम सार्वजनिक गर्ने जानकारी दिएका छन् । 

उनले रातिसम्म मतगणना गरेर केन्द्रीय सदस्य खुलाको अन्तिम परिणाम सार्वजनिक गर्ने गरी तात्तिएको बताए । उनले भने, ‘हामीले १३ ठाउँमा गन्न थालेका छौं । राति ११ बजेसम्म गनेर सकभर आजै अन्तिम परिणाम दिने गरी गणना गरेका छौं ।’

मत गन्न थालेको छैटौं दिन भइसकेको छ । बल्ल तल्ल पदाधिकारीको मतगणना सकेको निर्वाचन समितिको भनाइमा विश्वास गरिहाल्ने आधार छैन । तर मत गनेर मात्र दिन कटाउने वा धेरै जनशक्ति राखेर द्रूत गतिमा गणना सकाउने भन्नेमा समितिले सोच्नुपर्नेछ । जनशक्ति थपेर फरक फरक स्थानमा गनेरै भए पनि परिणाम सकारात्मक ल्याउनु पर्नेछ । 

विद्युतीय मतदान भएको भए दुई दिनमै सबै परिणाम आइसकेको हुने थियो । अझ कति दिन लाग्छ पत्तो छैन । 

यस्तो छ केन्द्रीय सदस्य खुलाको स्थिति 
३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिने छन् ।

चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ । केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ । 

संस्थापन इतरबाट समूह मिलाउन नसकेर सभापतिका आकांक्षी भएर पनि अन्तिम समयमा केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका निवर्तमान महामन्त्री डा। शशांक कोइराला, सभापतिमै लड्ने अठोटसहित प्रचार गरेर केन्द्रीय सदस्यमै चित्त बुझाउन पुगेका गोपालमान श्रेष्ठको भिडन्त रोचक रहने छ । 

त्यस्तै उपसभापतिको उम्मेदवार हुने निश्चित जस्तै भएर पनि नेतृत्वमा साझा उम्मेदवार हुन्छ भने आफूले उपसभापति छाड्न तयार छु भनेर सदस्यमै उठेका अर्जुन नरसिंह केसी, संस्थापन पक्षमा भागबण्डा मिलाउन नसकेर महामन्त्रीका आकांक्षी भए पनि केन्द्रीय सदस्यको उम्मेदवारमा चित्त बुझाउन पुगेका बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक लगायतको भिडन्त रोचक हुनेछ । 

त्यस्तै केन्द्रीय सदस्यमा पहिलो पटक पदार्पण गर्न लागेका वौद्धिक क्षेत्रका प्राडा गोविन्दराज पोखरेल, पर्यटन व्यवसायी राजेन्द्र बजगाई, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीदेखि तरुण दलका अध्यक्ष जितजंग बस्नेतदेखि नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना लगायतको  आकांक्षाको गणना पनि रोमाञ्चक नै हुनेछ । 

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै तीन केन्द्रीय सदस्यको पनि परिणाम सार्वजनिक भइसकेको छ । प्रदेश २ को खुलाबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल तथा महिलाबाट चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

हरेक प्रदेशबाट २ खुला र १ महिला गरी तीन जना केन्द्रीय सदस्यहरु केन्द्रमा आउने छन् । 

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । 

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ