arrow

कलमको तागतसहित लम्कियो अजयबाबुको राजनीतिक यात्रा 

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ पुष ४ आइतबार
ajayababu-shiwakoti-congress-central-committee.jpg

काठमाडौं । अन्ततः कलमको तागतले जितेको छ । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी पहिलो पाइलामै सफलता हासिल गर्न सफल भएका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी पहिलो पटकको उम्मेदवारीमै केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा निर्वाचित हुन सफल भएका हुन् । 

यो जित उनको मात्र नभएर प्रेस युनियनको पनि हो । किनकि उनले अब नीतिगत रुपमै प्रेसको महत्व पार्टीलाई बुझाउन सक्नेछन् र प्रेस स्वतन्त्रताका लागि थप सशक्त भूमिका खेल्न सक्नेछन् । उनले कांग्रेसको राजनीतिमा हात हाल्नुपूर्व पूर्णरुपले सम्हालेको पेशा पत्रकारिता हो । पत्रकारिता क्षेत्रमा चर्चित र सनसनीपूर्ण अनुहारमा उनी पर्छन् ।

उनले गरेका रिपोर्टिङबाट समाजमा ब्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ। ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा ब्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै एमालेका नेता गोकुल बास्कोटा संचार मन्त्री रहेका बेलामा शिवाकोटीले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बास्कोटाले पनि पद छाड्नु परेको थियो । 

उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् । उनै शिवाकोटी हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक हुन् । उनी पूर्णकालीन राजनीतिमा आएपछि पत्रकारिताको रिपोर्टिङबाट विश्राम लिने बताइसकेका छन् । हुन पनि पत्रकारले राजनीति गर्नुहुन्न भन्नेमा उनी सचेत छन् । 

त्यसैले पनि राजनीतिक कार्यकर्ता भइसकेपछि उनी पत्रकारिताको रिपोर्टिङमा देखिने छैनन् । उनी दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर १४ औं महाधिवेशनमा सहभागी भएका थिए । उनले पत्रकारिताको रिपोर्टिङ्गबाट विश्राम लिए पनि नीतिगत रुपमा भने झन् सशक्त भएर लाग्ने प्रेरणा मिलेको छ ।  

किनकि उनीसँग भएको क्षमता भनेकै पत्रकारिता हो र पत्रकारिताकै माध्यमबाट उनी कांग्रेसको नीतिनिर्माण तहमा पुगेका छन् । उनी प्रेस स्वतन्त्रताका लागि सडकमा धेरै पटक लडे । पक्राउ परे । प्रेस स्वतन्त्रता र कलमको महत्व उनले अब थप सशक्त भएर पार्टीभित्र फैलाउनु पर्नेछ । 

उनले मतदानको दिन गत मंसिर २७ गते महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पत्रकारिताको सबैभन्दा सशक्त कलम उपहारका रुपमा दिँदै कलमको सही उपयोग गर्न आग्रह गरेका थिए ।

जसरी कलम पत्रकारको हतियार हो त्यसरी नै कलमले निष्पक्ष र निडर भएर मतदान गर्न पनि उर्जा दिने उनको जिकिर थियो । शिवाकोटीले मतदातासँग कलमको तागत सम्झाउँदै मत दिएर माया गर्न आग्रह गरेका थिए । 

नभन्दै मतदाताको माया उनले पाएका छन् । अब उनले पाएको मायालाई शक्तिमा बदलेर युवा सोचलाई पार्टी रुपान्तरणमा लगाउनु पर्नेछ । त्यसो त जित लगत्तै धन्यवाद सन्देश जारी गर्दै उनले भनेका छन्, ‘परिवर्तित समयाकुकूल परिवर्तनका लागि नेपाली कांग्रेसले लिएको रूपान्तरणको लक्ष्य पूरा गर्न तपाईले दिनुभएको अमूल्य मतप्रति हार्दिक आभार प्रकट गर्दछु । अग्रजहरूको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहनसहित कांग्रेसलाई अझ सुदृढ, गतिशील र समावेशी बनाउन तत्पर रहने छु ।’

दुई दशक बढी समय सक्रिय पत्रकारितामा बिताएका उनी २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । त्यतिमात्र हैन लोकतन्त्रका लागि र प्रेस स्वतन्त्रताका लागि घन्किने नाराहरुमा उनको स्वर चर्को बनेर दरबारसम्म पुग्न खोज्थ्यो ।

तिनै सशक्त आवाजका धनी शिवाकोटी पछिल्लो समय कृष्णबहादुर महरा र गोकुल  बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् । जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू संचार उद्यमीका रुपमा भने रहिरहने बताएका छन् । 

शिवाकोटीले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर नेतृत्व चुन्नसमेत आग्रह गर्दै आफू महाधिवेशनपछि प्रेस युनियनसहित पत्रकारिताको राजनीतिमा नफर्कने पनि स्पष्ट पारेका छन् । उनी पत्रकारिताको राजनीतिमा नफर्किए पनि नेपाली पत्रकारितालाई सशक्त बनाउन राजनीतिक तहबाट भने धेरै सोच्न सकुन् । 

जसरी पत्रकारिता गर्दा थुप्रै सम्मानसहित पुरस्कार थापे, जसरी सशक्त पत्रकारिताकै माध्यमबाट प्रवल जनसेवाश्री पुरस्कार पाउने भएका छन् त्यसरी नै पार्टी राजनीतिमा पनि अब्बल नेता बनेर जनसेवामा जुट्न सकुन् । देश निर्माणमा उनको अहम् भूमिका रहोस् । हार्दिक शुभकामना !



नयाँ