- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट अध्यक्षमा पुनः शेरबहादुर देउवालाई निर्वाचित गराइएको छ । यो महाधिवेशनमा देउवाको जित पनि स्वाभाविक नभएर एउटा प्राविधिक जित हुन गएको देखिन्छ । निर्वाचनको प्रथम चरणको परिणाममा संस्थापन इतर समूहमा ५२ प्रतिशत मत आएको थियो । पछिल्लो चरणको निर्वाचन हुँदा पुस्तान्तरणको मुद्दा उठाएर निर्वाचनमा होमिएका आफूलाई सच्चा कांग्रेस भन्ने र कांग्रेसको लामो इतिहास रचेका अध्यक्षका प्रत्यासीहरूको पद लोलुपता, कुर्सीको मोह र आफ्नो वैचारिक धरातल बिर्सिएर पुनः देउवालाई समर्थन गर्दा देउवाको जित प्राविधिक बन्न गएको हो ।
रामचन्द्र पौडेल समूहका प्रत्यासीहरू प्रकाशमान र विमलेन्द्रको अनुत्तरदायी र जिम्मेवारविहीन क्षणिक अवसरवादी राजनीतिक निर्णयको परिणाम नै देउवाको जित बन्न पुगेको हो । वैचारिक रुपमा पुस्तान्तरण र रुपान्तरणको मुद्दा उठाइ युवा पुस्ताको नेतृत्व गरेका शेखर कोइरालाको जित देखिन्छ । देउवालाई जसरी पनि हराउनु पर्छ भनी प्रत्यासी बनेका प्रकाशमान र विमलेन्द्रले उनलाई हटाउने अवसर आउँदा पुनः रातारात फोहोरी खेल खेलेको देखियो ।
नेपाली कांग्रेसका तमाम कार्यकर्ताको नजरमा उनीहरूले राजनैतिक बेइमानी र अवसरवादीको टीका ग्रहण गरे । कांग्रेसका महान् नेताहरू गणेशमान र महेन्द्रनारायणका सन्ततिले बुबाको राजनीतिक इमान्दारिताको विरासत बिर्सिएर स्वस्थ्य र सच्चा राजनीतिको बाटो बिराइ अवसरवादी बन्न पुगे । नेपाली कांग्रेसको इतिहासमा पुस्तान्तरण र रुपान्तरणको मुद्दाको सवालमा यो एउटा महत्त्वपूर्ण कलङ्कित घटनाको रुपमा लेखियो । प्रकाशमान र विमलेन्द्रमाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
कांग्रेसको पुस्तान्तरणको मुद्दा विगत दुई–तीन वर्षदेखि निरन्तर बहसको रुपमा चलिरहेको थियो । अहिलेको २१ औं शताब्दीमा देउवाले पार्टीलाई रुढीवादी पद्धतिबाट चलाएको, पार्टी सञ्चालन नगरी कांग्रेसको गुट सञ्चालन गरेको, जिम्मेवार बन्न नसकेको आदि थुप्रै आरोपहरू देउवालाई लगाइएको थियो । विगतको आमनिर्वाचनमा कांग्रेसले शर्मनाक हार बेहोर्दा पनि देउवा गुटले यसप्रति खासै जिम्मेवारी लिन चाहेन । विशाल पार्टी खुम्चिएर बस्नुपर्यो ।
जसको परिणाम केपी शर्मा ओलीले सर्वसत्तावादी शासन प्रणाली अपनाए । देउवाको नेतृत्वमा दह्रो र अडानयुक्त प्रतिपक्ष भइदिएको भए सायद ओलीले संसद भङ्ग गर्ने साहस गर्ने थिएनन् । प्रतिपक्ष कमजोर हुनाले सत्तापक्षलाई अराजनीति गर्न सजिलो भयो । अहिलेको कांग्रेसको परिणामलाई हेर्दा अब देउवालाई गुटको मात्र राजनीति गर्न सजिलो छैन । पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाको अहिलेसम्म कुनै शुद्ध अनुहार देखिएको छैन । नयाँ पुस्ताहरूले नयाँ विचार भरेर कांग्रेसलाई गतिशील र जीवन्त दिन्छन् कि भन्ने आशामात्र देखिन्छ ।
१४ औं महाधिवेशनको अहिलेसम्मको परिणामलाई हेर्दा पुस्तान्तरण भएको स्पष्ट खाका देखा परेको छ । पदाधिकारीको प्रतिस्पर्धात्मक परिणामलाई हेर्दा देउवा बाहेक प्रायस् युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताहरू नै चयन भएका छन् । भर्खरै भएको महाधिवेशनबाट पदाधिकारीमा पनि देउवा र खड्का बाहेक सबै नयाँ अनुहार आएका छन् । नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने धनराज, गगन, विश्वप्रकाश, बद्री, डिना, जीवन, उमाकान्त, फर्मुल्लाह, महेन्द्र, किशोर लगायतका नेताहरू नेतृत्वमा आएका छन् ।
कांग्रेससको पुस्ताको कुरा गर्दा वीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजा, महेन्द्रनारायण लगायत पहिलो पुस्ता हुन् भने शेरबहादुर, रामचन्द्र, प्रकाशमान, विमलेन्द्र आदि दोस्रो पुस्ता हुन् । त्यस्तै धनराज, गगन, विश्वप्रकाश, प्रदीप आदि तेस्रो पुस्ता र नव प्रवेशीहरू जुन पच्चीसदेखि चालीस उमेर समूहको छ त्यसलाई चौथो पुस्ता भन्न सकिन्छ । समय क्रममा अबको कांग्रेसको नेतृत्व तेस्रो पुस्ता र चौथो पुस्ताले सम्हाल्ने बेला आएको छ । अहिलेको अवस्थामा जब तेस्रो र चौथो पुस्ता राजनीतिमा सक्रिय भई नेतृत्व लिन तयार हुन्छ र नेतृत्वमा पुग्छ तब पुस्तान्तरण भएको मानिने छ । नयाँ विचार स्थापित भएको मानिनेछ ।
नेपाली कांग्रेस नेपालको पुरानो र नेपाली राजनीतिमा एउटा छुट्टै ऐतिहासिक विरासत बोकेको पार्टी हो । यसले ७५ वर्षको इतिहासमा थुप्रै उतारचढावहरू व्यहोरेको छ। एउटा जिउँदो र विशाल पार्टीको महाधिवेशनमा आन्तरिक लोकतन्त्रात्मक प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । तर गुट जम्मा गरेर विचारविहीन राजनीति गर्नु पार्टीमा कलङ्कित हुनु नै हो । नेपाली राजनीतिको निकासको सवालमा होस् वा नेपाली जनताको गास, बास, कपास र शान्ति सुरक्षाको सवालमा निष्क्रिय बस्नु अनुत्तरदायीपन हो ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि देशमा कांग्रेसले आफ्नो अस्तित्व देखाउन नसकेको प्रष्ट छ । यसले गर्दा देश पनि राजनीति अन्तरद्वन्द्वमा रुमलिएको छ । गिरिजाको निधनपछि नेतृत्व लिएका अध्यक्षहरू पार्टीको खम्बाको रुपमा न सुशील कोइराला बने न त शेरबहादुर देउवा नै बने । पछिल्लो चरणमा सानो सानो रुपमा कांग्रेस गुट र उपगुटको अन्तरद्वन्द्वले भित्र भित्र कता हरायो । नेपाली जनताले आफूसँग
कांग्रेस रहेको खासै आभास पाएनन् ।
कांग्रेसको विगतको इतिहास भनेको जनतामा भिजेको र आफ्नो छुट्टै अस्तित्व निर्माण गरेर आफ्नो उच्च विरासत कायम गर्दै आएको पार्टी हो । तर देउवाकालमा अनुभूति योग्य काम हुन सकेन । वीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको मूल सिद्धान्तलाई आफ्नो राजनैतिक यात्रा बनाएको कांग्रेसले देउवाको नेतृत्वको कार्यकालमा कांग्रेस पनि देशमा छ र भन्ने अवस्था आएको पाइयो । कांग्रेसको इतिहासलाई हेर्दा पहिलो पुस्ताले पार्टी स्थापना गर्नुको उद्देश्य भनेको जहानियाँ राणा शासनको समाप्ति र प्रजातन्त्रको स्थापना थियो । त्यसको लागि स्थापना भएका दुई पार्टी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको देखिन्छ।
इतिहासलाई हेर्दा यो पार्टी स्थापनाको एकमात्र लक्ष्य, उद्देश्य र ध्येय भनेको केवल राणा शासनको समाप्ति, प्रजातन्त्रको स्थापना, समुन्नत नेपाल र समृद्ध नेपाली बाहेक केही थिएन । परिणामस्वरुप यसको स्थापना कालको लक्ष्य र उद्देश्य २००७ साल फागुन ७ गते प्राप्त भयो । प्रजातन्त्रको स्थापनापछि प्रजातन्त्रका लागि गरिएको गौरवपूर्ण क्रान्तिलाई बिर्सिएर तत्कालीन राजाले राणाको स्थान लिन प्रयत्न गरेपछि २००७ सालदेखि २०१५ सालसम्म राजा र कांग्रेसका बीचमा अन्तरविरोध र संघर्ष शुरु भएको देखिन्छ । २०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाईको सरकार गठन गरेपश्चात कांग्रेसको राजनैतिक उचाई र छवि राम्रो देखिन्छ ।
सायद कांग्रेसको यो छवि देखेर र नेपालको पहिचान र उपस्थिति, देश विकासले लिएको अग्रताबाट डराएर मोजमस्तीमा पल्किएका राजाले आफूबाहेक अरुलाई देश दुनियाँले राम्रो भनेको देख्न नचाहने राज परम्पराका कारण राजा महेन्द्रले २०१७ साल पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरी राज्यसत्ता आफ्नो हातमा लिएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री महामानव वीपी कोइरालालगायत कांग्रेसका नाम चलेका सबै नेताहरुलाई थुनामा हालेर पञ्चायत व्यवस्थाको प्रादुर्भाव गरे । तर कांग्रेस निरन्तर रुपमा पञ्चायतका विरुद्ध आन्दोलन गरिरह्यो । ३० वर्षको अनवरत आन्दोलन गरेपछि कांग्रेस र कम्युनिष्ट मिलेर ऐतिहासिक आन्दोलन पछि नेपालमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएको थियो ।
२०४६ सालको बहुदलीय प्रजातन्त्र आएपछि अधिकांश नेपालको शासनसत्ता कांग्रेसले सम्हाल्यो र त्यसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । २०४६ पछिको शासन सत्तामा बाँचुन्जेल अधिकांश समय कोइरालाको एकछ्त्र नै चल्यो। यही समयमा कांग्रेस सत्तालिप्सा र कुर्सी मोहले घृणित राजनीतिक चक्रव्युहमा पर्यो । फलस्वरूपः सांसद किनबेच जस्तो क्रियाकलाप कांग्रेसमा देखापर्यो । पार्टीका संस्थापक र निष्ठावान नेताहरू गणेशमान र कृष्णप्रसाद पार्टीमा बस्ने अवस्था नदेखी राजनीतिबाट सन्यास लिनुपरेको थियो । सत्तालिप्साको खेलले ३६–७२ हुँदै पार्टी फुट्ने सम्मको अवस्था पुगी पार्टी फुट्यो । नेपाली कांग्रेसमा नाम कहलिएका उच्च पदस्थ नेताहरू नै भ्रष्टाचारी भए र कांग्रेसमात्र नभएर नेपाली राजनीतिमा कलङ्कको टीका लगाए जसले गर्दा कांग्रेसको जुन छवि र विरासत थियो त्यसमा इतिहासमा नै नपुछिने गरी दाग लाग्यो ।
कांग्रेसको १२ औं महाधिवेशनले गिरिजाप्रसाद पछिको नेतृत्व सुशील कोइरालामा आयो । सादगी जीवन पद्धति अँगाल्ने सुशील कोइरालाले गिरिजाको राजनीतिक उचाइ लिन सकेनन् । उनको एउटा महत्त्वपूर्ण ऐतिहासिक योगदान भनेको उनी अध्यक्ष र प्रधानमन्त्री भएकै कार्यकालमा २०७२ मा नेपालको संघीय गणतन्त्रात्मक सम्विधान बनेको थियो । सुशीलको निधनपछि देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले प्रतिस्पर्धा गरी कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा अध्यक्षमा निर्वाचित भई पुनः १४ औंमा पनि सभापित बन्न सफल भएका छन् ।
कांग्रेसको पछिल्लो इतिहासमा देउवाको कार्यकाल अत्यन्तै विवादास्पद र गुटगत देखियो । यिनी असफल सभापति सावित भए । देउवाका अगाडि अब ठूला चुनौती र अवसर दुवै छन् । प्रजातान्त्रिक परिपाटी, विधि र विधानमा रही सम्पूर्ण कार्यकर्तालाई समान व्यवहार र नयाँ पुस्ताको आगमनलाई सहर्ष स्वीकार गर्न सके भने यो उनको अवसर हुनेछ । अहिलेसम्म उनमा लागेको कालो धब्बा थोरै मेटिन सक्छ तर फेरि उही पुरानै आफ्नालाई काखा र पाखा राख्न खोजे भने अर्को कालो धब्बा लाग्नेछ र नयाँ पुस्तालाई अर्को आन्दोलन गर्न बाध्य पार्ने छन् ।
कांग्रेसको स्थापना र त्यसपछिको आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका देउवाले पटक पटक सत्ता पाउँदासमेत देश र जनताले अनुभूति हुन लायक ऐतिहासिक काम गर्न सकेनन् । जहिले पनि सत्ता लिप्साको फोहरी खेलमा लागे र कांग्रेस नै फुटाले । कहिले सक्षम र कहिले असक्षम बनी सत्ता चलाए । इतिहासमा भागबण्डाको राजनीति गर्दा जम्बो मन्त्रीमण्डल बनाएर शासन सत्ताको चरम दुरुपयोग गरेका थिए । सत्तालिप्सा र फोहोरी खेल खेल्न माहिर देखिएका देउवा नेपालको इतिहासमा सबैभन्दा धेरै प्रधानमन्त्री हुने भाग्यमानी व्यक्तिका रुपमा अहिले पाँचौंपटक प्रधानमन्त्री भएका छन् ।
उनी व्यक्तिगत रुपमा यति भाग्यमानी छन् कि अब पनि कांग्रेसले उनकै नाम लिएर आगामी निर्वाचनमा भाग लिनेछ । कम्युनिष्टहरू तितरबितर भएको यो अवस्थामा कांग्रेस एक मन र एक जुट भएर निर्वाचनमा होमिने हो भने अबको प्रधानमन्त्री पनि देउवा नै बन्न सक्ने प्रवल सम्भावना पनि छ। यो देउवाको लागि जीवनमा पुनः अर्को अवसर हो । उनले गुटको राजनीति अन्त्य गरी अहिले आएको नयाँ पुस्तालाई अगाडि सार्दा कांग्रेसमा रुपान्तरण पनि देखा पर्छ।
नेपाली कांग्रेसमा आफूलाई महान् नेता हुँ भन्नेहरूले केन्द्र र सत्ताको वरिपरि छोडेर नयाँ पुस्तालाई सहर्ष स्वीकार गर्न सक्ने हो भने पक्कै पनि कांग्रेसको मात्र नभएर देशकै रुपान्तरणको सम्भावना देखिन्छ किनकि अहिलेको नयाँ पुस्ता सुझबुझका साथ एउटा गन्तव्य लिएर आएको देखिन्छ । कांग्रेसमा पनि अरु पार्टीको जस्तै समस्या भनेको केही नेतालाई देवत्वकरण गर्ने शैली रहेको देखिन्छ । मानौं केही नेता बिना पार्टी चलाउन सकिँदैन कि भन्ने असक्षमता तेस्रो पुस्ता वा चौथो पुस्तामा देखिन्छ । अब चाकरी र चाप्लुसी गर्दै ५–७ जनाको अगाडि पछाडि सम्पूर्ण पार्टी पंक्ति लाग्ने कुरालाई अन्त्य गर्नुपर्छ ।
आज नेपाली जनताले २१ औं शताब्दीको युग अनुकूल पार्टी र देश हाँक्ने युवा पुस्ताको नेतृत्व खोजिरहेका थिए । त्यो पाउन सफल पनि भएका छन् । यस्तो अवस्थामा युवा नेतृत्वहरू खुट्टा कमाएर डराइ डराइ असक्षमता प्रकट गर्न खोज्यो भने इतिहासले माफी दिने छैन । किनकि नेपाली जनताको देशमा व्यवस्था परिवर्तन भएको तीन दशक बित्दा पनि अवस्था ज्यूँको त्यूँ रहन गएको छ । अबको बाटो भनेको देउवाले नयाँ पुस्ताको विचारलाई आत्मसात गर्दै अभिभावकीय भूमिकामा रही देशको समृद्धका लागि अगाडि हिँड्नु पर्छ । अनि मात्र नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावना देखिन्छ ।
उमेरगत दृष्टिले हेर्दा पनि नेतृत्वमा आएका तेस्रो पुस्ता भनेको चालीसदेखि साठीको हाराहारीमा देखिएका छन् । यिनीहरुको उत्साह र सपनालाई साकार पार्न कांग्रेसहरू एकजुट हुनुपर्छ । अहिलेको वर्तमान नेपाली राजनीतिमा एउटा व्यक्ति पटक पटक नेतृत्वमा बस्ने अनि माखो नमार्ने संस्कारले राजनीति नै दुर्गन्धित बनेको हो । यस्तो दुर्गन्धलाई तुरुन्तै सफा गर्नु पहिलो काम हो । कांग्रेस यस महाधिवेशनमा युवा पुस्ताले पुरानो पुस्तासँग हस्तक्षेप गरी सभापतिमा प्राविधिक हार भए पनि विचारको जित भएको छ । यो विचारलाई कार्यान्वयनमा हेर्न बाँकी छ ।
अहिले पार्टी नेतृत्वमा पुगेका नेता २१ औं शताब्दीमा कार्यकर्ता प्रिय र आम नागरिकबीच विचारको संप्रेषण गरिरहन सक्ने हुनुपर्छ । कुनै पनि मुद्दामा आफ्नो अभिमत प्रकट गरेर जनमत निर्माण गर्न उही पुरानो आचरण र शैली अपनाएर हुँदैन र नसक्ने व्यक्ति नेता हुन योग्य पनि हुँदैन । अब पनि देउवा र कोइरालाको साठी र चालीसको दौराको फेरो समातेर तिनीहरूको वरिपरि घुम्न खोजियो भने नयाँ कांग्रेसको अनुभव नेपाली जनताले गर्न पाउँदैनन् र सिङ्गो पार्टीमात्र होइन नेपालीहरूको आशा फेरि पनि अन्धकारमा नै रुमलिने छ।
कांग्रेस नेपाली जनताको आशा र भरोसाको पार्टी बन्न व्यक्ति, समूह र गुटगत राजनीति नगरी नेपाल र नेपालीको मनमा बस्ने तरिकाले देशलाई समृद्धशाली बनाउने काममा तुरुन्त लाग्नुपर्छ र आगामी तिनै तहको निर्वाचनमा शानदार विजय निकाल्नुपर्छ ।