arrow

आयो खुला ३५ केन्द्रीय सदस्यको अन्तिम नतिजा, डा. शशांक लोकप्रिय, यी हुन् निर्वाचितहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ ३५ केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा लोकप्रिय मतसहित निवर्तमान महामन्त्री डा. शशांक कोइराला शीर्ष स्थानमा रहेर निर्वाचित भएका छन् । 

त्यसैगरी एनपी साउद, बालकृष्ण खाँण, उदय शम्शेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले विजयी भएका छन् । 

त्यस्तै पद्म नारायण चौधरी, गुरु बराल, प्राडा गोविन्दराज पोखरेल, राजीव ढुङ्गाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी निर्वाचित भएका छन् । साथै ई.मोहन आचार्य, डा. गोपाल दहित र कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । 

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको थियो । जसमा ६४ जना बाहिरिएका छन् । चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको थियो । केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही थियो ।

संस्थापन इतरबाट समूह मिलाउन नसकेर सभापतिका आकांक्षी भएर पनि अन्तिम समयमा केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका निवर्तमान महामन्त्री डा. शशांक कोइराला, सभापतिमै लड्ने अठोटसहित प्रचार गरेर केन्द्रीय सदस्यमै चित्त बुझाउन पुगेका गोपालमान श्रेष्ठको भिडन्त रोचक रह्यो ।

त्यस्तै उपसभापतिको उम्मेदवार हुने निश्चित जस्तै भएर पनि नेतृत्वमा साझा उम्मेदवार हुन्छ भने आफूले उपसभापति छाड्न तयार छु भनेर सदस्यमै उठेका अर्जुन नरसिंह केसी, संस्थापन पक्षमा भागबण्डा मिलाउन नसकेर महामन्त्रीका आकांक्षी भए पनि केन्द्रीय सदस्यको उम्मेदवारमा चित्त बुझाउन पुगेका बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक लगायतको भिडन्त रोचक रह्यो । उनीहरु सम्मानित मतसहित केन्द्रीय सदस्य बने । 

त्यस्तै केन्द्रीय सदस्यमा पहिलो पटक पदार्पण गरेका वौद्धिक क्षेत्रका प्राडा गोविन्दराज पोखरेल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीदेखि तरुण दलका अध्यक्ष जितजंग बस्नेतदेखि नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना लगायतको जित रोमाञ्चक रह्यो । 

केही जित्नुपर्ने भनिएका अनुहार भने छुटेका छन् ।  

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । 

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ